Logo
Logo

पार्टी पद्धतिसम्मत ढंगले नचल्नु अहिलेको समस्या हो : झलनाथ खनाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

पार्टी एकताका बाँकी काम तत्काल टुंग्याउने भन्न थालिएको धेरै भयो । कार्यकर्ताहरू एकता टुंगियो भन्ने सुखद समाचार सुन्न आतुर छन् । तर, एकताका बाँकी काम किन टुंगिन सकेको छैन ?
तपाईंहरु सबैलाई थाहा नै छ, हाम्रो पार्टीका शीर्षस्थ कमिटीका बैठक नियमित रूपले बस्न सकेका छैनन् । केन्द्रीय कमिटीको बैठक त एकपटक पनि बस्न सकेको छैन । करिब ६ महिनाअघि स्थायी कमिटी एकपटक बल्लबल्ल बसेको थियो । त्यसपछि बस्न सकेको छैन । सचिवालयका बैठकहरू पनि नियमित रूपले हुन सकेका छैनन् । बैठकहरू नभएसम्म पार्टी एकीकरणका मुद्दाहरूमा राम्ररी छलफल हुन सक्दैन । छलफल राम्ररी नभएपछि निष्कर्षहरू निस्कन सक्ने कुरै भएन र समस्या समाधान हुने कुरा भएन । अहिले देशभरका कार्यकर्ताहरूमा एकीकरणको काम चाँडोभन्दा चाँडो सम्पन्न गरियोस् भन्ने प्रवल भावना उठिरहेको छ । त्यसलाई समयमा समाधान गर्न नसक्नुको एउटै कारण हो, समयमा बैठक बस्न नसक्नु र बैठकबाट निर्णय गर्न नसक्नु ।

अध्यक्षले बैठक नबोलाएपछि बैठक हुने कुरा भएन । बैठक नबोलाएपछि कुनै विषयवस्तुमा छलफल हुने कुरा पनि भएन ।

 

झलनाथ खनाल. पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रधानमन्त्रीको युरोप भ्रमणअघि बसेको सचिवालय बैठकपछि नेताहरूले नै भन्नुभयो, ‘प्रधानमन्त्रीको युरोप भ्रमणबाट फर्किएपछि तत्कालै एकताका काम सम्पन्न गरिनेछ ।’ उहाँ फर्किएपछि बैठक त बस्यो । तर, राजनीतिक प्रतिवेदन पुनर्लेखनको नयाँ विषय उठान भयो । अब नेकपा एकताका बाँकी काम छाडेर नयाँ बहसतिर लागिएको हो ?
पछिल्लो पटक असार ७ गते सचिवालयको बैठक बस्यो । तर, त्यो बैठकमा कुनै एजेन्डा थिएन । एजेन्डाबिनाको बैठक करिब साढे दुई घण्टा बस्यो । त्यसमा अरु विषयमा भन्दा पनि प्रधानमन्त्रीको युरोप भ्रमणका कथाहरू सुन्यौँ । ती कथा सुन्दासुन्दै नै झन्डै दुईघण्टा पार भइहाल्यो । त्यसपछि करिब आधा घण्टाजति पार्टीलाई चाँडोभन्दा चाँडो एकीकरण गर्नुप¥यो, पार्टीलाई व्यवस्थित बनाएर लैजानुप¥यो, पार्टीलाई नियमबद्ध, पद्धतिसम्मत ढंगले अगाढि बढाउनुप¥यो भनेर हामीले कुरा राख्यौँ । पार्टी एकताको दस्तावेजलाई चाँडोभन्दा चाँडो प्रकाशन गर्नुपर्छ भन्ने केही कुराकानी पनि हामीले ग¥यौँ । यी चाँडो गरिन्छन् भन्ने कुराहरू भयो । तर, त्यहाँभन्दा अगाडि कुरा अगाडि बढ्न सकेको छैन ।

झलनाथ खनाल. पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

अहिलेसम्म पार्टी एकीकरणको दस्तावेजसम्म प्रकाशन हुन सकिरहेको छैन । यो दुर्भाग्यपूर्ण छ । यतिबेलाको सबैभन्दा प्राथमिक काम भनेको पार्टी दस्तावेजको प्रकाशन हो । पार्टी दस्तावेजको प्रकाशन नभएसम्म सिंगो पार्टी अन्धकारमा बस्छ, अँध्यारोमा बस्छ ।

हामीले पार्टी एकता गर्दा जे बोलेका छौँ, त्यो पूरा गर्नैपर्छ । पार्टी घोषणाको दिन नै दुई वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । अहिले पार्टीका कार्यदिशा के हुन् ? नीति के हुन् ? सिद्धान्त के हो ? लक्ष्य के हो ? कार्यक्रम के हुन् ? अहिले सिंगो पंक्ति अन्योलमा छ । अहिले पार्टीले सरकार सञ्चालन गरिरहेको छैन । सरकार आफैँ सञ्चालित भइरहेको छ । कसरी सञ्चालन भइरहेको छ, त्यो सरकार आफैँ जान्दछ ।

एकीकरण गरिरहँदा यो एकतालाई सम्पन्न गर्न जुन चुनौतिहरू हाम्रासामु छन्, ती चुनौति पूरा गर्न के के गर्नुपर्छ भन्नेबारे राम्रोसँग सोचिएन । एकताको घोषणा गरेको विन्दुदेखि यहाँसम्म आउँदा हामीले गर्नुपर्ने काम के थिए ? ती काम हामीले गर्न सक्यौँ कि सकेनौँ ?

