Logo
Logo

प्रसूतिगृह र वीर अस्पतालको पुनर्निर्माण सम्पन्न, प्रम ओली र उपप्रम यादवद्वारा उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसूतिगृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गर्नुभयो ।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रसूतिगृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण गरिएको प्रसूतिगृहमा १८२ शैया रहेका छन् भने वीर अस्पतालमा ९४ शैया छन् । यी दुइवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधासम्पन्न भवनबाट प्रसूतिगृहले पु¥याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणा अनुसार अत्याधुनिक र सुरक्षित भवन बनेकोमा खुशी व्यक्त गर्नुभयो ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसूतिगृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसूतिगृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि आज उद्घाटन गरिएका जस्ता अस्पतालको पुनर्निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रसूति गृह र वीर अस्पतालको पुनर्निर्माणले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गरेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्था, निजी आवास, शैक्षिक संस्था, सम्पदा लगायतको पुनर्निर्माणमा धेरै काम भइसकेको बताउँदै बाँकी काम पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पुननिर्माण सम्पन्न भएका अस्पतालहरुबाट सेवा प्रवाह पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रसूति गृहका निर्देशक जागेश्वर गौतमले भूकम्पपछि अस्पतालले दिने सेवा सुविधा खुम्चिएकोमा पुनर्निर्माणपछि पुनस्विस्तार भएको बताउनुभयो। उहाँले अस्पताल पुनर्निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो । २०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माणको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्