Logo
Logo

निर्वाचनपछि कहाँ जान्छन् नेता ?



मौसम उही, समय उही । बैशाखको तेस्रो र चौथो साता । सडकमा प्रहरी तैनाथ । गाउँ फकर्नेको लर्को । गत वर्ष र यो वर्ष केही यस्ता मिल्दाजुल्दा दृश्य देखिए ।

तर, परिस्थिति फरक । गत वर्ष कोरोना महामारी । यो वर्ष चुनाव । अघिल्लो वर्ष कोरोना नियन्त्रणका लागि खटिएका थिए प्रहरी । यो वर्ष निर्वाचनको सुरक्षाका लागि । पोहोर जनता भोकले गाउँ फर्किए । अहिले भोटले । पोहोर पैदल यात्री । अहिले दैलो-दैलोमा गाडी !

मोबाइल उही, नम्बर उही, व्यक्ति पनि उही ! तर, फोन डायल गर्ने र रिसिभ गर्ने फेरिए । रिङव्यक्टोन फेरियो ।

गत वर्ष जनताले फोन गर्थे । नेतालाई दिक्क ! अहिले नेताले फोन गर्छन् । जनता रिसिभ गर्दैनन् ! गत वर्ष रिङव्यक्टोन बज्थ्यो- ‘कोरोना महामारीबाट बच्न सबैले सामाजिक-भौतिक दुरी कायम गरौं, स्वास्थ सुरक्षाको मापदण्ड पालना गरौं ।’

अहिले पनि बज्छ- ‘निर्वाचन आचरसहिंताको सबैले पालना गरौँ, आचारसहिंताविपरीत कार्यहरू नगर्न÷नगराउन निर्वाचन आयोग अनुरोध गर्दछ ।’

खाटी कुरा- दलहरूले जनतालाई भोट बैंकमात्रै बनाए । नेताको कुरा ‘कुरा एकातिर कुम्लो बोकी अर्कैतिर’ उखानजस्तै भो । निर्वाचन आउँछ, नेता आउँछन् । निर्वाचन सकिन्छ, नेता हराउँछन् । जनताको हरसमस्या र दुःखमा साथै दिने प्रतिबद्धता सकिन्छ । र, जनतालाई लागिरहन्छ- निर्वाचनपछि कहाँ जान्छन् नेता ?

गत वर्ष युवा बेरोजगार ! अहिले सबै रोजगार ! कोही म्यादी, कोही कार्यकर्ता ! म्यादी होस् या कार्यकर्ता सबै व्यस्त !

गत वर्ष कोरोना महामारी नियन्त्रण गर्ने सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्यो । अत्यावश्यक बाहेकका सेवा, पसल र यातायात बन्द भयो । मानिस घरभित्रै थुनिए । पढ्न, व्यवसाय गर्न र मजदुरीका लागि सहर बसेकाहरूको रासनपानी सकियो । खर्च सकियो । निषेधाज्ञा बढ्दै गयो । विचल्ली भए । सुखको सहरले दुःख दियो । अभरमा परे । भर दिने कोही भएनन् ।

सहरले को आफ्नो, को विरानो ? चिन्दैन भन्थे । प्रस्ट पारिदियो । सहरले दुःखमा साथ नदिएपछि विकल्पको खोजि भयो । उत्तम विकल्प निस्कियो, आफ्नै गाउँ ।

सर्वसधारण पैदल नै गाउँ फर्कन थाले । चर्को घाम, खालीखुट्टा ! खुट्टामा ठेलै-ठेला ! चरचरी फुटेका पैताला ! रगत बगिरहने ! हिँड्न सक्ने अवस्था थिएन । तर, बाँच्ने रहर पनि थियो । बाँच्ने आशामा रगत बगेको मतलव भएन । रुमालले बाँधेर हिँडिरह्यो ।

महलमपट्टी लगाइदिने कोही थिएनन् । सञ्चारमाध्यमसँग गुनासो पोख्थे । ‘दुःखका बेला नेताहरूले हेरेनन्, अलपत्र पर्दा पनि वास्ता गरेनन्,’ दागा धर्दै भन्थे, ‘नेताहरू निर्वाचनमा भोट माग्न त आउलान् नि ! हामी पनि जानेका छौं !’

जनताका दुखेसाहरू सञ्चारमाध्यमा आउँथ्यो । सरकारलाई विश्वास लाग्दैनथ्यो । अचम्ममा पर्थ्याे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भन्थे- ‘सरकार नै नपुग्नेको ठाउँमा पत्रकार चाहिँ कसरी पुग्छन् ?’

कोरोना निणयन्त्रका लागि सरकारले गरेको निषेधाज्ञाका कारण कोही भोकभोकै मरे । भारी बोक्दै जीवन गुजारा चलाउँदै आएका सूर्यबहादुर तामाङले अन्तिम सास सडकमै फेरे ।

मृत्युपर्यान्त राज्यसँग कुनै नाता गाँस्न नसकेका सूर्यबहादुर सरकारको खातामा हिजो गुमनाम थिए, आज पनि बेनामे छन् ।

सडकमा मजदुरको चित्कार सुनिन्थ्यो- ‘आज काममा जान पाइनँ । बेलुका के खाने ? बालबच्चालाई भरै के खुवाउने ?’ आँशुका धाराहरू रोकिँदैन थियो । तत्कालीन सरकारले भने ‘कोही भोकै पर्दैन, भोकै कोही मर्दैन’ नारा घन्काइरह्यो ।

यी कुराहरू कोट्याउनुको पछाडि एउटै मात्र कारण छ- नेताले जनता सम्झने भनेको निर्वाचनमा मात्रै रहेछ ! कोरोना महामारीजस्ता महाविपतमा गुमनाम बनेका नेता अहिले जनताका दैलोदैलोमा पुगेका छन् । नक्कली सारथि बनिरहेका छन् ।

