Logo
Logo

फेसबुकबाटै युवतीहरुको ठगीधन्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राजधानीमा अनौठा ठगीका घटना हुन थालेका छन् । अझ त्यस्ता घटनामा महिलाहरु संलग्न रहेको प्रहरीले जनाएको छ । सुन्दरताको आडमा कतिपय युवतीहरु ठगीमा संलग्न हुन थालेको प्रहरीले जनाएको छ । पछिल्लो एक सातामा दुई युवती ठगीको आरोपमा पक्राउ परेका छन् । दुवैले नाटकिय शैलीमा ठगी गरेका थिए । उनीहरु हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

गत ८ असारमा दोलखा शैलुङ गाउँपालिका घर भई भक्तपुर बस्ने संगीता भन्ने कल्पना बस्नेतले आफ्नौ गाउँका एक सैनिकलाई फिल्मी शैलीमा ठगी गरिन् । सैनिक जवान हरिबहादुर कार्कीलाई उनले चार लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् । ठगीका लागि उनले फेसबुकको सहारा लिइन् । केटाहरु राम्री केटी देखेपछि मरिहत्ते गर्छन् भन्ने उनलाई थाहा थियो । उनकी एक सुन्दर साथी थिइन् । उनकै फोटो प्रयोग गरी संगीता बस्नेतको नाममा फेसबुक आईडी खोलिन् ।

आफ्नै नामबाट पनि उनको फेसबुक आईडी थियो । कार्कीसँग च्याट गर्ने क्रममा आफ्नो साथी संगीताको बारेमा बताउँदै उनलाई फेसबुकमा एड गर्न भनिन् । राम्री देखेपछि कार्की मोहित भए ।उनीहरुबीच प्रेमका कुरा हुन थाले । दुवैको भेट भएको थिएन । तर, बिहे गर्ने सहमति भयो । सुन्दर युवती पाएकोमा कार्की मख्ख भएका थिए ।

यही क्रममा एकदिन कल्पनाले संगीता दुर्घटनामा परेर घाइते भएको बताइन् । उपचारको लागि पैसा नभएको भन्दै पैसा मागिन् । युवकले पटक पटक गरेर चार लाख ५० हजार रुपैयाँ पठाइदिए । संगीताको नर्भिक अस्पतालमा उपचार भइरहेको भनिएको थियो । उनी संगीतालाई भेट्न नर्भिक अस्पताल पुगे । आईसियुमा राखिएको र चिकित्कसकको अनुमतिमा मात्र भेट्न सकिने कल्पनाले बताइन् । पछि, चिकित्सकले अहिले भेट्न नमिल्ने भन्दै कार्कीलाई फकाइदिइन् । अस्पतालमै पुगेर त्यसरी नाटक गरेकी थिइन् ।

त्यसको केही दिनमा उपचारको क्रममा संगीताको भारतमा मृत्यु भएको खबर कार्कीले कल्पनाबाट थाहा पाए । प्रेमिकाको मृत्युको खबरले उनी स्तब्ध भए । तर, कतिपय कुराले उनलाई शंका लागेको थियो ।

किनकी युवतीले भिडियो च्याट गर्न मानेकी थिइन् । भेट्ने प्रस्तावमा नकार्दै आएकी थिइन् । अस्पतालमा पनि भेट्न नपाएको जस्ता कुराले आफुलाई ठग्न नाटक गरिएको आशंका गरेर साथीहरुसँग सल्लाह गरे । कल्पनाले नै ठगेको हुनसक्ने साथीको सल्लाहपछि उनी अपराध महाशाखा पुगेका हुन् । जहाँ पुग्दा प्रेमको नाममा आफुलाई ब्लाकमेल गरिएको थाहा पाए । पक्राउ परेपछि युवतीले आफूले नक्कली फेसबुक आईडी बनाएर ठगी गरेको स्वीकार गरेकी छिन् ।

धनाढ्य बनेर २३ लाख झ्वाम

अर्की एक युवतीले पनि फेसबुककै माध्यमबाट २३ लाख रुपैयाँ ठगी गरेकी छन् । पक्राउ पर्नेमा महोत्तरीको औरी नगरपालिका–३ की २१ वर्षीया डायन सेकेन्डले ठगी गरेकी हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं नरेफाँटबाट अघिल्लो शुक्रबार पक्राउ गरेको थियो ।

