Logo
Logo

प्रचण्ड सम्बोधन- कांग्रेसीलाई ‘मनोवैज्ञानिक थ्रेट’



काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको माहोल छ । तर, ध्यान भने चितवनको भरतपुरतर्फ छ । अनेक कारण भरतपुर महानगरपालिका चासोको केन्द्र बन्यो ।

स्थानीय तह निर्वाचनमा सबैको ध्यान भरतपुर केन्द्रित हुनुको मुख्य कारण कांग्रेसका ‘बागी’ जगन्नाथ पौडेल हुन् । सत्तारुढ गठबन्धनबीच भागबन्डा हुँदा भरतपुर महानगर नेकपा माओवादी केन्द्रको भागमा पर्दा सुरुमा सिंगो चितवन कांग्रेस नै रुष्ट भयो । तर, आजको मितिसम्म आइपुग्दा उनै ‘बागी जगन्नाथ’ मात्रै रुष्ट छन् । र, स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा छन् ।

चितवन माओवादी अध्यक्ष प्रचण्डको गृह जिल्ला हो । त्यसमा पनि भरतपुर महानगर प्रचण्डका छोरी रेणु दाहालको नगर हो । उनले एकपटक मेयर भएर नेतृत्व गरिसकेका छन् । पुनः महानगर नेतृत्व गर्न मैदानमा छन् । यसकारण पनि भरतपुर माओवादीको प्रतिष्ठा हो ।

वर्तमान सत्ता गठबन्धनको निर्वाचन तालमेललाई आधार मान्ने हो भने भरतपुर माओवादीको मात्र प्रतिष्ठा होइन । अब भरतपुर सत्तारुढ पाँच दलीय गठबन्धनकै प्रतिष्ठ हो । जहाँ पाँच दलीय गठबन्धनको मुख्य प्रतिस्पर्धी नेकपा एमाले कमजोर छैन । रेणुले अञ्जानमा निर्वाचन हारे गठबन्धनकै भविष्य अन्योलमा पर्नसक्छ । त्यसैले भरतपुर पाँच दलीय गठबन्धनका लागि चिन्ताको विषय हो ।

‘कांग्रेसका हात काट्दै हिन्ने माओवादीलाई भोट हालिन्न’ भन्ने चितवनका कांग्रेसी नेता रेणुलाई जसरी पनि जिताउनु पर्छ भन्दै भाषण गरी भोट माग्न थालिसके । तर, कांग्रेसका बागी जगन्नाथ बालहटमै छन् । जगन्नाथलाई फकाउने र थमाउने कांग्रेस सभापति शेरबहादुर देउवासमेत लाग्दा पनि सम्भव भएन ।

जगन्नाथले भोट काट्दा विपक्षीलाई फाइदा हुने गठबन्धनको बुझइ हो । र, हुने पनि त्यही हो । त्यसैले गठबन्धनको शक्ति भरतपुर केन्द्रित छ ।

गठबन्धनले बिहीबार भरतपुरमा निर्वाचन सभा आयोजना गर्यो । निर्वाचन सभाको मुख्य उद्देश्य भोट माग्नु नै हो । अथार्त, भरतपुरको निर्वाचन सभामार्फत कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतले खुलेरै रेणुको पक्षमा भोट मागे । मुक्तकण्ठले रेणुले गरेका कामको प्रशंसा गरे । नेताले मात्र होइन, बहुचर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले समेत सभाबाटै रेणुको प्रशंसा गर्दै भोट मागे ।

यतिका नेताले भोट माग्दा भरतपुरबासीले कसो भोट नदेलान् ? भोट त दिनै पर्ने हो । नेताले भोट नमागेकै अवस्थामा पनि कामको आधारमा मुल्याङ्कन गर्ने जनताले रेणुलाई भोट दिन अप्ठ्यारो मान्नुपर्ने स्थिति छैन सायद ! किनकी, रेणुको नेतृत्वमा भएका कामलाई छोप्नसक्ने आधार र कारण आजसम्म विपक्षीले पनि भेटेका छैनन् ।

