Logo
Logo
सहिदको सालिकमाथि प्रहार :

किन मौन छन् क्रान्तिकारीहरु ?



एक हुल तमासेबाजहरू गणतन्त्रको ओछ्यानमा ढल्किएर गणतन्त्रकै निधारमा विष्ट्याइरहेका छन् । विगतमा समाजवादको सातु फाँको हालेर निधारमा साम्यवादको अक्षता टाँस्नेहरू आज त्यही अक्षता टकटक्याएर सामन्तवादी रछ्यानमा हामफाल्न तँछाडमछाड गरिरहेका छन् । आफ्नै विश्वासमाथिको धुरीमा आत्मघाती बमगोला हिर्काउँदै उनीहरू निरन्तर अधोगति कुदिरहेका छन् ।

इतिहासको एउटा सुदुर कुनामा बसेर हेर्दा यस्तो लाग्छ– हिजो परिवर्तनका खातिर बगेको रगत त फगत यिनीहरूकै खाल्डा परेका गाला उकास्न पो रहेछ ।

भाषणमा चौबीसै घण्टा विगतका बलिदान, त्याग र समर्पणको रटान लगाउँछन् र व्यवहारमा बेलाबेला उही एकात्मक व्यवस्थालाई समेत उछिन्न खोज्छन् । यता, आफूबाहेक सबै भ्रम ठान्ने र आफू नै सर्वमान्य सम्झिने विगतका क्रान्तिकारीहरूले विचार, सिद्धान्त अनि लक्ष्यलाई सिलौटोमा राखेर अचार पिध्न थालेपछि उता समसानघाटमा सेलाइएको पुरातनले खुट्टा तन्काएर आफू अझै जीवितै रहेको छनक देखाउन थालेको छ ।

परिवर्तनकारी शक्ति भनिनेहरू जति–जति सत्ताको दलदलमा भासिँदै गइरहेका छन्, पश्चागामीहरू त्यत्तिकै मात्रामा आफ्नो कुहिएको अधिपत्य फर्काउने धाउन्नमा कुइनो धँसेर लागेका छन् ।

फलतः छिन्नभिन्न भएर आ–आफ्नै डम्फु ठटाइरहेका विगतका क्रान्तिकारीहरूको लाचारीपनाको फाइदा उठाउँदै मृत राजतन्त्रको प्रेतआत्माले व्यवस्था फेर्न वलिबेदीमा उभिएका महान् सहिदको सालिकमाथि नै प्रहार गर्ने विन्दुसम्म आइपुगेको छ ।

सालिक जोसुकैको होस्, त्यो योगदान र इतिहासको एउटा प्रतिविम्ब हो । भावी पुस्तालाई पढाउने जीवन्त इतिहास हो । सालिक ढाल्नु वा फाल्नु भनेको इतिहासको कडी तोड्नुजस्तै हो । हिजोको राजतन्त्रात्मक व्यवस्थामा घरको भित्तामा ‘गणतन्त्र’ लेखेकै भरमा कयौँको ज्यान गयो ।

रातो रुमाल देखेरसमेत तर्सिने एकात्मक व्यवस्थाले गणतन्त्र उच्चारण गरेकै भरमा कयौं निर्दोष छातिमाथि संगीन रोप्यो । ‘लोकतन्त्र जिन्दावाद’ भन्ने सयौँ मान्छेहरूको जिब्रो थुत्यो । जाति, लिंग, क्षेत्र र वर्गका हिसाबले विभेदको फराकिलो खाडल खनेर कति निमुखाजनहरूलाई जिउँदै पुरियो ।

यद्यपि, यो व्यवस्थामा त्यो गरिँदैन । किनकि, यो लोकतन्त्र हो । यहाँ राजतन्त्र माग्नेहरू पनि खुलेआम बोल्न पाएका छन् । यो व्यवस्था मास्नुपर्छ भन्नेहरू पनि दिउँसै सडकमा जुट्न पाएका छन् ।

बोल्न पाउने जनताको नैसर्गिक अधिकारलाई गणतन्त्रले कुण्ठित गर्दैन । यही भएरै यो व्यवस्थाको उल्टो भैलेनी भट्याउन लगाएर मुनाफा कमाउन तल्लीन मुठ्ठीभर मान्छेहरू अलि मस्तै उखालिन थालेका छन् ।

