Logo
Logo

म कसैको गर्लफ्रेण्ड बनेर काम गर्दिनँ- मनिषा सापकोटा, मोडल


- दृष्टि न्युज/संवाददाता


मनिषा सापकोटा, मोडल

फिल्मी क्षेत्रमा ‘सम्झौता’ भन्ने शब्द निकै व्याप्त छ । नयाँ अनुहारलाई ‘हिरोइन नबनौँ रहर छ, बनुँ त निर्माता÷निर्देशकसँग सम्झौताको झमेला’ यस्तै झमेलाले गर्दा मोडल मनिषा सापकोटाले थुप्रै फिल्मको प्रस्ताव लत्याएकी छन् । ‘यहाँ नयाँ अनुहारले कला र समय दिएरमात्र पुग्दैन’ उनी तिक्तता पोख्छिन्, ‘निर्माता÷निर्देशकको गर्लफ्रेण्ड नै बन्नुपर्ने रे । म कसैको गर्लफ्रेण्ड बनेर अगाडि बढ्न चाहन्नँ ।’ मनिषा पछिल्लो समयकी व्यस्त मोडल हुन् । १९ वर्षीया उनी क्यानभाष इन्टरनेशनल कलेजमा स्नातक प्रथम वर्ष अध्ययनरत छिन् । उनी आफ्नै कला र प्रतिभाले अगाडि बढ्न चाहन्छिन् । उनी ग्ल्यामरस क्षेत्रमा लागेको धेरै भएको छैन । तर, कला क्षेत्रको थुप्रै नकरात्मक पक्षको सामना गर्न भ्याएकी छन् । उनलाई म्युजिक भिडियो र फिल्ममा अफर गर्नेको खाँचो छैन । तर, उनी ‘सम्झौता’ चाहदिँनन् । यिनै मनिषा सापकोटासँग एमपी सुब्बाको जम्काभेट :

मनिषा सापकोटा, मोडल

हिजोआज के गर्दै हुनुहुन्छ ?

म्युजिक भिडियोहरुमै व्यस्त छु । तर, अहिले परीक्षा आउन लागेको छ । त्यसैले कममात्र गरिरहेकी छु ।

अध्ययन र मोडलिङलाई कसरी समय मिलाउनुहन्छ ?

पहिलो कुरा त आफ्नो इच्छा हो । इच्छा र रहर भएपछि समय दिन भ्याइने रहेछ । पछिल्लो समय म्युजिक भिडियोहरु पनि छनोट गरेरमात्र गर्छु । अफर त दिनै आएको हुन्छ । तर, मन प¥यो भने मात्र गर्छु ।

कस्ता गीत तपाइँको छनोटमा पर्छन् ?

रोमान्टिक र डान्सिङ बिटका गीतमा मोडलिङ गर्न रुचाउँछु । यस्ता गीतको भिडियोलाई शतप्रतिशत न्याय दिन सक्छु भन्ने मलाई लाग्छ ।

फिल्मतिर अभिनय कतिको आउँछ ?

थुप्रै आइसक्यो । तर, ‘कम्प्रमाइज’का कुराले गर्दा गरेकी छैन । यहाँ नयाँ अनुहारलाई निर्माता÷निर्देशकले त्यतिकै लिन मान्दैनन् । उनीहरुसँग ‘कम्प्रमाइज’ गर्नुपर्ने रे । तर, म कसैसँग त्यस्तो सम्झौता गरेर (गर्लफ्रेण्ड वा श्रीमति) काम गर्दिनँ ।

अहिलेसम्म कति वटा फिल्म रिजेक्ट गर्नुभयो नि ?

यति नै भन्ने छैन । म्यासेन्जरमा कुरा भइरहेको हुन्छ । म सिधै मेरो फोन नम्बर कसैलाई दिन्नँ । म्यासेन्जरमै म्युजिक भिडियो र फिल्मका लागि कुरा भइरहेको हुन्छ । तर, अन्तिममा प्रायले कम्प्रमाइजकै कुरा गर्छन् । मैले किन कम्प्रमाइज गर्ने ? मेरो कला, प्रतिभा छ । यस्तैमा कुरा नमिलेपछि प्रस्ताव छाडिदिन्छु ।

फिल्म प्रस्तावसँगै ‘कम्प्रमाइज’को कुरा सिधै आउँछ ?

हो नि । एक जना चलेकै निर्देशकले आफ्नो फिल्ममा प्रस्ताव राखे अनि उसले ‘म तीन करोड लगानीको फिल्ममा मौका दिँदैछु । त्यसको बदला तिमीबाट म के पाउँछु’ भन्यो । ‘समय र मेरो कला दिन्छु अनि त्यो तीन करोड सबै कलाकार र प्राविधिकका लागि खर्च गर्दै हुनुहुन्छ, मैले अरु के दिनुप¥यो र’ भन्दा तिमीजस्तो मान्छे कोही भेटिनँ भन्दै म्यासेन्जरमा ब्लक ग¥यो ।

त्यसो भए फिल्म प्रस्ताव गर्नेहरुबाट दिक्क हुनुहुन्छ ?

सबै एउटै प्रकारका हुँदैन । केही राम्रा पनि छन् । एउटा फिल्ममा फिक्स जस्तै भएको छ । सायद भदौबाट काम सुरु हुन्छ होला ।

कला क्षेत्रमा लागेर सकरात्मक पक्ष के पाउनुभयो ?

आफू सकारात्मक भएपछि सबै सकारात्मक नै हुन्छ । तर, केही यस्ता मान्छे छन्, जो सम्झौताका कुरा गर्छन् । त्यसैले पनि बाहिरीका मान्छेहरुले यो क्षेत्रलाई राम्रो नमानेको हो । वास्तवमा कला क्षेत्र रामै्र छ । विशेषगरी फिल्म क्षेत्रमा नयाँ अनुहारलाई ‘केही पाउनु केही गुमाउनुपर्छ’ भन्ने ध्येयले हेर्छन् । तर, म त्यस्तो छैन ।

मोडलिङसँगै कलेज पनि पढ्दै हुनुहुन्छ । कलेजमा कतिको जिस्काउँछन् ?

खासै जिस्काउँदैनन् । उल्टै साथीहरुले सर्पोट गर्छन् । भिडियो सार्वजनिक हुँदा कलेजका सरहरुले समेत सेयर गरिदिनुहुन्छ । खुशी लाग्छ ।

जीवनको उद्देश्य के हो ?

म सानैदेखि फिल्ममा हिरोइन बन्ने सौख लिएर आएकी हुँ । तर, अहिलेसम्म नृत्य प्रशिक्षकसम्म भएकी छु । म सोसल वर्कर पनि हुँ । त्यसैले एक कुसल कलाकार भनेर सोसल वर्क गर्ने मेरो लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्