
एकताका पूर्वमा वामपन्थीहरूको ‘लाल किल्ला’ र साङ्घाइ शहर भनेर परिचय बनाएको धरानले यसपटकको स्थानीय तह निर्वाचनमा वामपन्थी उम्मेदवार नराम्ररी बाइपास गर्यो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारले जितेको धरान उपमहानगरपालिकामा उपनिर्वाचनमा कांग्रेस विजयी भएको थियो । ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयरमा निर्वाचित भएपछि धरानको चर्चा फेरि एकपटक देश विदेशमा भइरहेको छ ।
सामान्य स्वतन्त्र उम्मेदवार साम्पाडलाई नगरवासीले मेयरमा निर्वाचित गराएर कांग्रेस, एमाले लगायतका राजनीतिक दलहरूलाई गतिलो सवक सिकाएका छन् । यो परिणामले राजनीतिक दललाई चुनौती थपिदिएको छ ।
टोल–टोलमा समेत संगठन विस्तार गरेका र राष्ट्रिय स्तरसम्म पहुँच भएका सत्ताधारी दलका उम्मेदवारलाई साम्पाङले फराकिलो मतान्तरका पाखा लगाए । नगरको विकृति विसंगतिविरुद्ध सडकमा एक्लै आन्दोलन गर्दै आएका साम्पाङले उपमहानगरपालिकाको मेयर जित्नु चानचुने कुरो होइन ।
त्यसैले त, आफ्नो पार्टीको उम्मेदवार हारेर साम्पाङले जित्दा पनि प्रायः सबै पार्टीका कार्यकर्ताले खुसी मनाइरहेका छन् । धरानका पुराना पत्रकार महेश श्रेष्ठ भन्छन– यसबाट जनता मात्रै होइन, राजनीतिक दलका कार्यकर्तासमेत पार्टीका पदाधिकारीप्रति कति बिरक्तिएका रहेछन भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
खानेपानीले डुवायो दलहरूलाई
धरानको सडकमा उक्लै भाषण गर्ने एउटा सामान्य मान्छेले कसरी यत्रो भोट ल्यायो भन्ने कौतुहलताको पछाडि लाग्ने हो भने खानेपानी समस्याको मुद्धा एक नम्वरमा आउँछ । १ लाख २५ हजार जनसख्या भएको धरानको सबैभन्दा ठूलो समस्या नै खानेपानी हो ।
गत वर्षसम्म धरानलाई नेपाल खानेपानी संस्थानले पानी वितरण गर्दै आएको थियो । संस्थानकै अकर्मण्यताका कारण धरानमा पानीको समस्या चर्किएको थियो ।
पानीको श्रोतहरू सुक्दै गए पनि नयाँ श्रोत खोज्ने योजना संस्थानसँग थिएन । न त बजेट नै थियो । जम्बो कर्मचारी पालेर बसेको संस्थानले तीन दशकदेखिको पुरानो पाईप र ट्यांकीको भरमा पानी वितरण गर्दै आएको थियो । त्यसमा पनि ४० प्रतिशत चुहावट थियो ।
यसैबीच, पानीको समस्या समाधान गर्न धरानका सामाजिक संघसंस्थाको पहलमा एशियाली विकास बैंकको अनुदान सहयोगमा झन्डै अढाई अर्व रुपैयाँको एकीकृत शहरी विकाश आयोजना अन्तर्गत योजना आएको थियो ।
पाँच वर्षमा योजना सम्पन्न भई ठेकेदार कम्पनीले धरान खानेपानी व्यवस्थापन वोर्डलाई बुझाइ सकेको छ । यता, मेयर अध्यक्ष भएको खानेपानी वोर्ड गठन भएपछि धरानबाट खानेपानी संस्थान पनि विस्थापित भइसकेको छ ।