उनले भारतको महाराष्ट्र पलबर रेलनगर बस्ने ३८ वर्षीय श्रीपाल जैनलाई डायन रोज नामक फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। फेसबुकमा साथी बनेपछि जैनलाई उनले आफू सम्पन्न परिवारको एक्ली छोरी भएको भन्दै सम्पत्तिको लोभ समेत देखाइन् । डायनले आफ्नो परिवार व्यवसायिक पृष्ठभुमिको भएको र सबै सम्पत्तिको हकदार आफूमात्र भएको भन्दै जैनलाई प्रलोभनमा पारेकी थिइन्। खासगरी भारतमा समेत आफूहरुको सम्पत्ति रहेको र त्यो दिने उनको आश्वासन थियो ।

एक्लो हकदार भएको र आफ्नो सम्पूर्ण व्यवसाय जैनलाई मिलाइदिने भन्दै उनले जैनलाई नेपाल बोलाएकी थिइन् । नेपाल आएका जैन फर्कने बेला असार ६ गते करिब दिउँसो १ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कस्टममा पुगेपछि डायनले आफ्नो बाबुले पठाएको बहुमुल्य सामान प्राप्त गर्न ठूलो भन्सार रकम आवश्यक परेको भन्दै जैनसँग उनले २३ लाख रकम लिइन्। युवतीसँग मोहित भइसकेका जैनले तत्कालै २३ लाख रुपैयाँ जुटाए ।

त्यसपछि एकैछिनमा आउँछु भनेर बाहिर निस्किएकी उनी गायब भएकी थिइन् । जैन भारत नफर्किकन प्रहरीमा गएर उजुरी गरेका थिए । उनको कोठाबाट प्रहरीले २० लाख ८० हजार, डायनको राहदानी, भाइएमइ भौचर ४ थान, विभिन्न कार्डहरु १० थान बरामद गरेको छ । फेसबुकमा सुन्दर तस्वीर राखेर उनले भारतीय व्यापारीलाई मोहित बनाएकी थिइन् । उनले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको आशंका गरिएको छ । आफूलाई धनाढ्य बताउने ती युवतीको आर्थिक अवस्था कमजोर रहेको खुलेको छ ।

गत १२ जेठमा अपराध महाशाखाले नै ठगी आरोपमा अप्सरा श्रेष्ठ(कार्की)लाई पक्राउ गरेको थियो । उनले २५ भन्दा धेरै महिलालाई ठगी गरेकी थिइन् । सोझा महिलाहरुलाई २०÷२५ हजार रुपैयाँ सापटी दिने र उनीहरुबाट खाली चेक लिई आफैं मनलागी पैसा लेखेर ठगी गर्दै आएको खुलेको थियो । त्यसरी आफैंले लेखेका ३५ वटा चेकसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय चेक बाउन्ससम्बन्धि कानून कडा भएकाले उनले यस्तो धन्दा गर्दै आएकी थिइन् ।

यस्ती पनि छोरी ?

भनिन्छ महिलाको मन निकै कमलो हुन्छ । तर, भक्तपुरकी एक महिलाले यो कुरा गलत सावित गरिदिएकी छिन् । आफ्नो प्रेमीसँग रमाउन बाधा पुगेपछि भाडाका अपराधी खटाएर आफ्नै आमाको हत्या गरेकी छिन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भई चाँगुनारायण नगरपालिका– ७ बस्ने ईश्वरी भट्टराईले आइतबार आफ्नै आमा सािवत्री भट्टराईको हत्या गराएकी हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार विवाहित ईश्वरी मोहम्मद नौसादसँग प्रेम सम्बन्धमा थिइन् । श्रीमान नभएको मौकामा नौसादलाई उनले घरमै बोलाउने गर्दथिन् । जून कुरा उनको आमालाई मन परेको थिएन । आफ्नो सम्बन्धमा आमाले बाधा पु¥याएको भन्दै उनले प्रेमीसँग मिलेर हत्याको योजना बनाएकी हुन् ।

सोहीअनुसार भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएर घरभित्र चक्कुले घाँटी काट्न लगाएर हत्या गरिएको थियो । चारै जनालाई पक्राउ गरी अपराध महााशाखाले सोमबार सार्वजनिक गरेको छ । त्यसरी हत्या गरेवापत १२ लाख रुपैयाँ दिने सहमति भएको थियो ।

यो घटनाको मुख्य कारण यौन भएको प्रहरी अधिकारीहरु बताउँछन् । महिला आफ्नो श्रीमानसँगको यौन सम्बन्धमा खुशी थिएनन् । सोही कारण उनले प्रेमीसँग सम्बन्ध गाँसेकी थिइन् । प्रेमीसँग यौन सन्तुष्टिका लागि उनले आफ्नै आमाको हत्या गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्