कुनै पनि व्यक्तिले म एक्लै यो पूरा गर्छु भन्ने ठान्छ भने त्यो सम्भव हुँदैन । अझ समाजवादतर्फ जाने यात्रा त एक्लै झनै सम्भवै हुँदैन । समाजवादको यात्रा भनेको नै सामूहिक यात्रा हो । सामूहिक यात्रामा कसैले दम्भ देखाउन थाल्यो, घमण्ड देखाउन थाल्यो भने त्यसबाट अग्रगति प्राप्त हुन सक्दैन ।

सचिवालयको पछिल्लो बैठक बसेको पनि दुई साता बित्यो । तर, कुनै प्रगति देखिएको छैन । यसको अर्थ पार्टीका दुई अध्यक्ष नै यो विषय चाँडो टुंग्याउन चाहिरहेका छैनन भन्ने हो कि अरु केही जटिलता देख्नुहुन्छ ?
म कसैलाई आरोप लगाउन चाहन्नँ । तर, कमिटीका बैठक बसिरहेका छैनन् । कमिटीका बैठक बोलाउने भनेको नै अध्यक्षले हो । अध्यक्षले बैठक नबोलाएपछि बैठक हुने कुरा भएन । बैठक नबोलाएपछि कुनै विषयवस्तुमा छलफल हुने कुरा पनि भएन । त्यसैले सबैभन्दा पहिले चाँडोभन्दा चाँडो बैठक बोलाउनुप¥यो । नियमित रूपमा बैठक बोलाउने गर्नुप¥यो । बैठक नियमित हुन नसक्नुको कारणले नै धेरै समस्या बल्झिएका हुन् ।

नेतृत्वको कार्यशैलीप्रति कटाक्ष गर्दै केही महिनाअघि सचिवालयका प्रभावशाली नेताहरू यहाँ, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठक छाडेर निस्कनुभएको थियो । त्यसपछि केही समयसम्म नियमित बैठक पनि भए । छलफलहरू पनि भए । अहिले फेरि त्यस्तै समस्या देखियो । भनेपछि दबाबको फेरि आवश्यकता परेको देखियो भन्ने लाग्दैन ?
अब हामीसँग जे यथार्थ छ, त्यो यथार्थको कुरा गर्ने हो भने हाम्रा बैठकहरू नियमित रूपमा हुन नसक्नुको कारणले नै थुप्रै विषयवस्तुमा छलफल हुन सकिरहेको छैन र, निर्णय हुन सकिरहेको छैन । अहिले सिंगो पार्टी एकताको पक्षमा छ । एकता चाहिरहेको छ । चाँडोभन्दा चाँडो एकीकरण टुंगियोस् भन्ने चाहिरहेको छ । पार्टीलाई नियमित रूपले सञ्चालन गरियोस् भन्ने चाहिरहेको छ । पार्टी पद्धतिसम्मत ढंगले सञ्चालित होस् भन्ने चाहिरहेको छ । तर, आम कार्यकर्ताले जेसुकेै चाहे पनि अहिलेसम्म पार्टी एकीकरणको दस्तावेजसम्म प्रकाशन हुन सकिरहेको छैन । यो दुर्भाग्यपूर्ण छ ।

करिब ६ महिनाअघि बसेको स्थायी कमिटी बैठकले त्यो दस्तावेज तत्काल प्रकाशन गर्ने निर्णय गरेको थियो होइन ?
पार्टीले चाँडोभन्दा चाँडो ती दस्तावेजहरू प्रकाशित गरोस् भन्ने चाहेकै थियो । स्थायी कमिटीले पनि गरेको थियो । सचिवालयले पनि गरेको थियो । सचिवालयले समग्र रूपमा छलफल गरेरै दुईजना अध्यक्षलाई त्यो प्रकाशन गर्ने जिम्मेवारी लगाएको हो । त्यो जिम्मा लगाएको लगायै भएको छ । दुईवटा अध्यक्षले अहिलेसम्म त्यो पढिसक्नु भएन कि, गोडमेल गर्न सक्नु भएन कि ? जे सुकै कारणले भए पनि त्यो अहिलेसम्म प्रकाशित हुन सकेको छैन ।

कम्युनिष्ट पार्टीले नेतृत्व गर्न सकेन भने सरकारले जतिसुकै राम्रो काम गर्न खोजे पनि त्यसले जनता र राष्ट्रलाई समाजवादतर्फ लैजान सक्दैन । कम्युनिष्ट पार्टीका ती प्रणालीलाई हामीले अपनाउन सकेनौँ भने कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्दैन । अहिले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो भनेर सहमति गरिसकेका छौँ । यो सहमतिबाट कोही पनि तलमाथि जान सक्दैन ।

