Logo
Logo

हारको दोष कार्यकर्तामाथि


6.8k
Shares

आफू लोकप्रिय रहेको र त्यसको जगमा नेकपा (एमाले)ले ६० प्रतिशतभन्दा धेरै पालिका जित्ने दाबी निर्वाचनअघि अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । तर, निर्वाचन परिणामले एमालेलाई २७ प्रतिशतमा खुम्च्याइदिएको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले अघिल्लो निर्वाचनमा जितेका झन्डै सय सिट गुमाएको छ । अझ महत्वपूर्ण मानिएका ६ वटै महानगरको नेतृत्वमा एमाले निल भएको छ । विगतमा एमालेको किल्लाको रुपमा विरासत बोकेका पालिकाहरुमा समेत एमाले यसपटक पराजित भएको छ ।

एमाले पराजित भएपछि अध्यक्ष ओलीको प्रतिक्रिया थियो– कार्यकर्ताले अन्तर्घात गरे । पराजयको नैतिक जिम्मेवारी लिनुपर्नेमा उल्टै ओली पानी माथिको ओभानो बन्न खोजिरहेका छन् । जबकि, देशभरका वडा अधिवेशनमा पनि आफैँ प्रमुख अतिथि बनेर ओलीले सम्बोधन गर्दै आएका थिए ।

आफ्नै कारणले एमालेले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा एमालेले दुईतिहाइ बहुमत ल्याउने उत्तेजक भाषण गर्दा पनि कार्यकर्ताले ताली पिटिरहेका थिए । तर, अहिले ओलीलाई देवत्वकरण गर्ने कार्यकर्ता पनि एकपटक सोच्न बाध्य भएका छन् । किनभने, हारको नैतिक जिम्मेवारी आफूले नलिएर कार्यकर्तामाथि थोपरेका छन् ।

एमाले नेता पराजय भए पनि जनमत एमालेकै पक्षमा रहेको भ्रम फैलाइरहेका छन् । यो कार्यकर्ता झुक्याउने कुरा हो । एमालेले हारलाई स्वीकार्न नसक्नु र हारेपछि पनि जनमत एमालेकै पक्षमा छ भन्नु निर्लज्जताको पराकाष्ठा हो ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा एमाले पराजित भएपछि तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।

इमान्दार कार्यकर्ताले अहिले ओलीसँग पनि त्यही अपेक्षा गरेको छ । तर, ओली भने कार्यकर्तालाई दोष लगाउँदै बदनाम गराउन उद्त छन् । विडम्बना, एमालेमा लामो समय रगत–पसिना बगाएका कार्यकर्ता पीडित बन्न विवश छन् ।

एमालेको मूल समस्या नेतृत्वमा छ । तर, ओली खुट्टाको उपचार गरेर टाउकोको रोग निको पार्ने दुस्प्रयासमा लागेका छन् । संसद् विघटन, केन्द्रीय र प्रदेश सत्ताबाट बहिर्गमन र स्थानीय निर्वाचनमा पराजयसम्मको समग्र समीक्षा गर्न ओली अझै तयार छैनन् ।

असंवैधानिक रुपमा दुई-दुई पटक संसद विघटन गरेर दुईतिहाइ हाराहारीको जनमतको अपमान, चरम व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी भड्काउ, दम्भ र घमण्डलगायका कारण मूख्य हुन् ।

त्यही कारण नेकपा मात्र होइन, एमालेसमेत विभाजित भएको विषय इतिहासको पानामा दर्ज भइसकेको छ । स्थानीय निर्वाचनमा एमाले पराजित हुनुको मूख्य कारण एमालेबाट विद्रोह गरेर स्थापना भएको नेकपा (एकीकृत समाजवादी)ले चलाएको मतको हतियार नै हो ।

संघीय निर्वाचनसम्म पुग्दा एमाले तेस्रो शक्तिमा खुम्चिने आधारहरू देखिदै छन् । तर, ओलीले एक्लै जित निकाल्ने अभिव्यक्ति दिन अझै छाडेका छैनन् । चुनावमार्फत सत्ता–राजनीतिमा फर्कने चाहना राखे पनि ओलीका सबै रणनीतिमा एकपछि अर्को धक्का लागेको छ ।

आलोचना÷आत्मालोचना, समीक्षाजस्ता शब्द एमालेको शब्दकोषबाट हराउँदै गएको छ । मूलतः एमाले अहिले राजनीतिक पार्टीको रुपमाभन्दा पनि एनजीओको भूमिकामा केन्द्रित भएको छ ।

ओलीलाई १७औँ शताब्दीको युरोपको तानाशाहजस्तो बन्ने अहंकार जागिरहेको छ । युरोपमा शक्तिशाली तानाशाहीहरू जसरी ढलेका थिए, ओलीका कारण एमाले पनि त्यसरी नै ढल्दै छ ।

त्यसको स्पष्ट संकेत पार्टी विभाजनपछिका संघसंस्थाको अधिवेशन वा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनले गरिसकेको छ । पराजयमा पनि विजय देख्ने एमालेमा अनौठो रोग देखापरेको छ ।

यस्तो दृष्टिकोणविहीन सोचले एमालेलाई अझै नोक्सान हुने देखिन्छ ।
२०७४ सालको स्थानीय निकाय निर्वाचनमा एमाले एक ढिक्का भएको हुँदा एक्लैले ४० प्रतिशतभन्दा बढी स्थानीय तह जितेको थियो ।

त्यसपछि सम्पन्न प्रदेश र संघको निर्वाचन माओवादीसँगको गठबन्धनबाट जितेको थियो । त्यो जित एकताको बलमा भएको थियो । अहिले एमाले आफै विभाजन भएको अवस्था छ ।

त्यसमाथि माओवादीसँग भएको एकता भाँडिएको अवस्था छ । यस्तो अवस्थामा एमाले ‘भाइ फुटे गवार लुटे’ भनेझैं भएको छ । अझै एमाले महासचिव शंकर पोखरेलले जनमतको हिसाबले एमाले पहिलो पार्टी भन्दै आएका छन् ।

यो कार्यकर्ता झुक्याउने कुरा हो । एमालेले हारलाई स्वीकार्न नसक्नु र हारेपछि पनि जनमत एमालेकै पक्षमा छ भन्नु निर्लज्जताको पराकाष्ठा हो ।

प्रतिक्रिया दिनुहोस्