Logo
Logo

तपाईंको एक मतले ‘अपराध अनुमोदन’ नहोस्



निर्वाचन निश्चित उम्मेदवार वा राजनीतिक दलको हार र जित मात्र होइन । लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचनको ठूलो महत्व हुन्छ ।

निर्वाचनले शासन व्यवस्थालाई अद्यावधिक गर्छ, मजबुत बनाउँछ । त्यति मात्र होइन, जनमत शासन व्यवस्था नै परिवर्तन गर्ने ल्याकत पनि राख्दछ । त्यसैले त ‘जनता जनार्दन’ भनियो ।

तर, गलत ठाउँमा मत जाहेर भयो भने के हुन्छ ? त्यस्तो अवस्थामा जनमतले देशलाई गलत दिशाबोध गर्छ । अहिलेको खतरा यो हो ।

स्थानीय तह निर्वाचनको संघारमा छौँ । आफ्नो भविष्य आफैँ निर्धारण गर्ने महत्वपूर्ण समय हो । हामीबाट अलिकति मात्र गल्ती भए ‘आफ्नै हात जगन्नाथ’ हुन्छ । अर्थात, बर्बाद ।

पाँच वर्ष अगाडि नजिकको सरकारको रुपमा नेतृत्व चुनियो । आंशिक रुपमा सरकारी सेवासुविधा प्राप्तिमा सहज पनि भयो होला ! तर, धेरै त निराशाले स्थान बनायो । अर्थात्, संघीयता कार्यान्वयनको सन्दर्भमा हामीले चुनेका नेतृत्वले अपेक्षित काम गर्न सकेनन् ।

भन्नै पर्छ, नेतृत्व चयनका क्रममा विवेक गुम्दा स्थानीय सरकारले अपेक्षाकृत काम गर्न सकेनन् । विवेक गुमेको स्वीकार गर्नुपर्छ । विवेक नगुमेको भए आज यो मात्रामा जनप्रतिनिधिप्रति असन्तुष्ट हुनुपर्ने थिएन ।

गल्ती एकपटक हुन्छ, बारम्बार हुँदैन । बारम्बार नियतले हुन्छ, गल्ती अज्ञान र अन्जानमा । हामीबाट गल्ती भयो या नियतको शिकार भयौँ ? आफैँले समीक्षा गर्नु उत्तम हुन्छ ।

निष्पक्षताको त्यो विन्दुबाट आत्मसमीक्षा गर्दा थाहा हुन्छ । जहाँ वर्तमान समस्याको अन्तर्बोध भएको हुनुपर्छ । आजको आवश्यकता त्यो हो ।
०००

आँखा चिम्लेर सोचौँ–
अघिल्लोपटक अभिमत जाहेर गरेपछिको पाँच वर्षमा के मात्र भएन ? हाम्रो अभिमतको बलमा हाम्रा नेतृत्वले के मात्र गरेनन् ? एउटा कुरुप दृश्य झल्झली आँखामा आउँछ ।

त्यो कुरुप दृश्यले आशाको सञ्चार गर्दैन, विश्वास र भरोसाको क्षितिज देखाउँदैन । देखाउँछ त केवल, निराशाजनक भविष्य ।

आस्था सबैभन्दा माथि हुन्छ । त्यसैले त हामी हाम्रो आस्थालाई सबैभन्दा माथि राख्छौँ । तर, हाम्रो आस्थामा चुक घोलिन्छ । त्यो काम आदर्श नेतृत्वबाट हुन्छ ।

हामीले आस्था राख्ने राजनीतिक दलको नेतृत्वकर्तामा उन्माद सवार हुँदा ठूला संकटहरु आइलाग्छन् । व्यवस्था नै मास्नेसम्मको हर्कत हुन्छ । यस्तै परिस्थिति सामना गर्नुपर्यो । त्यो सम्झँदा आफैँलाई धिकार्न मन लाग्दैन ? पक्कै लाग्नुपर्छ ।

संविधानमाथि प्रहार गर्दै व्यवस्था मास्ने कोसिस भयो । नेपाली राजनीतिमा यो भन्दा ठूलो ‘अपराध’ के हुन्छ ? संविधानमाथि प्रहार गर्ने शक्ति प्रायश्चित गर्न चाहँदैन । बरु, ताजा जनमतको हवलामा ‘अपराध अनुमोदन’ गर्न चाहन्छ । सोचौँ, त्यो अपराध अनुमोदन भयो भने के हुन्छ ?
०००

