Logo
Logo

नेकपा(दिपक मनांगे) र प्रतिक्रान्ति


- दृष्टि न्युज/संवाददाता


नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको पार्टीको आधिकारीक नाम नेकपा(नेकपा) हो । यस नेकपामा अनेकौं गुण्डागर्दी र अपराधिक मामिलामा पुलिस खोर वारम्वार पुगेका तथा अदालतमा मुद्दा समेत खेपि रहेका वदनाम “डन” दिपक मनांगेलाई असार १९ गते नेकपामा रातो कार्पेट विछाएर प्रवेश गराइयो ।

यस घटनाले नेकपा भित्र प्रतिक्रान्ति भएको तथ्यलाई थप पुष्टि गरेको छ ।

कुनैवेला नेपालका उत्पीडित जनताको कम्युनिष्ट पार्टी रहेको एमाले र माओवादीको उल्टो रुपान्तरण यात्राले तीब्र गति लिएको छ । अब नेकपा(नेकपा) नेपालका उत्पीडित जनताको पार्टी रहेन । यसका केही कार्यकर्ताहरुमा केही भावना वाँकि होला । तर नेकपा(नेकपा) मूख्य रुपमा नेपालको शोषक वर्गको पार्टी वनेको छ । यसले नेपालका उत्पीडित जनताको प्रतिनिधित्व गर्न छोडेको छ ।

यो पार्टीले अब ठुला ठेकेदारहरुको प्रतिनिधित्व गरेको छ । यसले विचौलिया दलाल पूँजीपतिहरुको प्रतिनिधित्व गरिरहेको छ । यसले नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्न थालेको छ । गुण्डाहरु, डनहरुलाई पार्टीमा स्वागत गरेर नेकपाका ठुला नेताहरुले आफ्नो वर्ग पक्षधरता परिवर्तन भएको सन्देश दिएको छ ।

नेकपाको वर्ग पक्षधरतामा भएको प्रतिक्रान्तिका विरुद्ध झिना मसिना आवाजहरु त्यहाँ भित्र उठिरहेको देखिन्छ । तर ती आवाजहरुको कुनै कदर हुने र पार्टी भित्र तीब्र गतिमा भैरहेको प्रतिक्रान्ति रोक्ने सम्भावना अब देखिन्न ।

नेकपाका ठुला नेताहरुले राजतन्त्रको वेलाका शासक वर्ग र कांग्रेसको वेलाका शासक वर्गहरुको स्वार्थ रक्षा गर्न थालेको छ । नेकपाका ठुला नेताहरुले राजतन्त्र र कांग्रेस सरकारको भद्दा नक्कल गरेर शासन प्रशासन चलाउन थालेका छन् । देशमा भ्रष्टाचार चरम सीमामा पुगिरहेको छ । भएको वजेट खर्च गर्न पनि सरकार असक्षम वनेको छ ।

विगतमा पंचायती फासिवाद, कांग्रेस कुशासनका विरुद्ध कठोर संघर्ष गर्ने इमान्दार कार्यकर्ताहरु नेकपाका ठुला नेताहरुको नजरमा नालायक भएका छन् । अब दिपक मनांगे जस्ता नयाँ कार्यकर्ताहरु उनीहरुका प्यारा बनेका छन् ।

दिपक मनांगेलाई नेकपामा रातो कार्पेट विछाउनु नेकपाका नेताहरुको वैचारिक र व्यवहारिक प्रतिक्रान्तिको एक सानो उदाहरण मात्र हो । अबका दिनहरुमा अझ ठुल्ठुला प्रतिक्रान्तिका घटनाहरु देख्न पाइने हुन्छ ।

यी सबै परिघटनाहरुले नेपाली जनतालाई एउटा ठुलो सन्देश दिइ रहेको छ । त्यो सन्देश हो, अब फेरी नयाँ उत्पीडकहरुका विरुद्ध नयाँ आन्दोलन गर्न जनता वाध्य हुनु पर्ने वेला आउँदैछ । मुर्दा वनेका पंचायती फासिवादका शासकहरुले नयाँ अनुहारमा पुनर्जन्म लिइसकेको छ । प्रतिक्रान्ति नेकपाको वाहिरवाट होइन, माओले भन्नु भए झै कम्युनिष्ट पार्टी भित्रैवाट भएको छ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्