 

 

अहिले एकीकरणको प्रक्रियाले लामो समय लिँदा कार्यकर्तामा एकखालको नैराश्यता पनि उत्पन्न भइरहेको छ । अझ त्यो बढ्दै गएको देखिन्छ । तर, सिंगो पार्टी बन्धक बन्दै गएको छ । यहाँ लगायत सचिवालयमा रहेका प्रमुख नेताहरूको कम्युनिष्ट आन्दोलनमा ठूलो भूमिका छ । यहाँ स्वयम् पनि लामो समय पार्टीको नेतृत्वमा रहनुभयो । त्यो रूपमा हेर्दा पार्टीलाई समयानुकुल अगाडि बढाउन मूल नेतृत्वमाथि दबाब पो कमि भयो कि भन्ने महसुस यहाँहरूलाई भएको छैन ?
हामीले जे गर्नुपर्ने हो, त्यो गरिरहेकै छौँ । दबाब त तपाईंहरूले दिने कुरा हो । जस्तो, तपाईं मेरो अन्तर्वार्ता लिइरहनुभएको छ । विभिन्न समाचार प्रकाशन गरिरहनुभएको छ । अन्य विभिन्न पत्रपत्रिकाहरू, सञ्चारमाध्यमहरू बोलिरहेका छन्, लेखिरहेका छन् । देश, समाजको अवस्थाले धेरै चिजहरूको दबाब दिइरहेको छ । यी सबै दबाब नै हुन् । दबाब अझै दिइरहँदा पनि बैठकहरू अझै हुन सकिरहेको छैन । यो आफैँमा विडम्बना बनिरहेको छ । दुर्भाग्य बनेको छ । हामी अब के कदम चाल्ने भन्नेबारे सोचिरहेका छौँ, छलफल गरिरहेका छौँ । कसो गर्दा प्रभावकारिता उत्पन्न हुन सक्छ, नियमित बैठकहरू हुन सक्छन् भने सोच्दैछौँ ।

गत जेठ ३ गते पार्टी गठनको पहिलो वर्ष पूरा भएको दिन अध्यक्षद्वयले एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने घोषणा गर्नुभयो । त्यस्तो घोषणा भएको डेढ महिना पूरा भयो, तर त्यसअनुसार गर्नुपर्ने काम भने जस्ताको तस्तै छन् । यस्तोमा के तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना कति छ, भएन भने के हुन्छ ?
हामीले पार्टी एकता गर्दा जे बोलेका छौँ, त्यो पूरा गर्नैपर्छ । पार्टी घोषणाको दिन नै दुई वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । घोषित मितिमा त्यो पूरा गर्नैपर्दछ । एक वर्ष हामीले पूरा गरिसक्यौँ । हामीले राम्रोसँग तयारीहरू गर्न लाग्यौँ भने एकताका प्रक्रियाहरू टुंग्याउन धेरै समय लाग्दैन । स्थानीय निकायका महाधिवेशनहरू गर्दै गर्दै हामीले अर्को वर्षभित्रमा महाधिवेशन गर्न नसकिने जस्तो मलाई लाग्दैन । राम्रो तयारीका साथमा पार्टी शक्ति जे छ, त्यो शक्ति पूरा परिचालित भएरअगाडि बढ्ने हो भने गर्न नसकिने मलाई लाग्दैन । तर, त्यसका लागि बैठकहरू नियमित रूपमा गर्नुपर्छ ।

बैठक नियमित भएन भन्ने असन्तुष्टि धेरे नेतामा देखिन्छ । केन्द्रीय कमिटीको एकपटक पनि बैठक नबसेकोमा थुप्रै केन्द्रीय सदस्यहरूले सार्वजनिक रूपमै नेतृत्वको आलोचना गर्दै आउनुभएको छ । कतिपय स्थायी समिति सदस्यहरूको भनाइ पनि त्यस्तै सुनिन्छ । तर, त्यो संगठित देखिँदैन । किन ?
पार्टी विचारले बन्छ । हामीले एकता गरिसकेपछि जुन दस्तावेज निर्माण ग¥यौँ, त्यो नै प्रकाशित भएको छैन । अहिले पार्टीका कार्यदिशा के हुन् ? नीति के हुन् ? सिद्धान्त के हो ? लक्ष्य के हो ? कार्यक्रम के हुन् ? अहिले सिंगो पंक्ति अन्योलमा छ । हिजो नेकपा एमालेले आफ्नो धारणा बनाएर आयो । नेकपा माओवादी केन्द्रले आफ्नो धारणा बनाएर आयो । त्यो धारणामार्फत् प्रशिक्षित भएका कार्यकर्ताहरू अहिले पनि जीवित छन्, क्रियाशील छन् । र, त्यो कारणले पार्टी जीवित छ । तर, जबसम्म पार्टीका कार्यदिशा, नीति र सिद्धान्त सुस्पष्ट हुँदैनन्, तिनीहरू व्यवस्थित रूपले अगाडि आउँदैनन्, तबसम्म पार्टीमा गतिशीलता कायम हुन सक्दैन । त्यसकारणले अहिलेको सबभन्दा पहिलो आवश्यकता भनेको पार्टीका नीति, कार्यदिशा, सिद्धान्त स्पष्ट पार्ने हो र त्यसका लागि पार्टी एकीकरणको दस्तावेजलाई तुरुन्तभन्दा तुरुन्त प्रकाशित गर्ने हो ।

