Logo
Logo

जनताका पीडा कहिले सुन्ने ?



सत्यको बाटोमा एक्लै भए पनि हिँडन तयार हुनुपर्छ । मानव जातिले इतिहासको निर्माण भीडले होइन, आलोचनात्मक चेतसहितको विवेकले गरेको हो । कार्लमाक्र्सको मृत्यु हुँदा उनको मलामी एक दर्जन पनि थिएनन् । मान्छेको लागि विवेक सर्वोच्च कुरा हो । विवेकले गलत भन्छ भने, भीडको पछि लाग्नु गलत हो । तर, हाम्रो देशमा भने चेतनाभन्दा भीडभाडको पछि लाग्ने परम्परा चल्दै आएको छ ।

अहिलेको निर्वाचनी अभियानले हरेक वर्ष कात्तिक÷मंसिरमा खेलिने देउसी–भैलो यस वर्ष भने वैशाखमै खेलिँदै छ जस्तो महसुस भइरहेको छ । अन्य वर्षहरूमा मलमासले गर्दा केही दिन वरपर भए पनि महिनौँअघि यस्तो तमासा सायदै देखिन्थ्यो ।

‘बाँच्नु पर्छ, अनेक देख्न पाइन्छ’ भन्थे, स्थानीय तहको निर्वाचन नामक मलमासले गर्दा शहरदेखि गाउँसम्म यसपटक यस्तो छनक देख्न पाइएको छ । यसपटकको निर्वाचन प्रचारप्रसारमा राजनीतिक दलका एजेन्डा र प्रतिबद्धताभन्दा पनि नाचगान र होहल्ला नै प्रतिस्पर्धात्मक देखिएको छ ।

सायद समय फेरिएर हुनुपर्छ, समाजलाई आफूतर्फ आकर्षित गर्न प्रायः सबै राजनीतिक दलहरूले यो शैलीलाई गज्जबैसँग प्रदर्शन गरेका छन् । यो तरिकाले उनीहरूलाई कस्तो परिणाम दिन्छ भन्ने निर्वाचनको नतिजाले प्रष्ट पार्ने नै छ । सबै ठाउँमा अपनाइएको यो विधि कतिपय स्थानहरूमा भने अस्वाभाविक पनि देखिएको छ ।

वैशाखे खडेरीको मारमा परेका बस्तीहरू, कतै हुरीबतासले छानो उडाएर उदांगो बनाएको छ । कतिपय घरहरू आगलागीबाट क्षतिग्रस्त बनेका छन् । यद्यपि, यी बस्तीहरूमा पनि दलहरूको बाजागाजासहितको निर्वाचन प्रचार–प्रसारले निरन्तरता पाएको छ । यो अलि अस्वाभाविक र असुहाउँदो देखिएको छ ।

यहाँनेर ‘मानवीय समवेदना’ हेक्का राख्नुपर्नेमा राजनीतिक दलहरू चुकेका छन् । आमजनताका तमाम सपनाको अचार पिसेर खाने बानी परेका नेपालका राजनीतिक दल र नेताहरू जनतासँग सबैभन्दा नजिकिने भनेकै निर्वाचनमा हो । त्यसैमा पनि विपत्तिको मार सहिरहेको बस्तीमा बाजागाजासहित जाँदा कस्तो सन्देश जाला ?

प्रचारमा हिँड्ने कार्यकर्ताका मुखबाट एजेन्डाभन्दा पहिले ह्वास्सै जाँड रक्सीको गन्ध पुग्छ । उम्मेदवारहरू टिकटक बनाउनै व्यस्त देखिन्छन । प्रायः सबै पार्टीको बलेँसी चहार्ने बानी लागेका, झण्डा समाएर रमाएकाहरू ‘अब कुन चोकमा पुगेपछि मासु–रक्सीको व्यवस्था छ ?’ भन्ने सम्झिँदै थुक निलेर बसेका छन् ।