चितवनले परिस्थिति बद्लिन सक्ने देउवाको चिन्ता
शेरबहादुर देउवा र प्रचण्डको अभिव्यक्तिमा खास अर्थ छ । देउवा नम्र शैलीमा प्रस्तुत भए । रेणुको नेतृत्वमा भएको कामको प्रशंसा गर्दै कार्यकर्तालाई इमानदारपूर्वक भोट हाल्न अपिल गरे, निर्देशन दिए ।

वर्तमान गठबन्धनको आधार र उद्देश्य राष्ट्रहितसँग जोडिएकाले गठबन्धनको निर्णयभन्दा बाहिर जानु गलत हुने देउवाको भनाइ थियो । उनले ८२ प्रतिशत जनता गठबन्धनको पक्षमा रहेको भन्दै भरतपुर कांग्रेसको भूमिकाले विशेष अर्थ राख्ने धारणा राखे ।

देउवा भनाइको सार- देशभर गठबन्धन भएको छ । गठबन्धनकै बलमा कांग्रेस सबैभन्दा शक्तिशाली पार्टी बन्दैछ । यदि, भरतपुरमा कांग्रेसबाट बदमासी भयो भने देशभर गठबन्धन भत्किन्छ । गठबन्धन भत्किनु कांग्रेसलाई नै घाटा हुनु हो । त्यस्तो अवस्थामा गठबधन भत्कनुको कारक कांग्रेस हुन्छ । जसको परिणाम कांग्रेसले नै भोग्नुपर्छ, कांग्रेसले नै गुमाउनुपर्छ ।

गठबन्धन भत्कन सक्ने प्रचण्डको चेतावनी
प्रचण्डले भरतपुर सम्बोधनको आधा समय वाम-लोकतान्त्रिक गठबन्धनको विगत व्याख्यामा बिताए । अर्थात विगत सुनाएर वर्तमान गठबन्धनको आवश्यकता र महत्व बोध गराउने प्रचण्डको उद्देश्य थियो ।

०४६ सालको जनआन्दोलन हुँदै, जनयुद्धपछिको शान्ति प्रकृया, २०६२/६३ को जनआन्दोलन, संविधानसभाको निर्वाचन, संविधान निर्माण र केपी ओलीकृत प्रतिगमनसम्म आइपुग्दा वाम-लोकतान्त्रिक शक्तिबीच भएको सहकार्य र परिणाम व्याख्या गरे ।

प्रचण्ड भनाइको सार- विगत, वर्तमान र भविष्यमा पनि वाम–लोकतान्त्रिक गठबन्धनबीचको सहकार्य नै राष्ट्रहितमा हुन्छ ।
विगत र वर्तमान व्याख्या गरेका प्रचण्डले भविष्यको चित्र पनि देखए । विगतमा कांग्रेसबाट धोका हुँदा एमालेसँग मिल्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको स्मरण गराउँदै प्रचण्डले फेरि पनि कांग्रेसबाट धोका भए पुरानै परिस्थिति दोहोरिनसक्ने घुमाइ–घुमाइ चेतावनी दिए ।

स्थानीय तहको अघिल्लो निर्वाचनमा पनि भरतपुरमा कांग्रेस-माओवादीबीच नै तालमेल भएको थियो । तर, कांग्रेसले इमानदारपूर्वक भोट हालेन । उम्मेदवार नै नभएको कांग्रेसलाई धेरै मत गएको थियो ।

प्रचण्डले सोही प्रशंग कोट्याएर फेरि पनि त्यस्तै हुनसक्ने खतरा रहेको संकेत गरे । घुमाउरो भाषामा प्रचण्डले यसपटक पनि त्यस्तो परिस्थिति आए कांग्रेसले जिम्मा लिनुपर्छ भने ।

प्रचण्ड सम्बोधनमा चितवनका कांग्रेसीलाई ‘मनोवैज्ञानिक थ्रेट’ थियो । विगतमा रुखवालाहरुले हँसिया हथौंडामा इमनदापूर्वक भोट नहालेकै कारण देउवालाई भनेरै गठबन्धन तोडेको सुनाएका प्रचण्डले मनोवैज्ञानिक थ्रेट दिए ।

प्रचण्डले भने- ‘म गठबन्धनप्रति इमानदार छु । गठबन्धन असफल भए देश दुर्घटनातर्फ जान सक्छ । देश दुर्घटनातर्फ गए त्यसको जिम्मा गठबन्धनविरुद्ध भाषण गर्दै हिड्नेहरुले जिम्मा लिनुपर्छ ।’

