Logo
साहित्य

याङ्दाङ फोङमा


प्रदिप योङहाङ


नारी दिवस । चोकमा कार्यक्रम थियो । जमात ठूलै थियो । महिला अधिकारकर्मी र ठूलाबडा पालैपालो भाषण गर्दै थिए । नारी अधिकारको कुरा चल्दै थियो ।

उद्घोषीकाले भनिन्– ‘अब मुजिङ्ना खेयङ्नाज्यूलाई मञ्चमा बोलाउन चाहान्छु ।’

मुजिङ्ना खेयङ्ना– साधरण पोसाकमा स्टेज चढिन् । हेर्दा ३०–३५ वर्षीया लाग्ने । फूलहरूको भीडमा ओइलाएको फूल जस्तो शरीर ! स्वगतमा लगाइदिएको फूलमाला हात, घाँटी चाहिँ खाली !

सम्बोधनको क्रम सुरु भयो– ‘सेवारो ! म मुजिङ्ना खेयङ्ना । म त्यो मान्छे हुँ, जसले आफ्नो न्वारान आँफै गरेँ । मेरो कुनै थर छैन् । घर छैन । आरामको जिन्दगी छैन । सबै त्यागे । र, युद्धमा होमिए ।’

देब्रे हातको फूलको माला देखाउँदै भनिन्– ‘यो माला अहिले गलामा लगाउन सक्दिनँ । तर, एकदिन पक्कै लगाउने छु । जुन दिन युद्ध जित्नेछु ।’

भाषण यतिमै सकियो ।

कविता सुनाउन थालिन–

प्रकृतिको तराजुमा
भाले र पोथी बराबर
तर,
भालेहरूले सम्मेलन गरे
इतिहासको आवरण लगाए
बनाए,
पोथीको अस्तित्व कुल्चने
दस्तावेजहरू
दर्शनहरू ।

सुन,
ओ भालेहरू…,
तिम्रै कारण मात्रै
तिमी भाले भएका होइनौं
म मेरै कारण मात्रै,
म दोस्रो मान्छे भएकी होइन ।

थुक्न बन्द गर–
मेरो अस्तित्वमाथि
कुल्चन बन्द गर–
मेरो उपस्थितिमाथि
बरु तयार बन–
सहअस्तित्वको यात्राको लागि
नत्र म पनि थुकिदिन सक्छु
तिम्रो अस्तित्वलाई
कुल्चिन सक्छु,
तिम्रो उपस्थितिलाई ।

ए, भाले सोच त
मेरो थुकले
कति कुरुप देखिएला
तिम्रो अस्तित्वको अनुहार
कति निरीह देखिएला
तिम्रो उपस्थिति
तिम्रो पाइतलाको कुल्चाइले
मेरा पाइतलाको कुल्चाइले
कति कुरुप देखिएला
हाम्रो उपस्थिति ।
धन्यवाद !

घन्कियो ताली । बटुल्यो वा–वाही ! सुन्नेले भने– आहा ! क्या दामी । तर, मुजिङ्ना खेयङ्नालाई ताली र वा–वाहीले प्रभाव पारेन ।
०००

फूङ्मतीको घरबाट ५–६ घण्टा हिडेपछि तमोर र मैया खोलाको दोभान पुगिन्छ । त्यहाँ पुसे मेला लाग्छ । कुरा २०४१ सालको हो । थुन्चेमा मर्चा बोकेर फूङ्मती माइती हाङसँग मेला भर्न दोभान झरिन् । त्यहीँ मेलामा हो फूङ्मतीले हर्कबहादुर (हर्के)लाई पहिलोपटक देखेको । पुतलीजस्ती फूङ्मतीलाई देखेर हर्के पनि मख्खै ।

फूङ्मती र हर्केबीच चिनजान भयो । ढोगभेट गरे । साइनो लागेन । त्यसपछि मज्जाले धान नाचे ।

बिरौँदै खेती बेसी भयो
यसैमा ठाउँमा भेटै भयो
नास्पाती फूल्यो चाइतैमा
भेटैमा भयो साइतैमा
औँलिसो काटी अम्झिन्छु
हजुरको माया सम्झिन्छु
पुतली बस्यो पातमाथि
के लाउनु माया हातमाथि…

धान नाचेर रातै कटाए । बिहान घर फर्कनु थियो । छुट्नु थियो । तर, मन मानेको थिएन ।

सम्झना आए सम्झिनू
एकतास फोटो लौ लिनू
अर्को है वर्ष भेटौँला
यही फोटो हेरी पर्खिनू !