देशमा विपत्ति र असाधारण परिस्थिति सृजना हुँदा नेता सत्ताको हानाथापमा व्यस्त थिए । कोरोना महामारीमासमेत सरकार फेरबदलको खिचातानी चल्यो । जनताको स्वास्थ कसरी बचाउने भन्दापनि सत्ताबाट कसरी हटाउने, कसरी टिकिरहने भन्ने खेल चलिरहयो ।

अहिले, कोरोनाकालमा टुहुरो बनेका जतनाको देखावटी अभिभावकत्व लिन खोज्दैछन् नेता । चरचरी फुटेका पाइताला सामाजिक सञ्जालमा हेरेर बस्नेहरू अहिले गाँउ फर्कन गाडीको व्यवस्था गरिरहेका छन् । पार्टीको झण्डा तथा ब्यानरले सजिएका गाडी गाउँ-गाउँ पुग्दैछ ।

सामाजिक सञ्जालमा पार्टीको झण्डासहित टुरिष्ट बसको फोटो राखेर पोस्ट्याइरहन्छन्- चुनाव लाग्यो है, म त गाउँ जाँदैछु, इत्यादी । उतबाट फोन गरेर भन्छन्- ‘चुनवामा त जसरी भएपछि आउनुपर्छ है !’

चुनावको बेला दैलोसम्म गाडीको व्यवस्था गरिदिनेलाई अरुबेला एम्बुलेन्स मिलाइदिन आग्रह गर्दा कानमा तेल हाल्छन् । सुत्केरी व्याथाले छटपटाइरहँदा कुनै पार्टीको झण्डावाला एम्बुलेन्स आउँदैन । स्टेचर आउँदैन । नेता आउँदैनन् । कार्यकर्ता आउँदैनन् ।

‘१२ वर्षमा खोला फर्किन्छ’ भन्छन् । तर, खोलाभन्दा चाँडै फर्कन्छन् हाम्रा नेता, पाँच वर्षमा । कहिलेकाहीँ निर्वाचन पनि संगिनी सुईजस्तै लाग्छ । एकपटक लगाएपछि पाँच वर्षसम्म नेतालाई ढुक्का !

निर्वाचन नजिकिएसँगै नेता घर-घरमा आउँछन् । नमस्कार गर्छन् । खुट्टै ढोग्छन् । भोट माग्छन् । अघिपछि मतलव नगर्नेहरू जनतालाई भगवान भन्दै पुर्काछन् ।

विभिन्न तामझामसहित उम्मेदवार गाउँ-गाउँ धाउँछन् । चर्को आवाजमा दललाई देवत्वकरण गरिने गीत बजाउँछन् । नेता-कार्यकर्ताको दौडधुप हुन्छ । तर, अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धता कति पूरा भए ? जनताको सारथि बन्न सक्यौँ कि सकेनौँ भनेर कहिल्यै समीक्षा गर्दैनन् ।

उनीहरूको मौखिक र देखावटी व्यवहार, आचरण, बोलीचाली, कार्यशैली, त्याग–तपस्या, बलिदानका कुरा, जनताप्रति देखाएका सेवाभाव, जनभावनाको कदर गरेको देख्दा र सुन्दा भन्न करै लाग्छ- नेता देवो भव ! पार्टी देवो भव ! सत्ता देवो भव !

मौखिक र देखावटी जति नै राम्रा कुरा गरेपनि नेताका मनका कुराचाहिँ यस्तै हुन्छ-

चुनाव आयो
घर-घर जाउँ
चुनाव जितेपछि,
काठमाडौंमा घर बनाउँ
काठमाडौंमै बसौं, खाउँ
पाँच वर्ष रमाउँ !

नेता र पार्टीको घोषणापत्र, प्रतिवद्धता, जनताको सारथी बन्ने बाचा यो त सब भन्ने कुरा न हो ! गर्ने कुरा होइन !

पसिना, रगत र आँसु देशलाई नै दिन्छु भन्ने प्रलोभन र कटिबद्धता पुरानो भयो । देशलाई सिंगारपुर बनाउने पनि पुरानै भयो । अहिले त भन्न थाले- ‘समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो ।’

ठूला-ठूला सपना देखाउँछन् । उधारोमा भोट माग्छन् । जितेपछि हेर्दा पनि हेर्दैनन् । निर्वाचनका बेला दैलो-दैलो आउने नेता अघिपछि आउँदैनन् । खै कहाँ जान्छन् जान्छन् ?

निर्वाचनले अर्को निर्वाचन ल्याउँछ, जित्नेले फेरि जित्ने कोसिस गर्छ, हार्नेले इख राख्छ । तर जति भोट दिएपनि, जसले जितेपनि जनताका दुःख जनतासँगै हुन्छ ।

निर्वाचनताका सडक पिच गरिदिने, एम्बुलेन्स गुडाउने प्रतिवद्धता । चुनावपछि न सडक पिच हुन्छ, न त एम्बुलेन्स आउँछ । सन्चै मान्छे हिड्यो भने पनि बिरामी पर्छन् ।

खाटी कुरा- दलहरूले जनतालाई भोट बैंकमात्रै बनाए । नेताको कुरा ‘कुरा एकातिर कुम्लो बोकी अर्कैतिर’ भन्ने उखानजस्तै भो ।

निर्वाचन आउँछ, नेता आउँछन् । निर्वाचन सकिन्छ, नेता हराउँछन् । जनताको हरसमस्या र दुःखमा साथै दिने प्रतिबद्धता सकिन्छ । र, जनतालाई लागिरहन्छ- निर्वाचनपछि कहाँ जान्छन् नेता ?

प्रतिक्रिया दिनुहोस्