Logo
Logo

कृषि विकास बैंकमा अनियमितता, तीन जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
सडकको ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेको आरोपमा एकजना बैंक कर्मचारी र दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले कृषि विकास बैंक कर्पाेरेट कार्यालयका कर्मचारी छविलाल ढकाल, एमके निर्माण एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजंग शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्राविधिक कार्यालय, भोजपुरको भोजपुर–टक्सार–कोट–गगने–लेखर्क सडक स्तरोन्नति गर्ने ठेक्का एमे वाइपी जेभी कम्पनीले पाएको थियो । कर्मचारीसँगको मिलेमतोमा कामै नगरी आयोजनामा भ्रष्टाचार भएको थियो । त्यसपछि बैंक ग्यारेन्टी जफत गर्दा पैसा नै नभएको खुलेको हो । बैंकका अधिकृत ढकालले पैसा नै नभई एक करोड १० लाख ८० हजार रुपैयाँको ग्यारेन्टी बनाइदिएको खुलेको हो ।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी यसअघि नै सातजनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अख्तियारले भोजपुर जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल, एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजंग शाही, वाइपी कन्स्ट्रक्सनका राजु श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।

बैंकिङ कसुर मुद्दासमेत आकर्षित हुने भएपछि आयोगले सिआइबीलाई पत्राचार गरेको थियो । सोहीअनुसार प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । कर्मचारी र ठेकेदारमाथि अनुसन्धान भइरहेको सिआइबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्