यो त पार्टीको अलमलको कुरा भयो, यस्तै अलमल सरकारमा पनि देखिन्छ । नेकपाको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार छ । तर, सरकारको अलोकप्रियता बढ्दो छ, आलोचना बढ्दो छ । यहाँहरूलाई त्यसतो महसुस छ कि छैन ?
अहिले पार्टीले सरकार सञ्चालन गरिरहेको छैन । सरकार आफैँ सञ्चालित भइरहेको छ । कसरी सञ्चालन भइरहेको छ, त्यो सरकार आफैँ जान्दछ । तर, पार्टीले सरकार सञ्चालन गर्न सकेको छैन । किनभने पार्टी सुसंगठित रूपमा एकीकृत हुनै सकिरहेको छैन । जबसम्म पार्टीले नेतृत्व गर्न सक्दैन, मार्गदर्शन गर्न सक्दैन, सञ्चालन गर्न सक्दैन, तबसम्म त्यो सरकार समाजवादको लक्ष्यतर्फ अगाडि बढ्न सक्दैन । र, अहिलेको अवस्थामा हामी कता गइरहेका छौँ, त्यो नै आफैँमा प्रश्न छ । हामीले वास्तवमा २०६३÷०६३ को जनक्रान्तिपछि यो देशमा जनवादी क्रान्ति सम्पन्न ग¥यौँ । अब हामी समाजवादको लक्ष्यतर्फ अगाडि बढ्नुपर्छ । ऐतिहासिक मान्यता यो हो । ऐतिहासिक रूपले नेपाल राष्ट्र र नेपाली जनता यो नयाँ युगमा प्रवेश गरेको छ । समाजवादको लक्ष्य बनाएर अगाडि बढ्ने युगमा हामी प्रवेश गरेका छौँ । त्यो युगतर्फ हामीले अगाडि बढ्नुपर्ने हुन्छ । त्यो युगको नेतृत्वकारी शक्ति भनेको कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टी एकीकृत पनि भएन, संगठित पनि भएन, क्रियाशील पनि भएन, सुदृढ पनि भएन, सवल पनि भएन भने हामी वास्तवमा समाजवादको लक्ष्यतर्फ पुग्न सक्दैनौँ ।

यहाँले यसो भनिरहँदा सरकार सञ्चालन पार्टीको निर्देशनभन्दा बाहिर भइरहेको छ भनेर हामी कसरी कल्पना गरौँ, जबकि सरकार भनेको पार्टीकै नीति, कार्यक्रम कार्यान्वयन गर्ने एउटा साधन मात्र हो । यहाँ पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ । के सरकार मनलाग्दी चलेको छ ?
म ती अरु कुराका बारेमा केही टिप्पणी गर्न चाहन्नँ । सरकार कसरी सञ्चालन भइरहेको छ भनेर पनि मैले अहिले बताउन जरुरी ठान्दिनँ । कतिपय कुरा मैले पार्टीको कमिटीमा व्यवस्थित रूपले छलफल गर्नुपर्ने हुन्छ । तर, के चैँ कुरा सही हो भने कम्युनिष्ट पार्टीले नेतृत्व गर्न सकेन भने सरकारले जतिसुकै राम्रो काम गर्न खोजे पनि त्यसले जनता र राष्ट्रलाई समाजवादतर्फ लैजान सक्दैन ।

