Logo
कला

‘मेरो स्वर पालाममा म्याच हुन्छ रे’



‘पालाम’ लिम्बू समुदायको पहिचान हो । कुनै समय मेलापात, हाटबजारदेखि विवाह वा हरेक जमघटमा अनिवार्य गाइने पालाम युट्युबमा सीमित छ । यसैबेला निरन्ता नेम्बाङ ‘पालाम’ गाएरै चर्चामा आएका छन् ।

पछिल्लो समय युट्युबमा पालाम सर्च गर्ने हो भने निरन्ताकै स्वर सुनिन्छ । २०७६ सालमा ‘अन्दङफूङ’ बोलको पालाम गाएपछि उनी चर्चामा आएका हुन् । ‘अन्दङफूङ’ अर्थात बाबरी फूलसँगै सांगीतिक क्षेत्रमा फूलेकी पाँचथर चिलिङदेनकी निरन्ताले छोटो समयमै करिब तीन दर्जन पालाम र नेपाली गीत गाइसकेका छन् । उनै कोकिल स्वरका धनी निरन्तासँग दृष्टिको जम्काभेट :

पालाम सार्है मीठो गाउनुहुन्छ । सानैदेखि गाउनहुन्थ्यो ?
मैले पालाम गाउन थालेको तीन वर्ष मात्र हुँदैछ । २०७६ सालमा ‘अन्दङफूङ’ बोलको पालाम गाएकी थिएँ । त्यो नै मेरो पहिलो रेकर्ड भएको पालम हो ।

गाउँघरमा मेलापात र हाटबजारमा धान नाच्नु हुन्थ्यो ?
गाउँघरमा धान नाचेकी छैन, किनकि हामी जन्मदा धान नाच्ने प्रचलन नै हराइसकेको थियो । त्यसैले लिम्बू समुदायमा जन्मेर पनि धान नाच्न पाइनँ ।

पालाम गाउन कहाँ सिक्नुभयो ?
पालाम प्रचलन हराएपनि अरुले गाएको सुन्ने गर्थे । मेरो आमा बढी पालाम गाउनु हुन्थ्यो । आमा मीठो गाउनुहुन्थ्यो । आमाले गाएको सुनेरै मैले सिकेकी हुँ ।

पालाम रेर्कड गर्नुपर्छ भन्ने सोच कसरी आयो ?
फेसबुक र युट्युबलगायतका सोसल मिडियाको पहुँच बढ्दै जाँदा मनु नेम्बाङलगायतका अग्रजहरुको पालाम सुन्थे । उहाँहरुले गाएको पालाम सुन्दा मलाई पनि रेकर्ड गर्ने सोच आयो । त्यसपछि मैले ‘अन्दङफूङ’ बोलको पालाम गाएँ ।

तपाइँको पहिलो रेकर्डेड पालाम निकै रुचाइयो होइन त ?
मलाई अन्दङफूङले नै चिनाएको हो । अन्दङफूङ पालाम गाएपछि अन्य थुप्रै पालाम गाउन प्रस्ताव आयो र आइरहेको छ ।

अहिलेसम्म कति वटा गीत गाउनुभएको छ ?
बाहिर आइसकेको चाहिँ पालाम २७ वटा हो । ६ वटा जति चाँडै बाहिर आउँदै छ । त्यस्तै, एक दर्जन जति नेपाली लोक तथा आधुनिक गीतमा स्वर दिएकी छु ।

गायनबाट आफ्नो चर्चा भइरहँदा यो क्षेत्रमा ढिलो आएँजस्तो लाग्दैन ?
पहिल्यै नै यो क्षेत्रमा आउने मेरो सोच थियो । तर, कसरी जाने भन्ने भेउ नपाउँदा ढिलो भयो । सोसल मिडियाको क्रेज बढ्दै गएपछि मात्र यो क्षेत्रमा आउने मेरो बाटो खुल्यो । सोसल मिडिया प्रतिभा पस्केने ठाउँ भयो । त्यसैले यो क्षेत्रमा आउन सम्भव भयो ।

पालामबाहेक आधुनिक र पुर्वेली लोकगीत पनि गाउनुहुन्छ । प्राथमिकतामा कुन पर्छ ?
दर्शक तथा श्रोताले मेरो स्वर पालाममै म्याच गर्छ भन्नुहुन्छ । पालाम गाउँदा मेरो स्वर जति मीठो सुनिन्छ, नेपालीमा त्यस्तो सुनिँदैन भन्ने श्रोताको भनाइ छ । तैपनि नेपाली गीत गाउने मेरो रहर हो । अहिलेसम्म ७ वटा गाइसकेकी पनि छु ।

पालाम गाएरै चर्चित बन्नुभयो । यस्तोबेला धान नाचौँ-नाचौँ लाग्दैन ?
परिस्थिति अनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यस्तै परिआएमा धान नाचिन्छ । तर, स्टुडियोमा गाएजस्तो सजिलोचाहिँ हुन्न । किनकि, स्टुडियोमा अरुले शब्द र लय तयार गरिदिएको हुन्छ । साँच्ची धान नाच्दा आफैँले शब्दमा खेल्नुपर्छ । एकपटक साँच्चीकै धाननाच नाचेकी छु । सुटिङका लागि तेह्रथुमको जिरिखिम्ती गएका बेला वास्तविक मै धान नाचेकी छु ।

तपाई पालामको शब्द र लय संकलन पनि गर्नुहुन्छ होइन ?
अन्दङफूङ मेरै लय तथा शब्द संकलन हो । त्यसबाहेक ‘थोक्फेला’, ‘लाम्देङ्बा मिन्जी’ लगायतका पालामका शब्द संकलन गरेकी छु ।

पहिलोपटक काठमाडौं केका लागि आउनुभएको थियो ?
गीतसंगीतकै काम लिएर आएकी थिएँ । त्यो बेला राज आँशु लिम्बूको ‘माया जालैमा परेपछि’ बोलको गीत लिएर आएकी थिएँ । त्यसपछि आफ्नै गीत ‘माया जालमा’ र इक्साहाङ चेम्जोङको ‘वरको हाँगाले’ गाएँ । त्यो भन्दा अगाडि पालाम रेकर्ड गरेकी थिइनँ । त्यसबेलामा नै पालाम रेकर्ड गर्ने सोच आएर ‘अन्दङफूङ’ तयार गरेकी हुँ ।

आफ्नो संस्कृति गाउनुको फाइदा-बेफाइदा के छ ?
आफ्नो सांस्कृतिक गीत गाउँदा बेफाइदा केही पनि छैन । कला, संस्कृति र मौलिकता बोकेको पालाम गाउँदा सबैतिरबाट माया, हौसला र प्रेरणा पाइँदोरहेछ । संस्कृति प्रवद्र्धन र संरक्षण पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्