मन साटासाट गरिसकेका फूङ्मती र हेर्केले फोटो साटासाट गरे । र, अर्को साल भेट्ने बाचा गर्दै छुटिए ।
०००

वन–पाखा, घाँस–दाउरा गर्दागर्दै बित्यो वर्ष । ४२ सालको पुसे मेला पनि अयो । पोल्टोमा हर्केको फोटो बेकेर दोभान झरिन् फूङ्मती । हर्के पनि फूङ्मतीको फोटो स्टाकोटको खोजीमा बेकेर आए ।

वर्ष पछि भेट भयो हितैको माया । पहिलो भेटमै मन साटेका उनीहरूले यसपटक जोवन साट्ने निधो गरे । मेलाबाटै फूङ्मतीले फाच्चा हानिन् । आठ घण्टा हिडेपछि हर्केको घर पुगे ।

हर्केको घर पस्नुअघि बुवाले फूङ्मतीलाई सोधे– राजी कि बिराजी ? फूङ्मती अकमक्क भइन् । हर्केका बुवाले फेरि सोधे– राजी कि बिराजी ?

सानो स्वरमा फूङ्मती बोलिन्– राजी ।

हर्के खुसीले गदगद । सोधिहाले– आम्बा, कस्तो लाग्यो पाङ्ली ? बुवाले भने– निको छ ।
यदि, फूङ्मतीले ‘बिराजी’ भनेको भए घर फर्काइन्थ्यो । र, हर्केलाई तुतु तुम्याहाङले तोके बमोजिम कार्वाही हुन्थ्यो । तर, फूङ्मतीले ‘राजी’ भनेपछि गलत भयो ।

फूङ्मतीले फाच्चा हानेको पनि १० महिना भएछ । जाडो सुरु हुँदै थियो । जेठो भालेको डाकमै हर्के कराए– आमै ! आमै ! आमा बोलिन्– के भयो ? बिहान–बिहानै किन कराको ? हर्केले भने– पाङ्लीलाई बेथा लागेछ ।

आमाले हर्केलाई काकी र भाउजु बोलाउन पठाए । केही समयपछि सुनियो– च्याँ च्याँ । भित्रबाट ठूलो मान्छेको पनि आवाज आयो– हर्केको छोरी भएछ ।

तीन दिन पछि छोरीको ‘याङ्दाङ फोङमा’मा गरे । हर्के र फूङ्मतीले आफन्त, इष्टमित्र र छरछिमेकसँग खुसी साटे । मूलढोका तीनपटक भित्र–बाहिर गराएर ‘याङ्दाङ फोङमा’ सम्पन्न गरियो । छोरीको नाम ‘हिम्फूङ्’ राखियो ।
०००

पढेलेखेका हर्केले गाउँमा छोरीको भविष्य देखेनन् । हिम्फूङ् दुई वर्ष नपुग्दै उनीहरू तराई झरे ।

हर्केले स्कुलमा राम्रै जागिर पाए । पछि हर्के त्यहीँ स्कुलको ‘हेडसर’ बने । हिम्फूङ पछि हर्केका दुई सन्तान थपिए । दुई छोरा र छोरी हिम्फूङलाई उनले राम्रै शिक्षा दिए । सबैलाई एउटै स्कुलमा पढाए ।

पढाउँदै सामाजिक कार्य पनि गर्थे हर्के । बुबाकै बाटोमा लागिन् हिम्फूङ । बालक्लबमा सक्रिय हुन थालिन् । तालिमहरू लिइन् । त्यहीबाट हिम्फूङले थाहा पाइन्– छाउपडी, देउकी र दाइजो प्रथा ।

हर्के र फूङ्मतीले पहाड छाडेको पनि २० वर्ष बितेछ । २० वर्षको मिहेनतमा हर्केले आठ कोठाको दुई तले पक्की घर ठड्याए । हिम्फूङ् पनि ठूली भइन् ।

स्कुले जीवनमै सुनेको छाउपडी, देउकी दाइजो र सति प्रथाले बारम्बार सताइहरन्थ्यो । उनको दिमाग रन्थनिन्थ्यो । मस्तिष्कमा प्रश्नहरूको ज्वारभाटा उठ्थ्यो ।

हिम्फूङ्ले एकदिन बुबालाई सोधिन्– बुबा के मेरो ताक् बोजु पनि सति जानुभएको थियो ? हर्केले सहज रुपमा उत्तर दिए– यो चलन हाम्रो लिम्बू समुदायमा थिएन ।

हिम्फूङ्को मन अलिकति शान्त भयो । उनीले आफैलाई भाग्यमानी ठानिन् । हिम्फूङ्ले फेरि सोधिन्– बाल विवाह चाहिँ नि ?