ऐतिहासिक रूपमा दुईवटा कम्युनिष्ट पार्टीबीच एकता भयो । जनताले ठूलो उत्साहका साथ निर्वाचनमा यथेष्ठ समर्थन दिए । तर, डेढवर्षमै सरकार लर्खराउन पुग्यो । समाजवादको लक्ष्यबाट विचलित नहुन अब के गर्नुपर्ला ?
हाम्रो देशमा विगत ७० वर्षदेखि नेपाली जनताले जुन सपना देखिरहेका थिए कि हामी वास्तवमा मुलुकको राष्ट्रियतालाई पनि जोगाउँछौँ । लोकतन्त्रलाई पनि सम्बद्र्धन गर्छौँ । हामी सामाजिक आर्थिक विकासको गतिलाई तीव्र बनाउँछौँ । हामी हाम्रो देशबाट सुशासन दिन्छौँ । हाम्रो देशको संस्कृतिको विकास गर्छौं । अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि व्यवस्थित बनाएर अगाडि बनाउँछौँ भन्ने जुन सपना थियो, त्यो पूरा हुन सक्ने एउटा अत्यन्त राम्रो ऐतिहासिक वातावरण बन्यो । खासगरी ०६२÷०६३ को संविधान, त्यसपछि हामीले १० वर्ष लगाएर बनाएको लोकतान्त्रिक संविधानले पनि जुनढंगको मार्गदर्शन गरेको छ, त्यो सबैका आधारमा देश एउटा ऐतिहासिक रूपले नयाँ उचाइमा आइपुग्यो । हाम्रासामु विराट सम्भावनाहरू प्रकट भए । यी विराट सम्भावनाहरूलाई बाहन गर्नका निम्ती, ती सम्भावनाहरूलाई क्यास गरेर अगाडि बढाउनका निम्ती एउटा सवल कम्युनिष्ट पार्टीको, एउटा एकताबद्ध कम्युनिष्ट पार्टीको, एउटा गतिशील कम्युनिष्ट पार्टीको, एउटा सुदृढ कम्युनिष्ट पार्टीको आवश्यकता पर्छ । हामी त्यो पार्टी निर्माण गर्ने प्रक्रियामा छौँ । हामीले एकता त ग¥यौँ, यो ठूलो ऐतिहासिक घटना हो । नेपालको कम्युनिष्ट आन्दोलनमा दूरगामी महत्वको घटना हो । तर, एकीकरणको कुरालाई पूरा गर्न सकिरहेका छैनौँ । एकीकरण गरिरहँदा यो एकतालाई सम्पन्न गर्न जुन चुनौतिहरू हाम्रासामु छन्, ती चुनौति पूरा गर्न के के गर्नुपर्छ भन्नेबारे राम्रोसँग सोचिएन । त्यो नसोचिएकाले अहिले पनि गृहकार्य नगरेको देखिन्छ । तर, हामीले एकताको घोषणा गरिसकेका छौँ । यो एकतालाई पूरा गर्नका लागि हरहिसावले हामी दृढ भएर अगाडि बढ्नुको कुनै विकल्प छैन ।

यसो भनिरहँदा हिजो पार्टी एकताको क्रममा दुई पार्टीका अध्यक्षलाई मुख्यजिम्मेवारी दिएर गल्ती गरिएछ कि, सामूहिक नेतृत्वको विधि छोड्दा अहिले अप्ठेरो अवस्था आयो भन्ने लाग्दैन ?
यस विषयमा हामीले बसेर समीक्षा नै गरेका छैनौँ । मैले मेरो व्यक्तिगत धारणा बताउनुको म खासै तुक देख्दिनँ । मेरा आफ्ना अनुभव छन् । मेरा आफ्ना भनाइहरू छन् । मेरा आफ्ना ठम्याइँहरू छन् । तर, त्यो ठम्याइँहरू तपाईंलाई अहिले पोखेर के फाइदा पाउन सकिन्छ र ? तर, म के भन्छु भने, हाम्रो पार्टीले गम्भीरतापूर्वक संस्थागत रूपमा समीक्षा गर्न जरुरी छ । एकताको घोषणा गरेको विन्दुदेखि यहाँसम्म आउँदा हामीले गर्नुपर्ने काम के थिए ? ती काम हामीले गर्न सक्यौँ कि सकेनौँ ? हामी कस्तो ढंगले अगाडि बढ्दैछौँ । कस्तो गतिमा हामी हिँडीरहेका छौँ भन्नेबारे हामीले समीक्षा ग¥यौँ भने हाम्रा सवल पक्ष के हुन्, निर्वल पक्ष के हुन्, आजका चुनौति के हुन्, आजका सम्भावना के हुन् र हामीले गर्नुपर्ने कार्यभार के हुन भन्नेबारेमा स्पष्ट हुन्छ ।

एउटा त्यो कार्यकर्ता जो पार्टीले मेरो, मेरो सन्ततिको भविष्यका निम्ति काम गर्छ । यो मुलुक बनाउँछ भनेर सोच्दैछ र अनवरत समर्थन गरिरहेको छ, त्यो कार्यकर्ता यो परिस्थितिबाट पक्कै दिक्दार होला । आहत होला । उसमा सकारात्मक भाव ल्याउन, पार्टीको गिर्दो अवस्था रोक्न नेतृत्वले केही न केही त गर्नुपर्ने होला नि ?
यो बीचमा केही केही घटनाक्रम अगाडि पनि बढेका छन् । जस्तो, पार्टी घोषणा मात्र भएको थियो, तलसम्म दुईवटा पार्टी थिए । अहिले त्यो दुईवटा पार्टीलाई हामीले प्रान्तीय तहमा, जिल्ला तहमा र स्थानीय तहमा एकीकृत गरेका छौँ । यस्तै, जनवर्गीयय संगठनहरूलाई पनि एकीकृत गर्ने महत्वपूर्ण कदमहरू चालेका छौँ । क्रमशः यो शक्ति एकताबद्ध हुँदैछ । हामी दुईवटा पार्टीबाट एउटा पार्टी बन्ने प्रक्रिया अगाडि बढिरहेको छ । हामी एकदमै ठिंग उभिएर बसेको अवस्था चैँ होइन । केही न केही गति छ, केही न केही प्रगति छ । तर, जसरी यो पार्टीलाई एकताबद्ध गर्नुको साथसाथै यो पार्टीका कार्यदिशा, सिद्धान्तलाई अगाडि सार्नुपर्ने आवश्यकता थियो, त्यो हुन सकिरहेको छैन । त्यसले गर्दा एउटा भारीभर्कम शरीर त छ, तर त्यो खोक्रोजस्तो भइरहेको छ । त्यसमा गुदी भर्ने काम हुन सकिरहेको छैन । जबसम्म त्यसका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य स्पष्ट हुँदैन, त्यसको गुदी भरिँदैन । त्यो काम चैँ गर्न बाँकी छ र त्यसलाई चाँडोभन्दा चाँडो गर्नु जरुरी छ ।

