Logo
Logo

सत्तारुढ सांसदकै प्रश्नः ‘सरकार भारतसामु झुकेकै हो ?’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए ।

संसदिय दलको बैठकमा अधिकांश सांसदले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गर्ने सरकारको निर्णयको विरोधमा धारणा राखेका थिए ।

भारतको दबाबपछि पर्याप्त प्रयोगशाला नभएको भन्दै सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गर्ने निर्णय गरेको थियो । ‘चाहे आयातित होस् वा स्वदेशी, मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीयुक्त तरकारी र फलफूलमा प्रतिबन्ध लगाउनुपर्थ्यो । तर, सरकारलाई कस्तो बाध्यता आइलाग्यो र रोक्नुपर्‍यो ?’ सांसदहरूले प्रधानमन्त्री ओलीलाई सोधेका थिए, ‘सरकार भारतीय दबाबका सामु झुकेकै हो ?’ उनीहरूले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रहसमेत गरे ।

जवाफमा ओलीले भारतीय सरकारको दबाबमा नभई उपकरण र जनशक्ति अभावले तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको दाबी गरेका थिए । क्वारेन्टाइनका लागि पर्याप्त उपकरण र जनशक्ति नभएको उनको भनाइ थियो । ‘कतै कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परीक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे ! खोइ कसलाई पत्र आयो, कसले पढ्यो त्यो पत्र ? मलाई थाहा छैन,’ ओलीले बैठकमा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्