Logo
Logo
पुस्तक समीक्षाः

बौद्धदर्शनका अध्येता र अनुसन्धाताका लागि उपयोगी



पत्रकार बालकृष्ण चापागाईँले गत वर्ष लुम्बिनी विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभयो । आफ्नो अध्ययन अनुसन्धानको सामग्रीलाई ‘बौद्धदर्शन र सञ्चार’को नामबाट कृतिका रूपमा ल्याउनुभयो । शाक्यमुनि बुद्धद्वारा प्रतिपादित धर्मदर्शन र त्यसले विश्वमा पारेको प्रभावका आधारमा आमसञ्चारको पाँचौंँ सिद्धान्तका रुपमा शान्ति सिद्धान्तको नयाँ अवधारणाको विवेचना कृतिमा गरिएको छ ।

बुद्ध र उनका शिक्षा, उपदेश, दर्शन र धर्मलाई अहिंसा र शान्तिका रुपमा मात्र बुझिरहेकाहरुले वास्तविक सिद्धान्त बुझ्न थाले भने जटिल र अनौठा विषय भेटाउन थाल्छन् । बुद्ध स्वयंले आफ्नो बुद्धत्व कठिन मानेर सुरुमा आफूमा मात्र सीमित राख्न चाहेको भए पनि कसैले उनी लोकमा मानवको उद्धार गर्न जन्मेको भनेर सम्झाइदिएपछि आफ्नो ज्ञान प्रचारमा लागेको भनाइ बौद्ध साहित्य भेटिन्छ ।

पहिलोपटक ज्ञान पाउनेले नै जटिल भनेको विषयलाई अरूले कति बुझ्ने हुन् र तिनले फेरि अरूलाई कसरी बुझाउने हुन्, भन्न गाहै्र छ । विविध विषयमा सामान्य ज्ञान मात्र राख्ने पत्रकारमाझ चापागाईँले बौद्धदर्शन वा धर्म जस्तो जटिल विषयमा प्रवेश गरेर आफ्नै कार्यक्षेत्र सञ्चारसँग जोडेर पिएचडी गर्नु पत्रकारहरूका लागि पनि गौरव र प्रेरणाको विषय हुँदै हो, राज्यसत्ताको विकासक्रमसँगै विश्वमा आमसञ्चारका पनि विभिन्न सिद्धान्त जस्तै निरङ्कुशतावादी, उदारवादी, सामाजिकउत्तरदायित्व र साम्यवादी सिद्धान्तबारे अध्ययन भइरहेका अवस्थामा आएको सञ्चारको शान्ति सिद्धान्त आमसञ्चारकर्मीका लागि पनि उत्सुकताको विषय हो ।

बौद्ध धर्म वा दर्शनका प्रचारमा पहिले बुद्ध स्वयं लागेका थिए । आफ्ना अनुयायी तयार गरी यसको प्रसारमा योगदान गरेका थिए । चतुर्आर्यसत्यका रुपमा रहेका दुःख, दुःखका कारण छ, दुःख हटाउन सकिन्छ र दुःख हटाउने उपाय छन् भन्ने सिद्धान्त र दुःखलाई हटाउने आर्यअष्टाङ्गिक मार्ग(सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि अर्थात् प्रज्ञा, शील र समाधि) बुझ्न सकेमा बौद्धदर्शनको मर्म सामान्य रूपमा बुझ्न सकिन्छ ।

त्यस कार्य बुझाउने प्रतीत्यसमुत्पाद सिद्धान्तले भने अज्ञान वा अविद्याका कारण जन्मने तृष्णा हटाउन सके निर्वाण वा मुक्ति पाउने जनाउँछ । यस जगत्को मुख्य समस्या नै दुःख हो र त्यसमा फसिरहेका मानिसलाई उद्धार गर्न बाटो देखाइदिने बुद्ध हाम्रै भूमिमा जन्मेर एशियाका प्रकाशबाट विश्वका ज्योतिसम्म बन्न सफल भएका थिए ।

आफ्नो राजकीय भोगविलास त्यागेर संसारका मानिसको मुक्तिका लागि बाटो देखाइदिने बुद्धलाई पहिले नेपालभूमि र नेपालीले बुझ्न सक्नुपर्छ र अरूलाई चिनाउन सक्नुपर्छ । पत्रकार चापागाईँले मोटै पुस्तकबाट बुद्ध र बौद्धदर्शनबारे बुझाउन धेरै प्रयास गर्नुभएको छ । खासगरी बौद्धधर्मको प्रचारक लागि अपनाइएका बौद्धकालीन सञ्चार व्यवस्था तथा वर्तमान सञ्चार प्रणालीको प्रस्तुतिमा बौद्धदर्शन र शान्तिको विषयसँग जोडेर गर्नुपर्ने मुख्य कुरा कृतिमा उल्लेख गरेका छन् ।