तर, यसअघि नेपाली कांग्रेसबाट मेयर भएका तिलक राई र नेकपा एमालेका तत्कालीन उपमेयर मन्जु भण्डारीले वोर्डलाई पारदर्शी ढंगले सचालन गर्नुको सट्टा खानेपानी संस्थानले जस्तै अनुभवहीन कार्यकर्ता भर्ती केन्द्र बनाउन थालेपछि पानी वितरणमा समस्या देखा पर्याे । फलस्वरुप जनतामा आक्रोश बढ्न थालेको थियो ।
सोही आक्रोशलाई साथ दिँदै हर्क साम्पाङको सानो समूहले निरन्तर नगरपालिका घेर्ने, ज्ञापनपत्र दिने काम गर्दै आएको थियो । यसैबीच, स्थानीय निर्वाचन मुखैमा आइसक्दा पनि ठूला राजनीतिक दलले पानीको अभाव हुनुको कारणबारे स्पष्ट पार्न सकेनन ।
अन्ततः त्यसको फाइदा पानीको लागि राजनीतिक दलको विरोधमा उत्रिएका साम्पाङले लिएको विश्लेषण हुने गरेको छ ।
बद्नाम उम्मेदवारले डुबायो
पानीको समस्या, वीपी प्रतिष्ठानको भ्रष्टाचार, अनियमितता जस्तो सार्वजनिक चासोको विषयदेखि एमसीसी परियोजना, सीमा विवाद जस्तो राष्ट्रिय विषयमा एक्लै विरोध गर्दै आएका हर्क मेयरमा चुनाव लड्ने मनस्थितिमा थिए ।
नेपाली कांग्रेसले गठवन्धनको तर्फवाट नगरको पार्टी सभापतिमा दुईपटक हारेका, जलाधार क्षेत्रको जग्गा विवादमा मुछिएका फुटबल खेलाडी किशोर राईलाई टिकट दियो । राम्रो छवि भएका नेता कार्यकर्ता छुटे ।
कांग्रेसले टिकट वितरणमा सन्तुलन मिलाउन नसक्दा दुई पूर्ववडा अध्यक्ष पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेर । दुई मध्ये वार्ड नं १४ मा र वार्ड न ६ मा कांग्रेसका बागी उम्मेदवारले विजय हाँसिल पनि गरे ।
नेकपा एमालेले पनि मनोज मेन्याङ्बो जस्तो लोकप्रिय नेतालाई टिकट दिनुको सट्टा ५ वर्षसम्म उपमेयर भएर अपजस मात्र कमाएकी मन्जु भण्डारी जस्ता ओलीगुटका मान्छेलाई टिकट दिएपछि एमाले पंतिm भित्र असन्तुष्टिको लहर फैलिएको थियो ।
यसरी दुवै पार्टीका उम्मेदवार कमजोर र विवादास्पद भएपछि मतदाताले हर्क साम्पाङ जस्तो स्वतन्त्र उम्मेदवारलाई भोट दिएर विवेक प्रयोग गरे ।
यस कुराको पुष्टि चुनावको नतिजालगतै पार्टी र मतदाताले जाहेर गरेको भनाइहरुबाट थाहा हुन आउँछ । पार्टीले जस्तोसुकै व्यतिmलाई उठाए पनि जित्छौँ भन्ने कांग्रेस र एमालेको दम्भलाई हर्कको विजयले भंग गरिदिएको छ ।
हर्क साम्पाङको मेहेनत
लाहुरे परिवारमा जन्मिएका हर्क साम्पाङ हक्की, निडर र राम्रा वक्ता हुन् । खानेपानी, वीपी प्रतिष्ठान, जलाधार क्षेत्रजस्ता धरानको जल्दोबल्दो जनचासोको विषयलाई लिएर उनी प्रश्न गर्थे ।
पहिला छातीमा प्लेकार्ड टाँसेर सम्वन्धित निकायको अगाडि उभिन पुग्थे । आफनो कुरा राख्न नपाए समूह बनाएर भएपनि ध्यानाकर्षण गराउन उनी पछि पर्दैनथे ।
