Logo
Logo

दूतावासको पत्रपछि विषादी परीक्षण रोक्ने निर्णय गलतः बामदेव गौतम


- दृष्टि न्युज/संवाददाता


नेकपाका सचिवालय सदस्य बामदेव गौतमले नेतृत्व गर्ने भातृ संगठन अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्रचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै आपत्ति जनाएको छ ।

संघको संयोजक समेत रहेका नेकपा नेता बामदेव गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको निर्णयको आलोचना गरेको हो ।

विज्ञप्तिमा यो निर्णयले नेपाल सरकार भारतसँग आत्मसमर्पण गर्न पुगेको भन्ने भ्रम फैलन पुगेको भन्दै विगतमा किसान विरोधी नीति लाद्ने प्रमुख प्रतिपक्षी दल सडकमा उत्रने अवस्था आएको उल्लेख गरिएको छ ।

वक्तव्य

नेपाल सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णय भएको र त्यसका विरुद्ध भारतीय राजदुतावासद्वारा सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेकोमा अखिल नेपाल किसान महासंघको आज बसेको स्थायी समितिको बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।

भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पुराउने रासायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताहरुले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगरेका कारणले हामीसंग भएको द्रुत विषादी मापन यन्त्रबाट परिक्षण गर्न आरम्भ गर्नु परेको हो । नेपाल अल्प विकसित राष्ट्रभएको नाताले नेपाल सरकारले अहिले पनि विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने विषयमा छुट पाउने वेहोरा भारतीय राजदुतावासलाई जानकारी हुनुपर्ने हो । भारतीय दुतावासले नेपाल सरकारलाई दिएको पत्रले नेपाली किसानको उत्पादन माथि हस्तक्षेप गरेकाले अखिल नेपाल किसान महासंघनेपाली किसानहरु तथा आमउपभोक्तको हित रक्षा गर्ने अधिकार राख्दछ ।

आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो । परन्तु भारतीय राजदुतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण छ । यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ । नेपाली काँग्रेस लगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदुतावासको पत्राचारको विरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन । यसले जनतालाई थप भ्रम सिर्जना हुन पुगेको छ । नेपालबाट भारततर्फ निर्यात हुने तरकारी तथा फलफूलहरुमा विषादी परीक्षण गर्नुपर्ने प्रावधानहरु कायमै छ ।

यस परिप्रेक्ष्यमा अखिल नेपाल किसान महासंघ नेपाल सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरुको विषादी पुनः परीक्षण सुरु गर्न र नेपाली आमउपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरु सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र आम उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण गर्न जोड्दार माग गर्दछ ।

वामदेव गौतम
संयोजक
अखिल नेपाल किसान महासंघ

प्रतिक्रिया दिनुहोस्