Logo

पञ्चको त्यो कोट र वर्तमान अवस्था


Published On : 2 July, 2019

माथवरसिंह बस्नेत

यो बिसं २०३१ सालको कुरा हो । तिथि–मिति याद भएन तर पत्रिकामा छापिएको प्रसिद्ध कथा हुनाले त्यो रेकर्डमा नरहने कुरा पनि होइन । तिन्ताका गोरखापत्रबाहेक अरु कुनै दैनिक पत्रिकाले शनिबारीय अंक निकाल्ने गरेका थिएनन् । निर्दलीय पञ्चायत व्यवस्थामा राजनीतिक सिद्धान्तका पक्ष र विपक्षमा वैचारिक छलफल र बहस चलाउन निषेध थियो । विचार, सिद्धान्त र व्यवस्थाका बारेमा तात्तातो छलफल र बहस चल्न छाडेपछि अखबार तथा पत्रपत्रिका निरश र स्वादहीन बन्ने नै भए । पञ्चायत आफ्नै डम्फु बजाइरहेको थियो । बहुदलवादीका क्रियाकलाप ठप्प थिए । एक प्रकारले परिस्थिति चकमन्न थियो । त्यही अवस्थालाई चिरेर कमसेकम देशको बौद्धिक जमातमा केही हलचल पैदा गर्न समाजका सम्पादक मणिराज उपाध्याय, दि कमनर दैनिकका सम्पादक गोपालदास श्रेष्ठ, समीक्षाका सम्पादक मदनमणि दीक्षित तथा अरु केही वरिष्ठ पत्रकार मिलेर दैनिक समाजको आइतवारको अंकलाई विशेषाङ्कका रुपमा निकाल्ने निर्णय गरेका थिए । वास्तवमा उनीहरुको त्यो प्रयास, जहाँ इच्छा, त्यहाँ उपायको प्रयोग थियो । उनीहरुले त्यस्ता विशेषाङ्कका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगतका जल्दाबल्दा विषयमा छलफल चलाउने गरेका थिए । त्यही क्रममा पञ्चायतका विकृति र विसंगति औँल्याउन एउटा कथा छापियो । त्यसको शीर्षक थियो– मेरो कोट ।

माथवरसिंह बस्नेत

पञ्चायत व्यवस्थामा पनि के छैन ? एउटा आदर्श प्रजातान्त्रिक पद्धतिमा चाहिने सबैथोक छ । संविधान छ, विधायिका छ, कार्यपालिका छ, सर्वोच्च अदालत छ, लोकसेवा आयोग छ, विशेष प्रहरी पनि छ । फरक यत्ति हो कि तिनमाथि नियन्त्रण र संतुलन तिनै संस्थाहरुले गर्दैनन्, सक्रिय नेतृत्व नामको “विगवसले” गर्छन् । त्यसैले उनी भन्छन्, पञ्चायतमा पनि के छैन ? सबैथोक छ । तर छ, मेरो कोटजस्तो ।

त्यो कथा, छद्म नामबाट प्रकाशित भएको थियो । कथाको भाषा, शैली र विषयवस्तुको प्रस्तुति हेर्दा कुशल तथा परिपक्व कथाकारले लेखेको स्पष्ट थियो । तैपनि देश, काल र परिस्थितिअनुसार कथाकारले आफ्नो नाम गोप्य राख्न चाहेकाले त्यसलाई खोतल्ने काम कसैले गरेनन् । इतिहासको त्यो विशेष कालखण्डमा त्यसो गर्नु स्वभाविकै थियो । मानिसहरु आँपको स्वादका पारखी त थिए, रुखको पहिचानमा भने रुचि राख्दैनथे । गाग्राबाट चलेको प्रसंग आग्रातिर पुग्यो । फर्केर फेरि विषयतिरै लागौं । अर्थात् मेरो कोट शीर्षकको कथा के थियो ? त्यसको निष्कर्षभन्दा पनि सारसंक्षेपमा लाग्यो भने पाठकलाई अनावश्यक तनाब झेल्ने झन्झटबाट मुक्ति मिल्नेछ । कथा यस्तो थियो ः–

