Logo
Logo

हङकङमा ‘केः’ प्रदर्शन हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार । लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘केः’ हङकङमा प्रदर्शन हुने भएको छ । यही १४ जुलाई अर्थात आइतबार हङकङको जोर्डनस्थित याउ मा तेई कम्युनिटी हालमा ‘केः’को विशेष प्रदर्शन हुन लागेको हो । फिल्म प्रदर्शनका लागि उक्त फिल्मकी अभिनेत्री बबिता फोम्बो, याक्थुङ हाक्पारे पालम सयङकी अध्यक्ष रुपा आङबुहाङलगायतका टोली हङकङ पुगिसकेका छन् ।
हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल–२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई फोम्बो परिवार हङकङले त्यहाँ प्रदर्शन गर्न लागेको हो ।
सागर केरुङ निर्देशित फिल्म ‘केः’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘केः’ अर्थात च्याबु्रङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म माता पाथीभरा फिल्मस् प्रालिका लागि टाइसन केरुङले निर्माण गरेका हुन् ।
फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्