Logo
Logo

गफ गर्नेलाई सुनौँ, काम गर्नेलाई चुनौँ



‘हाम्रालाई होइन, राम्रालाई चुनौँ’ बारम्बार सुनिँदै आएको नारा हो यो । अब उक्त नारा लागू गर्ने बेला आएको छ । अर्थात, राम्रालाई चुन्ने समय आएको छ ।

आगामी पाँच वर्षका लागि आफ्नो गाउँ, नगरका नेतृत्व चुन्ने जिम्मा हाम्रै काँधमा आएको छ । त्यसका लागि यही वैशाख ३० गते मिति तोकिएको छ ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू निर्वाचन केन्द्रित भएका छन् । राजनीतिक दलले उम्मेदवार टुंगो नलगाएपनि गाउँ, टोलमा कमिटी निर्माणमा सक्रिय भएका छन् । नेता-कार्यकर्ता धमाधम गाउँ फर्किरहेका छन् । आ-आफ्नो पार्टीलाई जिताउन विभिन्न अभियान थालेका छन् । सबै मतदाताको मन जित्ने ध्येयमा लागेका छन् ।

स्थानीय तहको प्रमुख निर्वाचित गर्नु भनेको पाँच वर्षका लागि आफ्नो गाउँ-नगर सुम्पिनु हो । त्यसैले सक्षम, योग्य, इमान्दार र कर्मठ व्यक्तिलाई जनप्रतिनिधि बनाउनुपर्छ । सही जनप्रतिनिधि छान्ने अधिकार र कर्तव्य तपाईं हाम्रै हो । मतदान ठूलो सामाजिक उत्तरदायित्वको हो । मतदान गर्दा सबै जिम्मेवार बन्नैपर्छ ।

जनतप्रतिनिधि छान्नु जुत्ता किनेजस्तो पक्कै होइन । जुत्ताले खुट्टा दुखाए भोलि अर्को जुत्ता किन्न पाइन्छ । तर, जनप्रतिनिधि फेर्न मिल्दैन । पाँच वर्षसम्म दुखाइ सहनैपर्छ । दुखाइसँगै त्यसले लगाएको चोटको उपचार र भविष्यमा आइपर्ने समस्याको जिम्मा सबैले लिनुपर्ने हुन्छ । एउटा प्रचलित भनाइ छ- ‘एकपटक काट्नु दशपटक नाप्नु ।’ मतदान गर्न पनि त्यस्तै हो । एकपटक भोट हाल्न दशपटक होइन, हजारपटक सोच्नुपर्छ ।

अब, गफ गर्नेलाई सुन्ने हो र काम गर्नेलाई चुन्ने हो । नेतालाई गाली गरेर मात्र समस्या समाधान हुँदैन, हामी सबै सच्चिनु आवश्यक छ । हाम्रा होइन, राम्रा मान्छे छान्न सकियो भने मात्र समाज र देशको विकास हुन्छ ।

निर्वाचनमा मतदान गर्ने कुरा केवल पाँच वर्षका लागि मात्र होइन । यो आफू र आफ्ना सन्ततिका भविष्यसम्म जोडिएको हुन्छ । भर्खर जन्मेका नाती-नातिनी, जवान छोराछोरी र बुढेसकालका बृद्ध बा-आमासँग जोडिएका हुन्छन् । त्यसैले समाज, देश र जनताको हितका लागि रक्षा गर्न सक्ने कर्मठ, इमान्दार र योग्य उमेदवारलाई भोट हाल्ने साहस जुटाउनुपर्छ ।

यो निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भिडन्त हुने पक्कापक्की जस्तै छ । जो-जो निर्वाचनी मैदानमा उत्रिएपनि जिताउने जिम्मा जनताकै हातमा छ । कसलाई जनप्रतिनिधि बनाउने भनेर फैसला गर्ने अधिकार जनतामै छ । त्यसैले विगतका निर्वाचनमा गल्ती गरेपनि अब चुक्नु हुँदैन । कसैले पैसा, मासु र रक्सीमा आफ्नो अमूल्य मत साट्नु हुँदैन । विगतका गल्ती दोहोर्याउने छुट कसैलाई छैन ।

भन्छन्- ‘खाली खुट्टा नै किन नहोस्, सही बाटो हिड्नुहोस् । पैताला दुख्ला तर मन कहिल्यै दुख्ने छैन ।’ मतदान पनि त्यस्तै हो । कसले जित्छ, कसले हार्छ भन्ने हुन्छ नै । तर, हार नै किन नहोस्, सही मान्छेलाई मतदान गर्नुपर्छ । पछुताउनु पर्दैन ।