गुदी भर्न अलमल भइरहेको छ । तर, न सरकार न पार्टीभित्र समीक्षा हुन्छ । करिब ६ महिनाअघिको स्थायी समितिले मन्त्रीहरूका काम समीक्षा गर्ने निर्णय ग¥यौँ । तर, अझै हुन सकेन । जे जसरी चलेको छ, चलिरहोस् भन्न खोजे जस्तो देखिन्छ । किनभने, समीक्षा गर्न न सरकार तयार छ, न पार्टी तयार छ । किन ?
निःसन्देह नै । हामी कम्युनिष्टहरूले काम गर्ने जुन कार्यशैली छ, त्यो कार्यशैलीमाथि हामीले ध्यान दिनुपर्छ । हामी एकस्तरसम्म काम गर्छौँ । फेरि समीक्षा गर्छौं । त्यसका सकारात्मक कुरा के–के हुन् हेर्छौं । नकारात्मक कुरा हेर्छौं र त्यसबाट शिक्षा लिन्छौँ । सवक लिन्छौँ । प्रेरणा लिन्छौँ । फेरि अगाडि बढ्छौँ । हाम्रो प्रक्रिया यो हो । यो कार्यशैलीलाई अपनाइएन भने हामी अगाडि बढ्न सक्दैनौँ । त्यति मात्र होइन, पार्टीका सामूहिक नेतृत्वका पक्षहरू छन् । कमिटी प्रणालीका पक्ष छन् । कम्युनिष्ट पार्टीका ती प्रणालीलाई हामीले अपनाउन सकेनौँ भने कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्दैन ।

अहिले दुई पार्टी ठिङ्ग उभिएको जस्तो अवस्था छैन त भन्नुभयो । तर, अहिले जसरी सार्वजनिक रूपमा वैचारिक बहस चलेको छ, त्यो विपक्षीका लागि आनन्ददायी तर, कम्युनिष्ट पार्टीको सदस्यका लागि चिन्तित तुल्याउने खालको छ । कमिटीभित्र हुनुपर्ने वैचारिक बहस सार्वजनिक रूपमा छताछुल्ल भएको छ । दुईपक्ष आआफ्ना पोजिसनमा उभिएका जस्ता देखिन थालेका छन् । यो राम्रो हो र ?
यो नेपालको इतिहासमा बनेको सबैभन्दा ठूलो पार्टी हो । यो विशाल पार्टी हो । यो विशाल पार्टीभित्र विभिन्न सवालहरूमा बहसहरू हुनु, छलफल हुनुलाई म नितान्त स्वभाविक ठान्छु । अब एकीकरणको बेलामा हामीले जनताको बहुदलीय जनवाद, २१औँ सताब्दीको जनवाद माअ‍ोवाद जस्ता विषयवस्तु अहिले विवादका विषय बनेनन्, आवश्यक परेको खण्डमा महाधिवेशनमा उठाउँछाँ, अहिले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो भनेर सहमति गरिसकेका छौँ । यो सहमतिबाट कोही पनि तलमाथि जान सक्दैन । कोही पनि तलमाथि गर्न सक्दैन । यो सहमति भनेको जुन तहबाट गरेको भए पनि त्यो दुईवटा पार्टीबीचमा भएको सहमति हो । यसलाई कसैले पनि तलमाथि गर्न सक्दैन । गर्नु हुँदैन । त्यो सहमतिमाथि आधारित भएर हामी जानुपर्दछ । महाधिवेशनसम्म हामी त्यही ढंगले जान्छौँ । महाधिवेशनको घोषणा गरेर ल अब बहस खुला भयो भनेर पार्टीले निर्णय ग¥यो भने त्यसपछि बहस गर्न मिल्छ । त्योभन्दा अगाडि गरिने कुनै पनि बहसको औचित्य छैन । त्यो पार्टीको विधि, मूल्यविपरीतको कुरा हो । नियमभन्दा विपरीतको कुरा हो । पद्धतिभन्दा विपरीतको कुरा हो । पार्टीलाई त्यसले ठीक दिशामा लाँदैन ।

दुई पार्टीबीच एकताको क्रममा भएका पाँचबुँदे सहमति पनि अहिले चर्चामा छ । त्यो सहमतिपत्रमा तत्कालीन एमालेका अध्यक्ष र माओवादीका अध्यक्ष तथा दुईतिरबाट एकएकजनाको हस्ताक्षर छ । गोप्य भनिएको त्यो सहमति पार्टीको आधिकारिक हो कि होइन ?
बिल्कुल पार्टीको आधिकारिक दस्तावेज हो त्यो । त्यो कुरालाई अब सिंगो नेकपाले मान्नुपर्ने हुन्छ । त्यसलाई मान्छ । त्यसलाई अक्षरस पालन गर्छ र अगाडि बढ्छ ।