खानेपानी संस्थानलाई खानेपानी बोर्डमा गाभ्दा उनले जलाधार क्षेत्रको मुहानमै गएर खुकुरीले पाईप काटिदिएका थिए । त्यति वेला उनलाई पक्रेर एक हप्ता थुनिएको थियो ।
त्यसैगरी नगरपालिकाले ढुगा–गिटी–वालुवा ठेक्का दिँदा सर्दु खोलामा हर्क साम्पाङको समूह रोक्न गयो , त्यो बेला ठूलै झडप भएको थियो । उनका केही साथीहरू धाइतेसमेत भएका थिए । तर, उनी घटनापछि फरार भए ।
त्यतिबेला उनलाई प्रहरीले एक महिना खोजेको थियो । तर, फेला पर्न नसकेपछि उक्त केस आफैँ मिल्यो ।
पानीको विषयमा नगरपालिका र खानेपानी कार्यालय घेराउ कार्यक्रम त दर्जनौ पटक भएको थियो । जसको नेतृत्व सधै हर्क साम्पाङले गर्थै । उनले आफनो हरेक गतिविधिलाई जनता सामु पुर्याउन भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्थे ।
धरानका तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनमा पनि हर्क मेयरका उम्मेदवार थिए । त्यो बेला नगन्य मत पाएका हर्कले मेयर सपना त्यागेनन् ।
स्थानीय तह निर्वाचन भन्दा एक वर्षअघि नै उम्मेदवार घोषणा गरी चोकचोकमा आफनो प्रचार गर्न निस्किसकेका थिए । जबकि, दलको तर्फबाट मेयरको उम्मेदवार को हुने भन्ने कुरा कोरा अनुमानबाहेक चुनावको एक महिना अघिसम्म पनि कसैलाई थाहा थिएन ।
कसैसँग नडराउने हक्की स्वभावका हर्क साम्पाङले यो चुनावमा लगभग ५–७ हजार मत ल्याउलान् भन्ने धरानेहरूको अनुमान थियो । तर, मतपरिणाम ठिक उल्टो भयो ।
यसको पछाडि राजनीतिक दलप्रतिको वितृृष्णा त छदै थियो त्यसबाहेक उनलाई राजनीति पार्टी मन नपराउनेदेखि सबै धरानेले मत दिए ।
हर्कको चुनौती
अभियन्ताको रुपमा हर्क स्वतन्त्र थिए । त्यसैले मनमा लागेका र जनताको मनमा उब्जेका प्रश्नहरु निर्भिक र स्वतन्त्र रुपमा राख्थे । त्यसैले उनी धराने जनतको मनमा बसेका हुन् ।
प्रश्न गर्नु जस्तो जवाफ दिनु सजिलो हुँदैन । हिज निर्धक्क प्रश्न गर्ने हर्क आज सोचेर जवाफा दिने ठाउँमा पुगेका छन् । त्यसैले हर्कलाई धरान सम्हाल्न सहज छैन, चुनौतीपूर्ण छ ।
जसरी इमानदारपूर्वक प्रश्न गर्थे त्यसरी नै इमानदारपूर्वक काम गर्ने हो भने हर्कलाई जनताले साथ दिन सक्छन् । तर, सत्ताको स्वादमा दलका उम्मेदवार जस्तै रम्न थाल्ने हो भने समृद्ध धरानको परिकल्पनामा ब्रेक लाग्न सक्छ ।
अनेक दृष्टिले धरानको पहिचान फरक छ । धरानलाई सुन्दर नगरी पनि भनिन्छ । तर, खाने पानी समस्या सुन्दर मानिएको धरानको ‘कुरुप तस्बिर’ हो । र, धनरानको भविष्य यसैसँग जोडिएको छ । अर्थात खाने पानी धरानको मर्म बन्यो ।
आज हर्कको लोकप्रियता ‘मर्मकै मुद्ध’का कारण चुलिएको हो । अरु मुद्धा पनि छन तर मुख्य चाहिँ खानेपानी नै हो । यो समस्या मात्र समाधान गरे पनि हर्क सफल हुनेछन् । तर, त्यति सहज छैन ।