मुख्यतः दलहरू अहिले यस्तै प्रचार–प्रसारको आधुनिक शैलीमै रमाइरहेका छन् । विभिन्न दलसँग भएका गठबन्धनले गर्दा यसपटक मतपत्रमा मतदान गर्न त्यति सजिलो छैन । जनतालाई मतदान शिक्षा दिनुपर्ने ठाउँमा कम्मर मर्काएर हिँड्ने नेताहरू विजयी भएमा समाजले कस्तो रुपधारण गर्ने हो ? यसका लागि हामीले जेठ पहिलो हप्तासम्म कुर्नैपर्ने हुन्छ ।

अबको केही महिनापश्चात सुरु हुने वर्षासँगै तराई–मधेसमा बाढी र पहाडी इलाकामा पहिरोले आतंक मच्चाउँछ । सयौं नागरिक घरबारबिहीन बन्नुपर्छ । आम नेपालीका लागि यो विपद् चलिआएकै रीतजस्तो बनेको छ । यद्यपि, यो निर्वाचनको बेजोड माहोलमा यतातिर कसैको ध्यान पुगेको छैन ।

आफ्नै स्तुति गाउँदै देउसीभैलो, जोडजोडले आवाज निकालेर आतंकपूर्ण बाइकहरूको र्याली, आफ्नो पार्टी र उम्मेदवारहरूको शब्दहरूले भ्याएसम्म देवत्वकरण, भ्यूटावर, सडक पिच र सबैलाई रोजगारीको हावादारी गफ दिइरहेका छन् । जनताको जिवनस्तर उकास्ने साना–तिना विषयलाई कसैले पनि उठाएका छैनन् ।

अहिलेसम्म देखिएको निर्वाचनपछिको परिणाम भने, एउटा कुनै पार्टी, त्यसभित्रको पनि कुनै गुट र गुटभित्रका पनि केही ‘खास’ मानिसहरूले जितेका छन् । सत्ता सुखभोगबाट बञ्चित हुने कार्यकर्ताले पनि हारेकै महसुस गर्छन् ।

यो अवस्थामा भुइँ तहका आमजनताको भागमा सुरक्षित हुने भनेको हार नै हो । अहिलेसम्म यिनै जनताले मतदान गरेर धेरैलाई जिताए । जित्नेहरू फेरिन बेरै लागेन । यद्यपि, राज्यको पिँधमा पीडाको सिरानी हालेर छट्पटाइरहेका दुःखीजनको ख्याउटे अनुहारमा कहिल्यै उज्यालो छाउन सकेन ।

राजनीति युद्धजस्तै उत्तेजक तर, युद्धभन्दा धेरै खतरनाक हुन्छ । युद्धमा हामी एक चोटीमात्र मारिन सक्छौँ, तर राजनीतिमा भने हामी बारम्बार मारिन्छौँ । देशमा विशुद्ध पूँजीवादी शासन भइदिए अलिक बिसेक हुन्थ्यो होला ।

परन्तु यहाँ दलाल–पूँजीवादले दोहन गर्दैछ । त्यसले जनतालाई थप कष्ट र पीडा थप्ने छ । समाजलाई थप भ्रष्ट तुल्याउने छ । चोरलाई डाँका बनाउने छ । समुदाय नै भ्रष्टीकृत भएपछि अरु के–के हुन सक्ला ? त्यो कुरो प्रष्ट नभए पनि सहजै अनुमान लगाउन सकिन्छ ।

खासमा जब राजनीति अनैतिक हुन्छ तब अदृश्य धुर्तताको खेलमा सीमित हुन पुग्छ । हामी जति आशावादी बनेर सुदिनको पर्खाइ गर्दछौँ, त्यसको तेब्बर गतिमा बेथितिले छलाङ हान्छ । हुन त मुहान सफा भए पो धारामा पानी स्वच्छ आउनू !

प्रतिक्रिया दिनुहोस्