बौद्धदर्शनको शाश्वत आधार भनेको दुःख हो । बौद्धदर्शनमा निहित तत्त्वहरूको लोकप्रियता र व्यापकताका निम्ति समसामयिक सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ । आधुनिककालमा पनि सञ्चारको भूमिका उत्तिकै रहेको छ र भविष्यमा पनि रहिरहने छ । कृतिमा विभिन्न विद्वान्हरूका कृतिका अध्ययनबाट प्राप्त प्रामाणिक आधार, ज्ञान, शिक्षा एवम् समग्रमा पूर्वसाहित्यका रूपमा रहेका सामग्रीको प्रशस्त समीक्षा गरिएको छ ।

समाजमा असल विचार सञ्चारित हुँदा सभ्य समाज निर्माण भई शान्ति प्राप्त हुन्छ । विश्वमा बौद्धदर्शन मानवकल्याण र शान्तिको पथप्रदर्शकका रूपमा स्थापित छ । यसलाई जनमानसमा प्रभावकारी सञ्चार गराउन सक्दा मानिसमा सकारात्मक सोच र चिन्तनको विकास भई विश्वशान्ति स्थापना हुन सक्ने लेखकको अभिप्राय छ ।

बुद्ध आफ्नो जीवनकालमै विश्वकल्याणकारी विचारलाई मानव समाजमा सम्प्रेषित गरी सकारात्मक प्रभाव दिन सफल भएका थिए । महापरिनिर्वाणपछि आफ्ना शिष्य एवम् अनुयायीले उनका विचारलाई मानव समाजमा पुर्याएका थिए । बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म विश्वकल्याणकारी उपदेश जीवनपर्यन्त दिइरहे । उनको महापरिनिर्वाणपछि ती विचारलाई संरक्षण र संवद्र्धन गर्ने काम उनकै शिष्य र अनुयायीबाट सुरु गरियोे, विभिन्न सङ्गायन(बौद्धभेला) गरिए, बौद्ध शैक्षिक प्रतिष्ठान तथा सङ्घसंस्था स्थापना गरिए ।

महापरिनिर्वाणको पहिलो वर्षमै सम्पन्न प्रथम सङ्गायनदेखि छैटौँ संगायन (सन् १९५६) सम्म आइपुग्दा बौैद्धधर्म–दर्शनको विकास एव विश्वमा यसको प्रभाव विस्तार भएको पाइन्छ । यसको विकास र विस्तारमा मानवीय सञ्चारका तत्त्व एवम् प्राचीनकालदेखि चलिआएका सञ्चारका विभिन्न तरिका एवम् साधन र आधुनिक सञ्चारमाध्यमका रूपमा विकसित छापा, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट जस्ता नयाँ सूचना प्रविधि एवम् न्यु मिडियाको प्रयोगले विश्वमा बौद्धदर्शनको प्रचारप्रसारमा तीव्रता आएको पाइन्छ ।

उनले तर्क, बुद्धि, विवेक, न्याय र प्रज्ञामा आधारित ज्ञान÷उपदेश दिए र मानिसका लागि स्वतन्त्रता, सामाजिक न्याय र समानतामा जोड दिए । बौद्धदर्शनका नयाँ परिभाषाका रूपमा वैभाषिक मत, सौत्रान्तिक मत र माध्यमिक मतलगायत अनेकाँैं मत तथा हीनयान, महायान, वज्रयान जस्ता सम्प्रदायको पनि विकास भएको पाइन्छ ।

शाक्यमुनि बुद्धका शान्ति र समभावका विश्वव्यापी दृष्टिकोणको प्रचारप्रसारमा विभिन्न सञ्चारको उपयोग गरियो । जीवनपर्यन्त विश्वकल्याण र शान्तिको सन्देशबाहक बनेका गौतम बुद्ध शान्ति सञ्चारको अग्रनायकका रूपमा रहेको पुस्तकमा उल्लेख छ ।

बुद्धका विचारले विश्वराजनीति, द्वन्द्व व्यवस्थापन र शान्तिका लागि प्रभाव पारेको देखिन्छ । विश्वका विभिन्न मुलुकमा बौद्ध दर्शनलाई आधार मानेर राज्य सञ्चालनका लागि मार्गदर्शनका रूपमा लिएको समेत पाइन्छ । विश्वशान्तिको कुरा आउनेबित्तिकै बुद्धका विचारको महत्त्वबारे स्वाभाविक चर्चा हुने गर्छ । संयुक्त राष्ट्र सङ्घले समेत बुद्धका विचारलाई मार्गदर्शनका रूपमा स्वीकार गरेको पाइन्छ ।