वर्तमान व्यवस्था बयलगाडा यात्राको उपलब्धि होइन । हजारौँको रगतको मूल्य हो । अपूर्व त्याग र संघर्षको परिणाम हो । प्रत्यक्ष वा अप्रत्यक्ष हाम्रै योगदानको प्रतिफल हो । त्यसैले त हामीलाई वर्तमान व्यवस्थाको माया लाग्छ । त्यसैले त यसको रक्षा हामीले नै गर्नुपर्छ ।

सन्निकट स्थानीय निर्वाचन हाम्रो संघर्ष र बलिदानबाट स्थापित व्यवस्था कार्यान्वयनको ‘सेकेन्ड इनिङ’ हो । यो इनिङमा हामी सचेततापूर्वक प्रस्तुत नहुने हो भने सबै गुम्ने खतरा छ । व्यवस्था नै मास्ने यात्रामा निस्केकाहरुले जिते भने तपार्इंको सन्तानले बगाएको रगतको मूल्य के हुन्छ ? यो प्रश्नको जवाफ आफँैबाट खोज्ने प्रयत्न गर्नुपर्छ ।
०००

वर्तमान व्यवस्था ठूलो राजनीतिक विद्रोहको उपलब्धि हो । आज मान्छेले मान्छे भएर बाँच्ने अधिकार सोही विद्रोहले दिलाएको हो । सम्झनुस्, यो व्यवस्था रहेन भने कति मानिसले मानिसको दर्जा नै नपाई मर्नु पर्ला ? कति नारी अक्षमताको बिल्ला भिरेर बाँच्नु पर्ला ? कति अछूत नै भएर मर्नु पर्ला ?

वर्षौ राज्य बहिष्करणको पीडा खेपेकाहरुले त्यो क्षति पूरताल गर्ने अवसर वर्तमान व्यवस्थाले नै दिलाएको हो । सम्झनुस्, देशले पश्चगमनको दिशा समात्यो भने कुन दलितले समान अवसर पाउँछ ? कुन जनजातिले समानतामा आधारित अवसर पाउँछ ? कुन महिलाले सम्पूर्ण आकाशको हैसियत पाउँछ ? कुन क्षेत्रले समानताको सम्बोधन पाउँछ ? कुन वर्गले उस्तै अवसर पाउँछ ? कसैले पाउने छैन ।

अघिल्लो स्थानिय निर्वाचन नै हेरौँ । महिला नभएको कुन स्थानीय सरकार छ ? कुन स्थानीय सरकार दलितविहीन छ ? कुन सरकारमा आदिवासी जनजाति छैनन् ? सबैमा सबैको समान उपस्थिति छ ।

आज स्थानीय सरकार प्रमुखमा महिलाको दाबी बढेको छ । महिलामा त्यो आत्मविश्वास त्यसै आएको हो ? पटक्कै होइन । वर्तमान व्यवस्थाले स्थानीय सरकार प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य नभनेको भए आज सरकार प्रमुख दाबी गर्ने महिला छिटफुटबाहेक हुँदैनथे ।

अघिल्लो स्थानीय सरकारमा उपप्रमुखको रुपमा काम गरेका महिलाले आज प्रमुख दाबी गरिरहेका छन् । हिज महिला र दलित महिला सदस्यको रुपमा सरकारमा प्रवेश गरेकाहरु आज प्रमुख वा उपप्रमुख दाबी गर्दै नेतृत्व गर्ने क्षमता राख्छन् । यो सानो उपलब्धि होइन । समान सहभागिताको दृष्टिमा, मानव विकासको सवालमा यो युगान्तकारी परिवर्तन हो, अभूतपूर्व उपलब्धि हो ।

के हामीलाई यो व्यवस्था ठीक लागेकै छैन र ? त्यस्तो हुन सक्दैन । योभन्दा उत्तम व्यवस्था अहिलेकै हकमा हामीलाई सम्भव छैन । यदि त्यसो हो भने, वर्तमान व्यवस्थाकै रक्षा र विकास सवैभन्दा महत्वपूर्ण सवाल हो ।

व्यवस्था रक्षा र विकासको सन्दर्भमा एक–एक मतको महत्व हुन्छ । त्यो मत तपार्इंसँग छ, मसँग छ । त्यसैले, ब्यालेट हातमा लिइसकेपछि पनि एकपटक कसलाई मतदान गर्दैछु ? भनेर सोच्नुपर्ने हुन्छ । व्यस्था मास्न खोज्नेहरुलाई मत दिए भने के हुन्छ ? भनेर सोच्नुपर्ने हुन्छ ।
०००

