Logo

ओली दम्भको अवसान




स्थानीय तह निर्वाचन २०७९ छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भयो । विजयी अधिकांश पालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । मतदाता धेरै भएका महानगरमा मतगणना अन्तिम चरणमा पुगेको छ ।

अघिल्लो पटक २ वटा महानगरपालिकाको मेयर जितेको एमालेले यसपटक ६ वटै गुमाएको छ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसका नागेश कोइराला निर्वाचित भइसकेका छन् । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले निर्वाचित हुँदैछन् । भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेनु दाहाल निर्वाचित भइसके । अन्य महानगरको अन्ति मतिजा आउने लाग्यो । सबैमा गठबन्धन नै विजयी हुने निश्चित भयो ।

जनमतअनुसार २०७४ को स्थानीय तह निर्वाचनमा ४० प्रतिशतभन्दा बढी पालिका जितेर पहिलो भएको नेकपा (एमाले) दोस्रो स्थानमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा जितेको भन्दा एमालेले यसपटक झन्डै सय पालिका गुमाएको छ ।

नेपाली कांग्रेस एमालेलाई धेरै पछाडि पारेर पहिलो मतसहित एक नम्बरमा उक्लिएको छ भने, नेकपा माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा स्थापित भएको छ । गठन भएको सात महिना मै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो उपस्थिति दह्रो बनाएको छ ।

स्थानीय तह निर्वाचनको मतपरिणामले ‘म सत्य हुँ, अरु सबै मित्थ्या’ भन्ने ओली दम्भको अवसान भएको छ । ‘एमाले भनेकै ओली र ओली भनेकै एमाले’ भन्ने भाष्य पनि पूर्ण रुपमा असफल भएको छ ।

एमाले दोस्रो स्थानमा खुम्चिनुको मूख्य कारण पार्टी विभाजन नै हो । यसका साथै ओलीको व्यक्तिवादी सोच, दम्भ र घमण्डले काम गरेको छ । निर्वाचनमा एमालेलाई ताछ्ने ठूलो हतियार नेकपा (एकीकृत समाजवादी) बन्यो ।

विभाजनको जिम्मेवार इतरपक्षलाई देखाएर ओलीले आफू अझै शक्तिशाली बन्ने उद्घोष गरेका थिए । तर, जनताले ओलीको दम्भ र घमण्डलाई गोप्य मतदानबाट तोडिदिएका छन् । ओलीको घमण्ड पूर्ण रुपमा तोडिएको छ ।

एमालेले अहिलेसम्म प्राप्त गरेको शक्ति पार्टी निर्माणमा रगत, पसिना बगाएका हजारौँ योद्धाको योगदानमा आधारित छ । ओलीले गरेको कुकृत्यको परिणाम त एमालेले भोग्न बाँकी नै छ । अब पनि संगठन र नेतृत्वको विषयमा आत्मसमीक्षा गरेर अगाडि नबढ्ने हो भने ६ महिनापछि हुने प्रदेश र संघीय निर्वाचनमा एमाले बढारिने निश्चित छ ।

स्थानीय तहको अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । त्यतिबेला एमाले एकतावद्ध थियो । एकताकै जगमा स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो ।

प्रदेश र संघीय निर्वाचनको संघारमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि दुईतिहाइ हाराहारीमा सांसद जित्न सफल भएको थियो । तर, ओलीले त्यो जितलाई वामपन्थी एकताको बलमा नभइ आफ्नो व्यक्तिगत लोकप्रियताको आधारमा भएको बुझे ।

दम्भ र घमण्डकै कारण ओली नेतृत्वको तत्कालीन सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन । परिणमस्वरुप तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै होइन, एमालेसमेत विभाजित भयो । तर, ओलीले विभाजनले कुनै असर नपर्ने जिकिर गर्दै ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेका थिए । तर, ओलीको दाबी विपरित एमाले २६.९ प्रतिशतमा खुम्चिएपछि कार्यकर्ता उदास देखिएका छन् ।

मतपरिणामले ‘म सत्य हुँ, अरु सबै मित्थ्या’ भन्ने ओली दम्भको अवसान भएको छ । ‘एमाले भनेकै ओली र ओली भनेकै एमाले’ भन्ने भाष्य पनि पूर्ण रुपमा असफल भएको छ ।

अहिलेको मतपरिणामको आँकलन नेता घनश्याम भुसालले निर्वाचन अघि नै गरेका थिए । त्यसैले पार्टीको आधिकारिक बैठकले भुसालले वाम गठबन्धनको विषय उठाएका थिए । तर, ओलीले भुसालको प्रस्तावलाई नसुने झै गरिदिए ।

त्यतिबेला ओलीले भनेका थिए– एमाले क्वीन्टल हो, पाँचदलीय गठबन्धन पाँच ढक हो । तर, निर्वाचन परिणाम पछि ओली मौन बसेका छन् । गत जेष्ठ ३ गते आयोजित ओली मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पनि ओली देखिएनन् । आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पनि ओलीले राजनीतिक कुरा गरेनन् ।

यदि, वामपन्थी एकता वा गठबन्धन भएको भए पहिलो स्थान वामपन्थी दलहरूले जित्ने थिए । अहिले पनि सबै वामपन्थी पार्टीको निर्वाचित पदाधिकारीको संख्या जोड्ने हो भने कांग्रेसको भन्दा बढी नै हुन्छ । तर, वामशक्ति विभाजित बन्दा कांग्रेसले फाइदा लिइरहेको छ ।

यो मतपरिणाम वामपन्थीका लागि शिक्षा हो । यसर्थ, नेपालको कम्युनिष्ट आदोलनलाई सही दिशामा अगाडि बढाउन कार्यकर्ता तहबाटै नेतृत्वमाथि हस्तक्षेप आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्