Logo
Logo

देश साझा हो, प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षसँग मिलेर मुलुक बनाउने सरकारको उत्कृट अभिलाषा रहेको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा राजधानीमा आइतबार आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटनको अवसरमा उनले भने, ‘देश साझा हो, प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ । प्रतिपक्षलाई सरकार नराम्रो लागेको होला, देश विकासमा सरकार र प्रतिपक्षी नभनी सँगै जाऊँ ।’
सरकारले नेपाली जनतालाई गरीबी, अभावको अवस्थाबाट मुक्त गर्न चाहेको उनले बताए । ‘अब हामीले भावी सन्ततिलाई यही गरीबीको सामना गर्ने परिस्थति हस्तान्तरण गर्ने होइन’, प्रधानमन्त्रीले भने, ‘म मेरो कार्यकालभित्र अधिकतम सकारात्मक परिणाम ल्याउँछु, मैले सरकार छाड्दा सकारात्मक परिणाम छोड्छु । परिवर्तन ल्याएर छाड्ने संकल्प गर्छु ।’
सम्मेलनमा श्रम, रोजागरीका क्षेत्रका समस्याको पहिचान र समाधानसमेतको सुझाव प्रस्तुत गर्ने तहमा छलफल हुने प्रधानमन्त्रीको विश्वास थियो ।

नेपालको दुई तिहाइको जनसंख्या अझैपनि परम्परागत कृषिमा अल्झिएको उल्लेख गर्दै उनले पुराना ढाँचाको कृषि उत्पादन प्रणालीले अवसर सिर्जना नगर्ने बताए । प्रधानमन्त्रीले भने, ‘नेपालको कृषि पुरानो ढाँचाको छ, त्यसले अवसर सिर्जना गर्दैन, उत्पादन सानो परिणाममा छ, जग्गा, जमीन साना छन्, उत्पादन ठूलो परिणाममा छैन, त्यसले बेरोजगारी समस्या समाधान गर्न सहयोग गरेको छैन ।’
प्रधानमन्त्रीले बेरोजगारी समस्या हल गर्न कृषिमा अल्झेका मानिसलाई आधुनिकीकरणमा अभ्यस्त गर्न जरुरी बताए । उनले भने, ‘नयाँ श्रमको क्षेत्रमा स्थानान्तरण गर्दै जानुपर्छ । कृषिबाट उद्योग सेवा, व्यापार, पर्यटनका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ ।’

प्रधानमन्त्रीले स्वदेशमा काम गर्ने अवसर नपाएर ठूलो संख्या विदेशिन बाध्य भएको उल्लेख गर्दै आकर्षक रोजगारीका अवसर सिर्जना गर्न नसके युवा विदेशिनेक्रम नरोकिने बताए । प्रधानमन्त्री ओलीले भने, ‘युवालाई स्वदेशकै रोजगारीमा आकर्षित गराउन सम्मानजनक काम, न्यूनतम आवश्यकता पूग्ने पारिश्रमिक उपलब्ध गराउनुपर्छ । रोजगारी भनेको ‘जागिर’मात्र होइन, आफ्ना निम्ति आफैँ श्रम सिर्जना गर्ने वातावरण निर्माण गर्नु पनि हो ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्र रोजगारीको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा रहेको र त्यसलाई औपचारिक गराउनु चुनौतीपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्