Logo
Logo

‘सुनकोशीको पानी, तेमालबासीको जिन्दगानी’


- दृष्टि न्युज/संवाददाता


काभ्रेपलाञ्चोक, २६ असार । तेमाल क्षेत्रका बासिन्दामा खानेपानीका लागि सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएको छ । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् ।
‘आउँदो माघ महीनाभित्र खानेपानी अयोजनाको काम सम्पन्न हुँदैछ, तेमालको एउटा ठूलो सपना साकार हुनेछ’, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष संग्रामजीत लामाले बताए ।
२०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मंसिरमा सक्ने लक्ष्य राखिए पनि केही ढिला हुने देखिएको छ । लामाले भने, ‘द्रुत गतिमा काम भइरहेको छ, तर थोरै ढिला हुन्छ कि, सकेसम्म निर्धारित समयम सक्ने याजनामा पनि छौँ ।’ तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ ।

तेमाल बृहत् खानेपानी आयोजना स्थानीयको सुखद् जीवनसँग जोडिएको आधाबाटाका इन्द्र तामाङले बताए । उनले भने, ‘सुनकोशीको पानी भनेको तेमालबासीको जिन्दगानी हो ।’ उनका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका बासिन्दा विस्थापित हुनेथिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो ।
कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९० प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९० प्रतिशत, गाउँपालिकाको रु एक करोड र स्थानीय उपभोक्ता प्रतिपरिवार रु एक हजार लगानी रहेको छ ।
आयोजनाको नदीमा ‘फिल्टर’ गर्ने चारवटा ट्यांकी र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटा वितरण ट्यांकी निर्माणाधीन अवस्थामा रहेका छन् ।

संघीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालय हेटौँडाका प्रमुख नन्दकुमार बञ्जाडेका अनुसार आउँदो माघभित्र आयोजना सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ । उनले सुनकोशी नदीबाट प्रतिसेकेण्ड २० लिटर पानी मुख्य रिजर्भ ट्यांकीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यिक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिने बताए । उनका अनुसार आयोजनाको लिफ्टिङका लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् ।
उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूँखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थान, चापाखोरी र मेच्छे तथा नमोबुद्ध नगरपालिकाको दुई वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । उनका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्यांकी, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्