विश्व–शान्तिका बारेमा विभिन्न सिद्धान्तको चर्चा, व्याख्या र विवेचना भएको पाइए पनि बौद्ध दर्शनको आलोकमा शान्तिका लागि सञ्चारले खेल्दै आएको भूमिकाबारे उच्च महत्त्वका साथ आवश्यक चर्चा र विवेचना भएको छैन । लुम्बिनी विश्वविद्यालयबाट सो विषयमा विद्यावारिधि गरेर लेखकले ‘सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन र औचित्य पुष्टि गराएको छ ।

सो सिद्धान्तले विश्वका राज्य सञ्चालकबाट सञ्चार नीति बनाउँदा र सञ्चारमाध्यममा विषयवस्तु प्रस्तुत गर्दा समाजमा शान्तिका लागि योगदान पुग्न सक्ने सूचना, समाचार र विचारलाई उच्च महत्त्वका साथ सञ्चारित गर्न आवश्यक ठानेको छ ।

लेखकले बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार रहेको तथा स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइएको जनाउँदै आफ्नो कालमा आधुनिक सञ्चारमाध्यमको विकास नभए पनि सूचना, समाचार र विचार सम्प्रेषण गर्ने विभिन्न तरिकालाई बुद्धले प्रयोग गरेका थिए । तिनमा पहिलो अन्तर्मुखी सञ्चार, दोस्रो अन्तर्वैयत्तिक सञ्चार, तेस्रो समूह सञ्चार पद्धति र चौथो धर्मसभाहरूलाई प्राचीन आमसञ्चारका रूपमा प्रयोग गरेको कृतिमा उल्लेख छ ।

हिंसा र द्वन्द्वग्रस्त आजको विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेका अवस्थामा वैज्ञानिक शान्ति मार्ग बौद्ध–दर्शनमा रहेको जनाउँदै आधुनिक सञ्चारमाध्यमले मानिसलाई सरल र प्रभावकारी ढङ्गले वैज्ञानिक विधि र शैलीद्वारा बौद्ध दर्शनबारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुने विश्वास लेखकले गर्नुभएको छ ।

“विश्व–शान्तिका लागि बौद्ध–दर्शन र सञ्चार परिपूरकका रूपमा रहेका छन् । यसलाई सँगै जोडेर समान रूपमा अगाडि बढाउन आवश्यक देखिन्छ । बुद्धका विचारको प्रभावकारी सञ्चार हुँदा समाजमा शान्ति स्थापना हुने देखिन्छ ।

…विश्वमा देखा परेको मानव–मानवबीचको वैमनस्यताको न्यूनीकरण र नैतिक जीवनका लागि प्रेरित गर्ने गरी छापा, चलचित्र, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, अनलाइनका साथै पछिल्लो समयमा सूचना–प्रविधिको विकाससँगै आएका सामाजिक सञ्जालले बुद्धका विचारहरूलाई आम जनताका बीचमा सरल र सहज ढंगले बुझ्ने गरी प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ ।

सञ्चारमा शान्ति सिद्धान्तका प्रतिपादक एवं व्याख्याता डा चापागाईँको सुझाव छ । आमसञ्चारमा आफ्नो नयाँ सिद्धान्तले विश्वव्यापी प्रभाव पार्ने र विश्वका विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा यसले उचित स्थान प्राप्त गर्ने विश्वास पनि लेखकको छ ।

बौद्धदर्शनका अनेक आयाम सूक्ष्म र विस्तृत चर्चाका साथ उठाइएको कृति पत्रकारका लागि सङ्ग्रहणीय त छँदै छ, बौद्धदर्शनका अध्येता र अनुसन्धाताका लागि पनि उपयोगी पनि छ । विद्यावारिधिमा प्रक्रिया पुर्याउन लेखिने अनेक प्रसङ्ग अहिले कृतिका रूपमा ल्याउँदा हटाइदिएको भए धेरै पृष्ठ छोटिने कुरालाई लेखकले हेक्का राख्न सक्नुपथ्र्याे ।

डा. सदीक्षा चापागाईं प्रकाशक रहेको उक्त कृतिमा अति नै पुनरुक्ति दोष छन् र वर्णविन्यासमा पनि प्रशस्तै अशुद्धि पाइन्छन् । जे होस्, यसले अन्य पत्रकारलाई पनि नेपाली भूमिबाट जन्मेको बौद्धदर्शनको अध्ययनअनुसन्धान गर्न र अरू विषयमा पनि विद्यावारिधि गर्न प्रेरणा भने अवश्य दिने छ ।

प्रतिक्रिया दिनुहोस्