Logo

नेकपामा कार्यविभाजन, पुरानै भागबन्डा


Published On : 11 July, 2019

काठमाडौं , २५ अषाढ ।

नेकपाले जिल्ला इन्चार्ज–सहइन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ। साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज/सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी नेकपाले गरेको हो।

यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ। अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला इन्चार्जको कार्यविभाजनका लागि तयार पारेको प्रस्तावमा नेपालले असहमति जनाइ दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान लिएपछि साविक कमिटीकै इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै जिल्ला इन्चार्ज बनाउने गरी समझदारी जुटेको हो।

अहिले समझदारी जुटाएको विधिका आधारमा कार्यविभाजन गर्दा जनप्रतिनिधि वा अन्य जिम्मेवारीमा रहेका केन्द्रीय नेता पनि पार्टी जिल्ला इन्चार्ज–सहइन्चार्जको जिम्मेवारीमा आउन सक्ने छन्।

वरिष्ठ नेता नेपालसँग बसेर कार्यविभाजनको मापदण्ड र विधि तय भएपछि अध्यक्षद्वयले तत्कालीन एमाले र माओवादीका नेताहरूलाई जिल्ला इन्चार्जको भागबन्डा के–कसरी गर्ने भन्नेमा पनि मोटामोटी छलफल भएको छ। यसो गर्दा ७७ जिल्लामध्ये जिल्ला कमिटीको पदाधिकारी चयनकै संख्याको हाराहारी हुने गरी जिल्ला इन्चार्जको पनि भागबन्डा हुने गरी समझदारी नजिक पुगेको नेताहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्