व्यवस्थाको रक्षा र विकास कोबाट सम्भव होला ? यो प्रश्नको एकमात्र उत्तर हुन्छ– ‘जो व्यवस्थाको पक्षमा लड्यो र व्यवस्थाको रक्षा र विकासका लागि लड्छ’ उसैबाट मात्र सम्भव छ ।

निर्वाचन जित्नकै लागि साधुको भेषमा चोर पनि आउन सक्छन् । मिठा–मिठा सपना बढ्नसक्छन् । अनेक आश्वासन दिन सक्छन् । साधुको भेषमा आएका चोरको मिठा सपना र आश्वासनमा प्रभावित भएर उसैलाई मत दिइयो भने के हुन्छ ? यदि त्यसो भयो भने, देशले बर्बादीको बाटो समात्छ ।

आजसम्मका निर्वाचनमा यस्तै हुँदै आएको छ । साधुको भेसमा भोट माग्न आएकाहरु भोट पाएपछि चोरकै वस्त्र धारण गर्छन् । त्यसैले हामीले भन्नु परिरहेको छ– ‘हात जोड्दै भोट माग्न आएकाहरुले भोट पाएपछि ताल मारे ।’ यो भन्दा विडम्बना के हुन्छ ?

सन्दर्भ साधुको भेषमा आएका चोरको मात्र होइन । असली साधुहरुमध्ये पनि उपयुक्त साधु छान्न सक्नु बुद्धिमतापूर्ण निर्णय हुन्छ । अर्थात् राम्रोमध्ये पनि राम्रो छान्ने वा नराम्रोमध्ये पनि कम नराम्रो छान्ने बेला हो । ठीक व्यक्ति छान्न सके हाम्रा सपनाहरुमाथि कुठाराघात हुँदैन ।
०००

प्रदेश वा संघको निर्वाचन जस्तो राम्रो छान्ने समस्या स्थानीय निर्वाचनमा हुँदैन । स्थानीय निर्वाचनका उम्मेदवार चिनेजानेकै हुन्छन् । सबै उम्मेदवारको बानी व्यहोरा सबै थाहा हुन्छ । थाहा नभए पनि छरछिमेकलाई सोध्दा थाहा हुन्छ । त्यसैले पनि स्थानीय निर्वाचनमा ठीक र बेठीक छनोट गर्न सहज हुन्छ ।

यसो भनिरहँदा उम्मेदवारको बानी व्यहोरा मात्र छनोटको आधार बनाइनु गम्भीर गल्ती हुन्छ । बहुदलीय प्रतिस्पर्धा हुने देशमा उम्मेदवारको दलले अवलम्बन गरेको नीति महत्वपूर्ण हुन्छ । किनकी, दलका प्रतिनिधिलाई आफ्नो दलले अवलम्बन गर्ने नीति तथा कार्यक्रममा प्रतिबद्ध हुनै पर्ने बाध्यता हुन्छ ।

यसको अर्थ, बानी व्यवहोरा राम्रो भएकै कारण मात्र कसैलाई मतदान गरियो भने त्यो मतको दुरुपयोग पनि हुनसक्छ । त्यसैले, व्यक्ति मात्र राम्रो छानेर हुँदैन । आफूले छानेको उम्मेदवारको दलको नीति पनि ख्याल गर्नुपर्ने हुन्छ । मेरो मत मेरैविरुद्ध त हुँदैन ? मतदान गर्ने बेला सबैले एकपटक आफैँलाई प्रश्न गर्नुपर्छ ।
०००

स्थानीय निर्वाचनमा स्थानीय मुद्दा नै महत्वपूर्ण हुन्छ । तर, यसपटकको निर्वाचन स्थानीय मुद्दामा मात्र केन्द्रित हुन सक्दैन । यो निर्वाचनले व्यवस्थाको आयु निर्धारण गर्छ ।

राजनीतिक दलले तल्लो तहबाटै शक्ति आर्जन गर्छन् । तल्लो तहको मतले नै माथिल्लो तहको परिणाम निर्धारण गर्छ ।

यदि, प्रतिगमन चाहनो शक्ति तल्लो तहबाटै शक्तिशाली बन्दै आयो भने कसैले रोक्न सक्दैन । देशले प्रतिगमनको बाटो समात्छ । त्यसैले, व्यवस्था मास्न खोज्ने शक्तिलाई तल्लो तहबाटै रोक्नुपर्छ । यो आम मतदाताको महत्वपूर्ण अभिभारा हो ।

प्रतिक्रिया दिनुहोस्