राजनीतिक दलका नेताहरूलाई मात्रै दोष थोर्पन मिल्दैन । हामी पनि उत्तिकै दोषी छौँ । भिजन भएका व्यक्तिलाई चुन्न नसक्दा दुःख पाइरहेको छौँ । अब पनि हामीले होस् पुर्याएनौँ भने भोलि फेरि पछुताउने दिन आउन सक्छ । एक भोट इमान्दार र सक्षम व्यक्तिलाई नहाल्ने अनि देश विकास भएन भनेर बुरुकबुरुक उफ्रनुको कुनै तुक रहँदैन ।

विगतमा सक्षम, इमान्दार, योग्य नेतृत्व चयन गर्न नसक्दा भोग्नुपरेको समस्याबारे समीक्षा गर्न जरुरी छ । हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारको अवस्थाबारे निक्र्योल गर्नुपर्छ । बेलैमा ठण्डा दिमागले सोच्नुपर्छ । सही निर्णय गर्न सक्यौँ भने हाम्रो एक भोटले देश विकासमा ठूलो योगदान दिने कुरा विर्सनु हुँदैन ।

एकपटक सबैले पार्टी, जात, धर्म र व्यवसायभन्दा माथि उठेर सोच्नुपर्छ । मेरो पार्टी, तेरो पार्टीको उम्मेदवार भन्नुभन्दा पनि इमान्दार, दक्ष र क्षमता भएको उम्मेदवारलाई छान्नुपर्छ । नेता इमान्दार, दक्ष र कर्तव्यनिष्ठ भए त्यो ठाउँको विकासले कसरी गति लिन्छ हुन्छ भन्ने चीन, सिंगापुर, मलेसिया, दक्षिण कोरियालाई हेरे पुुग्छ ।

भावनामा बगेर, पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर, पार्टीको सिद्धान्तले अर्का दलको उम्मेदवारलाई भोट हाल्न दिँदैन भनेर जस्तोसुकै उम्मेदवारलाई भोट हाल्ने प्रवृत्ति छाड्नुपर्छ । पैसा र शक्तिको आड भएका उम्मेदवार बनाउने सिद्धान्तलाई घाममा सुकाइदिनु पर्छ ।

राजनीति गर्ने भनेको जनताका लागि हो । जुनसुकै सिद्धान्त र पार्टीको झण्डा मुनिका भएपनि सक्षम, इमान्दार, योग्य उम्मेदवारलाई भोट हाल्ने हिम्मत जुटाउनुपर्छ । जनप्रतिनिधि कामै लागेन भनेर नागरिक आक्रोशित भएरमात्र हुँदैन । अब कस्ता उम्मेदवारलाई भोट दिएर जिताउने भन्नेमा विचार पुर्याउनै पर्छ ।

अब, गफ गर्नेलाई सुन्ने हो र काम गर्नेलाई चुन्ने हो । नेतालाई गाली गरेरमात्र समस्या समाधान हुँदैन, हामी सबै सच्चिनु आवश्यक छ । हाम्रा होइन, राम्रा मान्छे छान्न सकियो भने मात्र समाज र देशको विकास हुन्छ ।

अब हामीले भन्न सक्नुपर्छ– ‘आफ्नो गाउँठाउँ आफैं बनाऔं, इमान्दार, दक्ष र कर्तव्यनिष्ठ नेतृत्व छानौँ ।’ जनप्रतिधिनि छनोट गर्दा आफ्नो जिम्मेवार र कर्तव्यलाई विर्सन हुँदैन । भ्रष्ट र बेइमान उम्मेरदवारलाई ‘नो भोट’ भन्न सक्नुपर्छ ।

जिम्मेवार व्यक्ति नै अक्षम, लोभी र पक्षपाती भएमा त्यो नगरपालिका वा गाउँपालिका जनताको विकासको चाहना कदापि पूरा हुँदैन । एक जना सक्षम, इमान्दार र कर्मठ जनप्रतिनिधि हुनु भनेको त्यस ठाउँको आर्थिक तथा सामाजिक विकासमा कोल्टे फेर्नु हो । त्यसकारण एक भोट हाल्नुभन्दा पहिला हजारौँ पटक सोच्नुपर्छ ।

स्थानीय तहदेखि नै सक्षम, योग्य, इमान्दार र कर्मठ नेतृत्व छान्ने अभ्यास गर्याैँ भने मात्रै प्रदेश र केन्द्रमा पनि शिक्षित, कर्मठ र इमान्दार नेतृत्व छान्न सक्छौँ । र, देशलाई समृद्धितिर रुपान्तरण गर्न सक्छौँ । हामी नागरिक सच्चिए समाज आफँै परिवर्तन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्