त्यहाँ भएका हरेक बुँदा पालना हुन्छ ?
सबै बुँदा पालना हुनुपर्छ ।

सरकार आधाआधा चलाउने भन्ने विषय पनि ?
हो । जम्मै कुरा पालना हुनुपर्छ । त्यो दस्तावेजले जे बोलेको छ, त्यो कुरा अहिले हामी तलमाथि गर्न सक्दैनौँ । गर्ने हो भने या त केन्द्रीय कमिटीले गर्नुपर्छ या महाधिवेशनले गर्नुपर्छ ।

यहाँ मुलुक कठिन समयमा देशको प्रधानमन्त्री बन्नुभयो । शान्तिप्रक्रिया टुंग्याउने र संविधान बनाउने दुई कठिन जिम्मेवारी त्यस सरकारलाई थियो । अहिले संविधान बनेपछि प्रचण्ड बहुमतको सरकार नेकपाको नेतृत्वमा छ । यस्तो अनुकुल अवस्थामा पनि सरकारले अपेक्षाकृत काम नगरेको कुराले मनमा कस्तो महसुस हुन्छ ?
मनमा कस्तो महसुस हुन्छ भन्ने कुरा पत्रपत्रिकामा बताएर के पाउनु छ र ? हाम्रो मनमा भारी कुरा होलान् । धेरै कुरा लागेको छ । तपाईंले म प्रधानमन्त्री भएको प्रसंग उठाउनुभयो । त्यतिबेला जो प्रधानमन्त्री भए पनि त्यतिबेला स्थिर प्रधानमन्त्री हुनेवाला थिएनन्, भएनन् पनि । त्यो कालखण्डमा मुलुकले सात आठजना प्रधानमन्त्री पायो । मै पार्टी अध्यक्ष भएको वेलामा धेरै प्रधानमन्त्री भए । प्रचण्ड पनि प्रधानमन्त्री हुनुभयो । माधव नेपाल हुनुभयो । म प्रधानमन्त्री भएँ । बाबुराम भट्टराईजी प्रधानमन्त्री हुनुभयो । सायद त्यही बेला खिलराज रेग्मीजी पनि प्रधानमन्त्री हुनुभयो । त्यो अस्थिरताको एउटा समय थियो । हामी संविधान निर्माण र शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउने अभियानमा थियौँ । त्यो अस्थिरताको अवस्थामा काम गर्दा पनि मैले त्यस्तो ठूलो असहजताको महसुस गरिनँ । तर, अहिलेको अवस्था भनेको तपाईंले भनेजस्तै अनुकुल छ । हामीसँग दुईतिहाइ बहुमत छ । प्रदेशहरूमा हामी बहुमतमा छौँ । स्थानीय तहहरूमा पनि हामी बहुमतमा छौँ । काम गर्न सक्नेका लागि यो सबैभन्दा अनुकुल अवस्था हो । प्रतिपक्ष अत्यन्तै कमजोर अवस्थामा छ । अहिले पनि प्रतिपक्षले खासै भूमिका खेल्न सकिरहेको छैन । यस्तो अवस्थामा देशको विकासका निम्ति, निर्माणका निम्ति, सरकारलाई गतिशील बनाउनका निम्ति, लोकप्रिय बनाएरअगाडि बढाउनका निम्ति कुनै कुराले पनि छेक्ने स्थिति म देख्दिनँ । कुनै अवरोध छैन । तर पनि जनताको अपेक्षाअनुकूल सरकार चल्न सकिरहेको छैन । यो अनौठो विरोधाभाषको अवस्था हामी देखिरहेका छौँ । यसलाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने आवश्यकता छ ।