राजधानीमा वृहत् राष्ट्रिय पंचभेलाको आयोजना भएको थियो । पाँच दिनसम्म चलेको पंचभेला सकेर आफ्नो जिल्ला फर्कनुअघि एकजना सूदूर पश्चिमका पंचले भेलामा सहभागी भएवापतको भत्ताबाट एउटा राम्रो कोट लिने निश्चय गरेर साँझपख नयाँ सडक पुगे । जाडोयाम थियो, त्यसैले असली कस्मिराको न्यानो कोटको कपडा लिए र नाम चलेको टेलरकहाँ सिलाउन दिए । टेलर मास्टरले कोटको नाप लिएपछि पाँच दिनपछि ट्रायलको निम्ति आउन भने । ट्रायल हेरेर कतै काँटछाँट गर्नु पर्ने भए मिलाएर त्यसको दुई दिनपछि कोट दिने बताए । पंच महोदयलाई एक साता पर्खन भत्ताको रकमले नभ्याउने भयो , उनले रुन्चे स्वरमा अनुरोध गरे– मलाई सकेसम्म चाँडै सकिदिनोस् । फर्कन हतार भइसकेको छ । एक साता अर्को पर्खन खर्चले पनि धान्न सक्तिनँ ।

टेलर मास्टरमाथि उनको विनम्र आग्रहको असर परेछ, उनले तीन दिनमा ट्रायलका निम्ति आउने तारीख र ट्रायलको भोलिपल्टै तयारी कोट दिने आश्वासन दिएर बिदा गरे । कोटको ज्याला पनि अचाक्लि महंगो थियो, तैपनि नयाँ कोट लगाएर जिल्ला फर्कने तीव्र इच्छा पूरा हुन लागेका बेला सातसयको मुख के हेर्नु भनेर त्यसमा पनि उनी तयार भए । अर्को चार दिन खर्च व्यहोर्नुपर्ने भयो । मनमनै हिसाव लगाई हेरे र अर्थोक किनमेल नगर्ने तर कोटचाहिँ नयाँ लगाएरै जाने निश्चय गरेर उनी होटल फर्के ।

तेश्रो दिन कोटको ट्रायल हेरे । सिउने सुचिकार आफैं ट्रायल लिन आएका थिए । उनले खुकुलो भए कसिदिने र कस्सिएको भए फुकाई दिने मात्र होइन, भोलि यति बजे कोट लिन आउनु भनेर समय पनि तोकिदिए । पंच परमेश्वरलाई आफ्नो चिरप्रतिक्षित आकांक्षा पूरा हुन लागेकोमा ठूलो संतोष लाग्यो र उनी त्यहाँबाट सोझै शानेवानिको सिटी अफिस पुगेर पर्सिपल्टका लागि नेपालगंजको ओपन टिकट कन्फर्म गराउन पुगे ।

चौथो दिन निर्धारित समयमा उनी टेलरिङ मास्टरकहाँ पुगे र स्लिप र त्यसमा लेखिएको रकम दिए । मास्टरले अह्राउनेवित्तिकै एकजना कर्मचारीले पट्याएर प्लाष्टिक झोलाको कोटको प्याकेट ल्याएर उनका सामुन्ने राखिदिए । उनले अलि असजिलो मान्दै सोधे, हिजो ट्रायल लिने सुचिकार आज कता गए ? मैले कोटको काखी अलि खुकुलो भयो, त्यसलाई मिलाइदिन भनेको थिए, त्यो मिल्यो कि मिलेन एक पटक फेरि हेर्न पाए हुन्थ्यो ।

– हुन्छ तर अलि छिटो गर्नुस् है, नत्र भीडभाड बढ्छ ।

पंच महोदयले झोलाबाट कोट निकालेर पहिरे । हिजो खुकुलो थियो, आज त काखीमा च्याप्पै टाँसिने भएछ । कम्मर पनि उस्तै कस्सिएको, टाँक पनि लाउन नहुनेगरि सानो भएको सिकायत गरे काउन्टरमा बस्ने मास्टरसित । उनले तुरुन्त सुचिकार बोलाइदिए ।

सुचिकारले नयाँ कोटको पहिरन तलदेखि माथिसम्म हेरे र सोधे– के भयो ?