प्रचण्डले सिधै नभने पनि भरतपुरमा रेणुले नजिते विगत झैँ गठबन्धन टुट्न सक्ने चेतावी दिए । त्यति भनेपछि उनले थपे, ‘म प्रति आशंक नगर्नु होला । सबै इमानदार हुने हो भने गठबन्धनलाई १५–२० वर्षसम्म लैजान चाहन्छु ।’ अर्थात, प्रचण्डले गठबन्धनप्रति चितवन कांग्रेस इमानदार नभए गठबन्धन टुट्ने चेतावी दिए र इमानदार भए गठबन्धन लामो समयसम्म रहने आश्वास्त पार्न खोजे ।

के हो त भरतपुरको अवस्था ?
हुन त कम्युनिष्टहरु भाग्यमा विश्वास गर्दैनन् । तर, रेणुको भाग्यमा चाहिँ कचिङ्गल नै लेखेको होला ! पहिलोपटक मेयर बन्दै गर्दा उस्तै झमेला थियो । तालमेलमा रहेका कांग्रेसीबाट सुरु भएको कचिङ्गल मतगणना हुँदै पुनः मतदानसम्म पुगेको थियो । यसपटक पनि कांग्रेसीबाटै कचिङ्गल खेप्दैछन् ।

रेणुको मेयर यात्रा नै कठिन चरणबाट सुरु भयो । उनलाई अनेक अराजनीतिक लाञ्छाना लगाइयो । प्रचण्डकै छोरी भएका कारण मात्र निर्वाचन जितेको त कतिले भने भने । तर, यो पाँच वर्षको अवधिमा रेणुको आफ्नै परिचय बनेको छ । रेणु अब प्रचण्डको छोरी भनेर चिनिनु पर्दैन । एक सफल नेतृत्वको रुपमा रेणुको छवि बनिसकेको छ ।

पाँच वर्षमा आफूलाई प्रमाणित गरेका रेणुलाई यसपटक त्यति असहज छैन । तर, केही अप्ठ्याराहरु अवश्य छन् । ति अप्ठ्याराहरु रेणुको विजय यात्रामा खासै बाधक नबन्न सक्छ ।

चितवन त्यसै पनि माओवादीको राम्रो मत भएको ठाउँ हो । पाँच वर्षको अवधिमा रेणुले गरेका कामले माओवादीको अवस्था अझ राम्रो भएको छ । माओवादीले सुकुम्बासीको भोट मात्रै लगभग २० हजार बढाएको छ । अन्य विविध कारण चितवनमा माओवादीको पोजिसन थप बलियो बनेको छ ।

यसपटकको प्रतिस्पर्धा विगतको जस्तो छैन । विगत झैँ माओवादीको साथमा कांग्रेस मात्र छैन । एकीकृत समाजवादी, जसपा र जनमोर्चा पनि माओवादीसँगै छ । यस अर्थमा पनि भरतपुरमा माओवादीको दावी बलियो हो ।

अघिल्लो निर्वाचन जस्तो मुख्य प्रतिस्पर्धी एमाले बलियो छैन । पहिलो कुरा त एमाले विभाजन भएको छ । चितवन जस्तो ठूलो जनघन्त्व भएको ठाउँमा एमालेको ठूलो संख्या एकीकृत समाजवादी बनेको छ । त्यसैले मुख्य प्रतिस्पर्धी एमाले कजमोर छ । राप्रपाको सबै मत पाएपनि एमालेले विभाजन भएर गएको मत पुरताल गर्न सक्ने अवस्था छैन । त्यसैले विगतको तुलनामा यसपटक एमाले कमजोर हो ।

पाँच दल एक ठाउँमा हुन र विभाजित पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु नै रेणुको जित सुनिश्चितता हो । तर, पनि कांग्रेसका बागीको चिन्ता सबैलाई छ । बागीले भोट काट्ला भन्ने चिन्ता हो । तर, आजसम्म आइपुग्दा अवस्था त्यस्तो छैन । केही भोट पक्कै काट्लान तर अब सिंगो कांग्रेस रेणुलाई जिताउन लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्