हर्के एकछिन गम खाए । उनले छोरीलाई ढाट्न सकेनन् । उनले भने– हुन्थ्यो रे ! तिम्रो सुबोजुको पनि १२ वर्षमा भएको रे !

बुवाको कुरा सुनेपछि हिम्फूङको मन खिन्न भयो । आफू २२ वर्ष पुग्दा पनि अविवाहित नै रहेको कुरालाई उनले आफूलाई दोस्रोपटक भाग्मानी ठानिन् ।
०००

एकदिन साँझ चिया पिउँदै हिम्फूङ्ले फूङ्मतीलाई सोधिन्– आमा तपार्इंहरूको बिहे कसरी भएको थियो ?

फूङ्मती अचम्मित भइन् ।
उल्टै हिम्फूङलाई प्रश्न गरिन्– तँलाई किन चाहियो ?
हिम्फूङले ठूस्किँदै भनिन्– आफ्नै बुवाआमाको बिहे पनि थाहा पाउनु नहुने होर ?

छोरीको चित्ता दुखाइसहितको प्रश्नले फूङ्मती भन्न बाध्य भइन् । पुसे मेलाको कुरा सबै सुनाइन् । फूङ्मतीको कुराले आमा पनि आफूभन्दा कम भाग्मानी नभएको ठानिन् । राजी÷बिराजी सोधेर बिहे गर्ने अन्तिम निर्णय आमालाई दिइएको कुराले हिम्फूङलाई औधि खुसी दियो ।

आफ्नो बुवा–आमाको व्यवहारले त हिम्फूङमा खुसी नै थिइन् । भाइहरू छोरा र आफू छोरी भएको कहिल्यै महशुस गरिनन् । बुवा–आमाको प्रेम, सती प्रथाको चलन नभएको र थेबाले आमालाई अन्तिम निर्णय गर्न दिएको कुराले अझ उनलाई खुसी बनायो । ०००

निकै अध्यायनशील हिम्फूङको हातमा एकदिन वंशावलीको पुस्तक पर्यो । पढ्न थालिन् । ऐतिहासिक पृष्ठभूमिदेखि पुस्तक छाप्न सहयोग गर्ने व्यक्ति सबै पढिन् । वंशावलीमा छोरा पछिको छोराहरूको पुस्ता कति हो कति !

अर्को शनिबार उनको हातमा अर्को वंशावली पर्यो । त्यो वंशावली आमाको रहेछ । आमा कति औं वंशको सन्तान हुन् भन्ने जान्न मन लाग्यो । र, पढ्न थालिन् । तर, आमाको नाम भेटाइनन् !

मलिन अनुहारमा बुवालाई सोधि– वंशावलीमा छोरीको नाम हुँदैन हो ? हर्केले भने– छोरीको त वंश हुँदैन ।

बुवाको उत्तरले हिम्फूङको चित्त बुझेन । फेरि सोधिन्– अनि वंशावलीमा छोरी मान्छेको नाम चाहिँ किन नराखिएको नि, बुवा ?

हर्के एकछिन सोचमग्न भए । हिम्फूङले सोधिन्– किन नबोल्नु भएको बुवा ? हर्केले निन्याउँरो मुख लगाउँदै भने– छोरी त दुई दिनको पाहुन भन्छन् । बिहे गरेपछि मात्रै घर र थर हुन्छ रे ! त्यसैले वंश नभएको होला !

