Logo
Logo
विचार

लोकतन्त्रमा एक मतको महत्व



इतिहास र सपना दुवै जीवनका महत्वपूर्ण पाटा हुन् । कुनै बेलाको सपना केही समयपछि इतिहास बन्छ । इतिहासमा फलिभूत सपना पनि हुन्छ, तुहिएको सपना पनि ।

कुनै बेला सपनाले डोर्याएर शहरका मजदूर बस्ती र गाउँका किसानका झुपडीमा पसेका थियौँ– म र मेरा पुस्ताका परिवर्तनकामी मान्छेहरू । कुनैबेला भूमिगत भएर सपना बाँड्ने र निद्राबाट झकझक्याउने काम गर्यौं । कुनै बेला खुला भएरै परिवर्तनका लागि हृदयको आवाज सडकमा पोख्यौँ ।

अहिले इतिहास भइसकेको त्यो बेला– ‘एकदिन म शासक हुन्छु’ भनेर कसैले आफ्नो समय, शक्ति र क्षमताको लगानी गरेका थिएनौँ । सामाजिक न्याय र समृद्धिसहितको लोकतन्त्रको यात्रामा हामी जनता बाँचिरहन सकौँ, अघि बढिरहन सकौँ भन्ने आशय मात्र थियो ।

सामान्य जीवनमा युवावस्था भनेको वृत्तिविकास गर्ने, पैसा कमाउने र जीवनलाई सुविधासम्पन्न बनाउने प्रयत्न गर्ने बेला नै हुन्छ । तर, म र मजस्तै साथीहरू त्योबेला मजदूर बस्तीमा जान खोज्नु के उल्टो सपना थियो ? कसैको प्रभाव थिएन, कुनै पार्टीको निर्देशन थिएन ।

‘अति गोप्यतावादी’ भनेर चिनिने वामपन्थी समूहका नेताले आफ्ना अनुयायी युवालाई त्यत्तिकै धोका दिएर घर न घाटको बनाएर छोडेको बेला थियो । तर, धमिलो धमिलै रूपमा मात्र बुझेको भए पनि म र मजस्तै काठमाडौंबासी मेरा साथीहरू लोकतन्त्र र समाजवादतिर फर्किएका थियौँ ।

निर्वाचनको यो माहोलमा, यो व्यस्ततामा लोकतन्त्रलाई यहाँसम्म पुर्याउन क-कसले कसरी योगदान दिएका छन्, कार्यकर्ताले बोक्ने उनीहरूका ‘सर्वोच्च नेता’ बिराजमान हुने ‘कुर्सी’ तयार हुनमा कतिले आफ्नो जीवनका अमूल्य हिस्सालाई खर्च गर्नु परेको छ भनेर कुरा गर्ने समय यो होइन ।

आफुलाई ‘सर्वहाराकरण’ गरेर क्रान्तिका निम्ति योगदान गर्नुपर्छ भन्ने बुझेका थियौं । त्यो कल्कलाउँदो उमेरमा फेशन गरेर हिँड्नुको सट्टा मैले खद्दरको कपडा र कारखानाको एप्रोन छानेकी थिएँ । हातमा औजार समातेर काम गर्न थालेकी थिएँ । सपनाले डोर्याएको थियो, अस्पष्ट नै भए पनि गज्जबको एउटा सपनाले !

आजसम्म आइपुग्दा वागमतीमा धेरै पानी बगिसकेको छ । आफ्नै उमेरले पनि साठीको दशक नै काट्ने बेला आइपुग्न लागेको छ । समाज र मान्छेका प्रवृत्तिलाई चिन्न अब के पो बाँकी होला र ? त्यो बेलाका मान्छे अहिले भिन्दै भइसकेका छन् । समय, परिस्थिति पनि धेरै फरक भइसकेको छ ।

तर, उबेलाका आफ्ना मात्र हैन अरुका योगदानसमेत भजाएर, सबैको स्वामित्व आफैले लिएर अहिलेको नितान्त फरक परिस्थितिमा पनि फाइदा लिइरहनेहरूको बिगबिगी बढेकोबढ्यै छ । रमाइलो नाटकको दृश्यका रूपमा यी सबै हेर्न नाट्यमञ्च बाहिरका म र मजस्ता केही साथी बाध्य भएका छौँ । कुनै बेला थरीथरीका केही खलनायकले बेस्सरी रिस उठाउँछन् । तर, हामी यो नाटक हो भनेर चित्त बुझाउँछौँ ।

यतिखेर निर्वाचनको माहोल छ । दिनहूँ किसिम किसिमका झण्डा बोकेर, थरीथरीका नारा घन्काउँदै कार्यकर्ताका लावालस्कर लिएर मतदाताको घरदैलोमा उम्मेदवारहरू पुगिसकेका छन् । कहिल्यै नचिनेका र हिजो कसैलाई कुनै सहयोग नगरेकाहरू पनि नयाँ–नयाँ सपना बाँड्दै, ठूल्ठूला प्रतिज्ञा गर्दै विश्वास जित्न खोज्दैछन् ।