खै, कोट के भयो ? हिजो खुकुलो थियो, आज साँघुरो भयो, कतै मिल्दैन, कसरी पहिरिने ?

सुचिकार बम्कियो– के मिलेन भनेको ? सबैथोक मिलेकै छ । कलरका ठाउँमा कलर छ, बाउलाको ठाउँमा बाउला छ, खल्तीका ठाउँमा खल्ती छ, टाँकका ठाउँमा टाँक छ । तैपनि मिलेन भने कोट नमिलेको होइन, तपाईको जीउ नमिलेको हो । जानोस् मिलाएर लाउनोस् ।

विचरा कोटवाला नाजवाफ भए । रातो मुख पारेर कोटको झोला च्यापेर निक्ले । बस्, कथा यत्ति हो ।

त्यसपछि कथाकार प्रकट हुन्छन् र सुचिकार पीडित पंचको आत्मस्विकृति यसरी व्यक्त गर्छन्– पञ्चायत व्यवस्थामा पनि के छैन ? एउटा आदर्श प्रजातान्त्रिक पद्धतिमा चाहिने सबैथोक छ । संविधान छ, विधायिका छ, कार्यपालिका छ, सर्वोच्च अदालत छ, लोकसेवा आयोग छ, विशेष प्रहरी पनि छ । फरक यत्ति हो कि तिनमाथि नियन्त्रण र संतुलन तिनै संस्थाहरुले गर्दैनन्, सक्रिय नेतृत्व नामको “विगवसले” गर्छन् । त्यसैले उनी भन्छन्, पञ्चायतमा पनि के छैन ? सबैथोक छ । तर छ, मेरो कोटजस्तो ।

त्यो कथा, ४५ वर्ष पुरानो हो । नेपालमा यसबीचमा धेरै परिवर्तन आए । सबैभन्दा ठूलो परिवर्तन प्रजातन्त्रको माने लोकतन्त्र हो भन्ने स्थापित गर्नमा भयो । अंग्रेजी शब्द, डिमोक्रेसीको नेपालमा “प्रजातन्त्र” र भारतमा “लोकतन्त्र” चलेको थियो– २००७ सालको क्रान्ति र राणा शासनको अन्त्यपछि । २०६२ सालमा भारतको प्रयास र पहलमा संसदवादी सात दल र माओवादीले मिलेर १२ बुँदे दिल्ली सम्झौता भयो । बेजिङको नयाँ जनवाद र नेपालको प्रजातन्त्र छुमन्तर भयो । अनि आयो, लोकतन्त्र । माओवादीलाई प्रजातन्त्र हजम भएको थिएन, लोकतन्त्रको चास्नीमा डुवाइदिएपछि विदेशी हस्तक्षेप पनि “अमृत” भयो ।

लोकतन्त्र अन्तरगत संविधानसभाले संविधान बनायो, नेपाल सात राज्यमा विभाजित भयो, धर्म पनि लोप भयो, किनभने निरपेक्षताका आडमा परिवर्तनको ढोका खोलियो, समानुपातिक निर्वाचन पद्धति र आरक्षणको महारोग पनि सरेर आयो । यी सबै भइसकेपछि पनि न कम्युनिष्ट प्रजातन्त्रवादी हुन सकेका छन्, न कम्युनिष्ट शासन स्थापना गर्ने आँट गर्न सकेका छन् । उनीहरु समाजवाद उन्मुख त भन्छन् तर भारत विमुख हुन चाहिरेका छैनन् । अर्थात् नयाँ कोटको मानसिकताबाट नेपाली राजनीति अझै मुक्त हुनसकेको छैन । सत्तारुढ कम्युनिष्ट पार्टी, अहिले जुन अन्तरद्वन्द्वमा फँसेको छ, त्यो त्यसैको परिणाम हो ।

अन्त्यमा,

हाम्रो शास्त्रले भनेको छः–

ना सतो विद्यते भाबो,

ना भाबो विद्यते सत ।

छोटो अर्थ हो, सत्य डग्दैन, झुटो टिक्दैन ।

प्रतिक्रिया दिनुहोस्