ठूलठूला संघर्षको नेतृत्व यहाँहरूले गर्नुभयो । एकहदसम्म शान्तिप्रक्रिया टुंग्याउन र संविधान बनाउन सफल हुनुभयो । पार्टी एकताको ऐतिहासिक जिम्मेवारी महसुस गरेर यो अवस्थामा आइपुग्नुभयो । यति धेरै उपलब्धि हासिल गर्न सक्ने नेताहरू सरकार सञ्चालनका किन असफल ? विकास र समृद्धिसँग जोडिएको जनअपेक्षा पूरा गर्न किन विफल ?
भूमिगतकालमा या संघर्षको कालमा, क्रान्तिको कालमा कम्युनिष्ट पार्टी र त्यसका नेताहरूले जुन प्रकारको भूमिका निर्वाह गर्ने जुन एउटा स्थिति बन्यो । हामीले लामो समय लगाएर निपूर्णता हासिल ग¥यौँ । महारथ हासिल ग¥यौँ र त्यो कालखण्डलाई पार गर्ने एउटा ऐतिहासिक भूमिका हामीले निर्वाह गरेर आयौँ । अहिले हामी निर्माणको युगतर्फ अगाडि आएका छौँ । समाजवाद निर्माण गर्ने, मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने नयाँ युगमा आएका छौँ । अब हामीले निर्माणमा, विकासमा निपूर्णता हासिल गर्न सक्नुपर्छ । महारथ हासिल गर्न सक्नुपर्छ । यो एउटा प्रक्रिया हो । कतिपय मान्छेहरू सिक्दैछन् । सिक्ने अवस्था छ । मैले सबै जान्दछु भन्ने कसैलाई लागेको हुनसक्छ । तर, जानिँदैन । यो सिक्ने कुरा हो र यसलाई सामूहिक रूपमा मात्रै लैजान सकिन्छ । कुनै पनि व्यक्तिले म एक्लै यो पूरा गर्छु भन्ने ठान्छ भने त्यो सम्भव हुँदैन । अझ समाजवादतर्फ जाने यात्रा त एक्लै झनै सम्भवै हुँदैन । समाजवादको यात्रा भनेको नै सामूहिक यात्रा हो । सामूहिक यात्रामा कसैले दम्भ देखाउन थाल्यो, घमण्ड देखाउन थाल्यो भने त्यसबाट अग्रगति प्राप्त हुन सक्दैन । त्यसो हुनाले सामूहिक यात्रामा जान सक्नुपर्छ । सामूहिकतालाई अनुशरण गर्न सक्नुपर्छ । सामूहिक पद्धतिलाई अपनाउनुपर्ने हुन्छ । सबैसँग सरसल्लाह गरेर अगाडि बढ्नुपर्ने हुन्छ । सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ । तब मात्रै अग्रगति र प्रगति सम्भव छ ।

विश्व कम्युनिष्ट आन्दोलनका अवसानहरू हामीले नजिकबाटै देखेका छौँ । हामीकहाँ ठूलो जनमत नेकपाको पक्षमा देखिन्छ । केही निराशाका बीच पनि मुलुक समाजवादको यात्रामा सकारात्मक दिशातर्फ नै जाँदैछ कि व्यक्तिगत दम्भले ग्रसित भएर दुर्घटनाको खतरा छ ?
विश्वका विभिन्न देशमा विभिन्न खालको परिस्थिति छ । कतै कम्युनिष्ट आन्दोलन निकै राम्रो ढंगले अगाडि बढेको छ । कतै गम्भीर धक्का खाएको छ । कतै धक्का पनि खाँदैछन् । कतै उपलब्धिहरू पनि हासिल गर्दैछन् । संसारमा यतिबेलाको अवस्थामा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ भनेर मान्नुपर्छ । तर, नेपालको परिस्थितिमा कम्युनिष्ट आन्दोलन अत्यन्त हराभरा ढंगले अगाडि बढिरहेको छ । अत्यन्त तीव्रगतिले विकसित भएर आएको छ । एउटा आशातित ढंगले अगाडि बढेको छ । यो आन्दोलनलाई सही कार्यदिशा प्रदान गरेर, नीति प्रदान गरेर, सिद्धान्त प्रदान गरेर, सही मार्गदर्शन गरेर मात्रै यसलाई निरन्तरता दिन सकिन्छ । यसलाई कार्यदिशाविहीन, नीतिविहीन, सिद्धान्तविहीन बनाउन थालियो भने स्वभाविक रूपमा एउटा उथलपुथल मच्चिन थाल्छ । हामी त्यो हुन नपाओस् भनेर सजग छौँ, सचेत छौँ । र, पार्टी एकीकरणको दस्तावेज चाँडोभन्दा चाँडो प्रकाशित हुनुपर्छ भनेर सचिवालयभित्रका हामी धेरै साथीहरू प्रयत्नशील छौँ । त्यसमा हामीले आवाज उठाइरहेका छौँ । र, अस्तिको बैठकमा पनि हामीले यो कुरा उठाएका छौँ । अब पनि उठाउँछौँ । यतिबेलाको सबैभन्दा प्राथमिक काम भनेको पार्टी दस्तावेजको प्रकाशन हो । पार्टी दस्तावेजको प्रकाशन नभएसम्म सिंगो पार्टी अन्धकारमा बस्छ, अँध्यारोमा बस्छ । पार्टीका आँखा भनेको, पार्टीको मस्तिष्क भनेको नै पार्टीको दस्तावेज हो । पार्टीका कार्यदिशा हुन्, नीति हुन्, सिद्धान्त हुन्, लक्ष्य हुन् । त्यो कुरा किटान नभएसम्म हाम्रो सिंगो पंक्ति गतिशील हुन सक्दैन । त्यसकारण अहिलेको मुख्यआवश्यकता दस्तावेजको प्रकाशन बनेको छ । म यो लोकप्रिय ‘दृष्टि’मार्फत् म नेताहरूलाई भन्न चाहन्छु, चाँडोभन्दा चाँडो त्यो दस्तावेज प्रकाशित गर्ने काम गरौँ र सिंगो कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन प्रदान गरौँ ।
प्रस्तुति : छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्