Logo
Logo

यसरी प्रदान गरियो ‘राष्ट्रिय चलचित्र पुरस्कार’ (विवरणसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असार । चलचित्र विकास वार्डले एकैसाथ तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट विभिन्न कलाकारलाई पुरस्कृत गरेको छ । विकास वार्डको १९औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार राष्ट्रपति भवन शितल निवासमा विशेष समारोहबीच पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७५’बाट निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार र सम्मानपत्रसहित ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ । कार्यक्रममा २०७५ सालमा रिलिज भएका चलचित्रमध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो ।
जसमा उत्कृष्ट चलचित्रको पुरस्कार ‘गोपी’ले पाएको छ । ‘उत्कृष्ट निर्देशक’तर्फ ‘बुलबुल’बाट बिनोद पौडेलले पुरस्कार पाएका छन् भने ‘उत्कृष्ट अभिनेता’को पुरस्कार विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट प्राप्त गरेका छन् । विपिनले ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७३’का लागि ‘उत्कृष्ट अभिनेता’को पुरस्कार समेत पाए । यस्तै, २०७३ बाट चलचित्र ‘डाइङ क्याण्डल’मार्फत अभिनेत्री सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।
कार्यक्रममा ‘उत्कृष्ट अभिनेत्री’तर्फ स्वस्तिमा खड्काले ‘बुलबुल’बाट पुरस्कार हासिल गरेकी छन् भने सम्पादनतर्फ चलचित्र ‘साँइली’का लागि निमेष श्रेष्ठले पुरस्कृत भएका छन् । उत्कृष्ट छायाँकनतर्फ ‘समर लभ’बाट सञ्जय लामाले राष्ट्रिय चलचित्र पुरस्कार पाए ।
उत्कृष्ट लेखन विधामा कथातर्फ दिपेन्द्र लामा ‘गोपी’बाट पुरस्कार पाए भने यही चलचित्रबाट पटकथा तथा संवादमा सामिप्यराज तिमिल्सिनाले पुरस्कृत भएका छन् । पुरस्कृतहरुलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन् ।
कार्यक्रममा जुरी प्रोत्साहन सम्मान चलचित्र ‘भोर’बाट पूजा कर्णलाई पुरस्कार प्रदान गरिएको छ घने चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान ‘छक्का पन्जा–३’को निर्माण कम्पनी आमा सरस्वती मुभिजलाई दिइएको छ । उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी)को पुरस्कार रिजे नासाँले पाएको छ । विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्