आमाको कुराले हरेकपटक भाग्मानी ठानेकी हिम्फूङलाई बुवाको कुराले खिन्न बनायो । बुबाको कुराले हिम्फूङमा जिज्ञास थपियो । छोरीको वंश किन भएन ? भन्ने कुराले कौतुहलता जगायो ।

हिम्फूङले अर्को वंशावली खोजे । आफ्नै बुवाको नेतृत्वमा संकलन र प्रकाशन भएको वंशावली फेला पारे ।

आफ्नै वंशको वंशावली देखेर हिम्फूङ खुसी भइन् । उक्त किताबमा आफैलाई खोज्न थालिन् । बाजे, तुम्बा, बुवा, काका सबैलाई भेटे । आफ्ना भइहरू समेत भेटे । तर, आफैलाई भेटिनन् ।

त्यसपछि बुवालाई सोधिन्– तपाईंकै नेतृत्वमा संकलन र प्रकाशन भएको यो वंशावलीमा म किन छैन, बुवा ?

हर्केलाई जवाफ नदिई धर थिएन । ढाट्न पनि डर थियो– ढाटेको पछि थाहा पाइन् भने अर्को झगडा निस्कन्छ । सिँधै भने– हाम्रो सयङले वंशावलीमा छोरीलाई नसमेट्ने भनेको थियो ।

हिम्फूङ पड्किहालिन्– बुवा, त्यस्तो पनि कहीँ हुन्छ ? यो कस्तो वंशावली ? भाइहरू वंशावलीमा हुँदा म चाहिँ किन अटाइनँ ? के म चाहिँ तपाईंको वंश होइन ?

हिम्फूङलाई सम्झाउँदै हर्केले भने– हाम्रो देशको चलन नै यस्तै छ छोरी । छोरीलाई कसैले पनि वंश ठान्दैन । तिमी मेरै वंश भएपनि वंशावलीमा राख्न मिलेन, ठूलाबडाले राख्न मिल्दैन भने । चलेको चलन मान्नै पर्यो ।

त्यति भनेपछि हर्के बाहिर काम छ भनेर घरबाट निस्के…

हिम्फूङ भने घण्टौसम्म सोचिरहिन् । र, निकर्ष निकालिन्– म छोरी भएकै कारण मेरो नाम वंशावलीमा अटाएन । मेरो पनि वंश नहुने भयो । उनले आफूलाई दोस्रो वर्गको नागरिकमा राखिन् ।

बुवाको कुराले हिम्फूङलाई कसैसँग पनि बोल्न मन लागेन । जहिल्यै उनलाई आफू दोस्रो दर्जाको नागरिक भएको कुराले सताइरह्यो ।

बुवासँग नबोलेको पनि हप्तादिन भएछ । उनलाई ‘मेरो अस्तित्व खै ?’ भन्ने प्रश्नले हिर्काइरह्यो । अरुले बोलाउँदा पनि अर्को लाग्थ्यो ।

यसरी हुँदैन भनेर १०औँ दिनपछि बुवासँग हिम्फूङले कुरा गरिन् । बिहान चिया पिउँदै बुवालाई भनिन्– म आफ्नो ‘याङ्दाङ फोङमा’ आफै गर्दैछु ।

– तिमी यो के भन्दै छौँ ? बुबाको प्रश्नमा हिम्फूङले जवाफ दिइनन् ।

हिम्फूङले थपिन्– घर सजाउका लागि मात्रै होइन म । म त सृष्टिको पहिलो रुप हुँ । त्यसैले आजदेखि मलाई सबैले ‘मुजिङ्ना खेयङ्ना’ भन्नु ।

हिम्फूङको कुराले सबै तीन छक परे । कसैको बक्के फुटेन । हर्केको मुखभन्दा हात छिटो चल्यो । सधैँ आशीर्वाद दिने हातले थप्पड दियो ।

‘मुजिङ्ना खेयङ्ना अब युद्धमा होमिइन्’ भनेर हिम्फूङ घरबाट हिडिन् । आमा–बुबालाई यति मात्रै भनिन्– युद्ध जितेको दिन घर फर्कनेछु ।

मुजिङ्ना खेयङ्ना अझै आफ्नो युद्ध मैदानमै छिन् । उनी युद्धमा होमिएको पनि एक दशक बढी भयो । तर अझै आफ्नो आस्तित्वलाई कुल्चिने विचारमाथि जित निकाल्न सकेकी छैनन् । युद्ध जितेर फूलको माला लगाएर घर फर्कने उनको सपना अधुरै छ । तर, उनलाई युद्ध जित्ने विश्वास छ । र, त्यो दिन टाढा छैन ।

०००

रतुवामाई नगरपालिका–७, मोरङ

[email protected]

प्रतिक्रिया दिनुहोस्