Logo
Logo

बाढी गाउँ पस्यो, एक हजार घरपरिवार विस्थापित


- दृष्टि न्युज/संवाददाता


लहान, २८ असार । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् ।
डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका–१२ स्थित सारस्वर, वडा नं ६ स्थित बसबिट्टा र कल्याणपुर–१२ गम्हरियाकट्टीलगायतका अधिकांश ठाउँ डुबानमा परेका छन् ।
गाउँमा जलस्तर बढ्दै गएको र गाउँगाउँमा सडक भत्किएका कारण स्थानीयवासीलाई उद्धार गर्न समस्या भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो । कमला नदीको बाढी सदरमुकाममा समेत पसेपछि जिल्ला प्रहरी कार्यालय, तत्कालीन कृषि विकास कार्यलय, पशु सेवा कार्यालय, विद्युत् प्राधिकरणलगायतका अधिकांश कार्यालय डुबानमा परेका छन् ।
यस्तै लहान नगरपालिकाका विभिन्न वडामा आएको बाढीले १०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । लहानका वडा नं १, २, ३ र ४ का अधिकांश घर डुबानमा छन् । वडा नं १ र २ का ८० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने वडा नं ४ मा आएको बाढीले घर भत्किँदा तीन घाइते भएका छन् ।
लहानस्थित इलाका प्रहरी कार्यालय, डिभिजनल वन कार्यालय, लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, जलस्रोत कार्यालय, भू–संरक्षणलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् भने पुर्वपश्चिम राजमार्गबाटै पानी बगिरहेकाले यातायात आवागमनमा समस्या भएको छ ।
त्यस्तै मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिकालगायतका स्थानीय तहका अधिकांश वडासमेत जलमग्न भएका प्रहरीले जनाएको छ । बाढीबाट प्रभावित बस्तीमा सुरक्षाकर्मी परिचालन गरी उद्धारकार्यलाई जारी राखेको प्रअिज अधिकारीले बताए ।
लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर बढ्ने क्रम जारी रहेकाले नदी आसपासका आम सर्वसाधारणहरुमा सचेत गरिएको छ भने सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।

बाढीमा फसेका ६ कामदारको उद्धारमा कठिनाइ
कमला नदीको बाढीमा गए रातिदेखि फसेका छ जनाको उद्धारमा समस्या भएको छ । सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोल नजिकै निर्माणाधीन पुलको काममा खटिएका छ कामदार कमला नदीको बाढीमा फसेका हुन् ।
निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका छ जनालाई नदीमा पानीको बहाब अत्यधिक रहेकाले उद्धार गर्न कठिनाइ भएको सिरहाका प्रजिअ अधिकारीले जानकारी दिए । उनले भने, ‘६ कामदार बाढीमा फसेको राति नै खबर आयो, तर नदीमा पानीको बहाब बढिरहेकाले तत्काल उद्धार गर्न समस्या भएको छ, काठमाडौँबाट हेलिकोप्टरसमेत आउन नसक्ने अवस्था छ ।’
पुल र सडक भत्किँदा सडक अबरुद्ध
अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनका प्रहरी नायब निरीक्षक आमिरी यादवले जानकारी दिए ।
शुक्रबार राति बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ भने यात्रुहरु अलपत्रमा परेका छन् । यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्