यो पनि राम्रै कुरा हो– जीवनमा एकपल्ट राम्रो मानिस बन्ने प्रतिज्ञा गर्नु नराम्रो हुनै सक्दैन । सपना देख्न पाउनु, सपना बाँड्न सक्नु पनि लोकतन्त्रकै सुन्दर पक्ष हो ।

निर्वाचनको यो माहोलमा, यो व्यस्ततामा लोकतन्त्रलाई यहाँसम्म पुर्याउन क-कसले कसरी योगदान दिएका छन्, कार्यकर्ताले बोक्ने उनीहरूका ‘सर्वोच्च नेता’ बिराजमान हुने ‘कुर्सी’ तयार हुनमा कतिले आफ्नो जीवनका अमूल्य हिस्सालाई खर्च गर्नु परेको छ भनेर कुरा गर्ने समय यो होइन ।

तर, अहिले उपभोग गरिरहेको लोकतन्त्रप्रति वफादारी भइएन भने त्यो अपराध हुन्छ । उम्मेदवारले जनतालाई देखाउने सपना भनेको खेलाँची गर्ने कुरा हैन । कसैलाई भोट हाल्नु भनेको अप्रत्यक्ष रूपमै सही, मतदाताले पाँच वर्षका निम्ति आफ्नो जीवनको लगाम सुम्पे जस्तो हो ।

मतदातालाई झुक्याउनु, ढाँट्नु भनेको त नयाँ पुस्ताका साना ठूला नेताले पनि पुरानो पिढीका ‘नेता’ले गरेका पापलाई निरन्तरता दिनु हो । जनतालाई दुःख हुने मात्रै हैन, त्यो पापले त लोकतन्त्रलाई नै मास्न सक्छ । देशलाई नै सिध्याउँछ ।

आखिरमा सबभन्दा बढी हानी हुने त नयाँ पुस्ताका यिनै नेतृत्व आकांक्षीलाई नै हो । ती पनि कतै नबिक्ने जालीमा दर्ता हुन पुग्छन् । मतदातालाई ठग्नु भनेको त लोकतन्त्रलाई विष खुवाएर बिस्तारै बिस्तारै तड्पाउँदै मार्नु हो ।

लोकतन्त्रको यात्रामा हामी अहिले यस्तो क्षणमा आइपुगेका छौँ, जतिबेला फेरि एकपल्ट दल र दलका नेताको चरित्र उदांगो भएको छ । सबैले सबैलाई चिन्न भ्याएका छन् । अनि दलहरू भने एक–आपसमा विष वमन गर्नमै व्यस्त भईरहँदा आफु नाड्गिएको थाहा पाइरहेका छैनन् ।

जनतामा द्विविधा छ– भोट नदिँदा यति दुःख गरेर पाएको लोकतन्त्रको अवमूल्यन पो होला कि ? भोट दिउँ भने कसलाई वा केका भरमा पत्याएर दिने ?

निर्वाचन प्रचारका तरिका हेर्दा जति सस्ता, कुसंस्कारयुक्त, फोस्रा देखिन्छन्– यी जनताका प्रतिनिधि हुन लायक छन् भन्ने आधार कतै देखिंदैन । चिनजानका मान्छे, संस्था, पार्टीबाट अनेक किसिमका प्रत्यक्ष अप्रत्यक्ष दबाव त सायद सबैले भोगिरहेकै बेला होला यो । तर, भोट दिनु अघि धेरै नै विचार नगर्ने हो भने लोकतन्त्रप्रतिको सम्मान कसरी कायम रहन्छ र ?

आफ्नो एक मत भनेको चिनजानको कसैका निम्ति केही समय निकालेर लाममा बसेर छाप लगाउने काम मात्र हैन । यो कुनै रमाइलो कर्मकाण्ड हुँदै हैन । कसैप्रति विश्वास व्यक्त गर्नु हो । र, विश्वासको यो अभिव्यक्ति भनेको आफैप्रति उत्तरदायी भएर मात्र पुग्ने कुरा हैन, आफूलगायत सबै नागरिकको हितबारे सोँचेर गरिने उत्तरदायित्वपूर्ण ठूलो निर्णय हो ।

यसरी आफूले विश्वास गर्न सक्ने कुनै उम्मेदवार देखिएको छैन भने भोट नदिने अधिकार पनि लोकतान्त्रिक अधिकार हो । खराब पात्रलाई लोकतन्त्रको सारथी ठानेर लगाम सुम्पिँदा इतिहासको रथका पांग्र्रालाई उल्टो घुमाउन खोज्नेहरुलाई नै बढी आड मिल्न सक्छ । त्योभन्दा त बरु ‘यसपाली मैले कुनै योग्य पात्र देख्न सकिन’ भनेर साँचो कुरा बोल्नु ठिक हुन सक्छ ।

नजिकिंदै गएको चुनावका बेला सबैका मनमा आफ्नो एक मतको महत्त्व झनै स्पष्ट होस् । लोकतन्त्रको जय होस् ।

प्रतिक्रिया दिनुहोस्