गणतन्त्रको रापले उनीहरूको तालु डढाएपछि आर्यघाटमा सेलाइएको एकात्मक व्यवस्थाको खरानी बोकेर जनता तर्साउने दुस्साहस गरिरहेका छन् । सर्पले उल्टो सपेराहरूलाई नचाउन खोजेजस्तो अस्वाभाविक अभिनय गर्दै धैँसे डकारझैँ गन्हाउने पुरातन काँधमा बोकेर डुलिरहेका छन् ।

समाज दुर्गन्धित बनाइरहेका यी प्रतिगामीहरूलाई ज्ञान छ कि छैन होला ? गणतन्त्रको विकल्प सम्झिँदै वाकवाकी लाग्ने तानाशाहीतन्त्र नभएर सुदृढ गणतन्त्र नै हो भन्ने कुरा ।

भ्रष्टीकृत भीड र झुन्डहरूले ‘कम्युनिष्ट’ एवं ‘लोकतन्त्र’ शब्दलाई नै यति साह्रो दुरुपयोग गरेका छन् कि– जसले आम जनस्तरमा समेत गहिरो बितृष्णा पैदा भइरहेको छ ।

पुरानो व्यवस्थाको जुठोपुरो टिपेर यहाँसम्म आएका कतिपय छद्यमभेषीहरूले विद्यमान व्यवस्थामा बदमासी गरिरहेका छन् । र सारमा यो व्यवस्था नै गलत हो भन्ने हल्लाखोर मच्चाइरहेका छन् ।

समाजलाई अझै पनि शोषण, विभेद र अन्यायको पैताला मुन्तिर कैद गरेर आफूले सफलताको आकाश चुम्ने यी घातक चिन्तनहरू हिजोकै व्यवस्थाको स्कुलिङबाट जन्मिएका हुन् । यिनीहरूको कर्म भनेकै अग्रगमनविरुद्ध तथानाम बक्दै हिँड्नु हो ।

यिनीहरूले राजतन्त्र फर्काएर देशले अग्रगति लिन्छ भन्नु र हुँडारले बाख्राको पाठोलाई भुँडीभित्र हुलेर सुरक्षा गर्छ भन्नु एकै हो । आफूलाई बडो सभ्यताका परिभाषक सम्झिने यिनीहरू भित्रभित्रै दैनिक कुसंस्कारको पञ्चामृतले स्नान गर्ने गर्छन् । निधारमा धर्मकर्मको चन्दन दलेर मस्तै ठूल्ठूला गफ गर्छन् र सारमा मन्दिरकै मूर्तिहरू तस्कर गरेर लालचको भकारी भर्छन् ।

शालिक इतिहासका प्रतिबिम्ब हुन् । इतिहासमा, शालिकमा, कलाकारितामा, धर्म संस्कृतिमा गरिने राजनीतिलाई अराजनीतिक कार्य भनिन्छ । यस्ता क्रियाकलापमा सामेल हुने जोसुकैलाई राज्यले कारबाही गर्नुपर्छ । बरु यी क्षेत्रहरूलाई समयअनुरुप परिवर्तनशील बनाउँदै लैजानु पर्छ ।

देशलाई दुष्टहरूको हातबाट खोसेर जनताको शासन, पद्धति स्थापित गर्दा ज्यान फालेका सहिदको सालिक तोडफोड गर्न उकास्नेहरू को हुन् ? एउटा सहिदको प्रतिमाविरुद्ध उत्पातै जोश–जाँगर देखाउनेहरू हिजो सिंगो राजपरिवारको एउटै चिहान हुँदा दरबारको कुन खोपीमा निदाएका थिए ?

दासी जीवन जिउँन नपाइ छट्पटाएर भड्किएका ती दयालाग्दा आत्माहरूलाई आफ्नो इतिहासप्रति अलिकति पनि खिन्नता छ ? के आफू मरेर देश र समाजमा रुपान्तरणको विजारोपण गर्ने महान् सहिदको सालिक तोड्नेहरूले जनतालाई आफ्नो गुलामभन्दा माथिल्लो हैसियत देलान् त ?

इतिहास जनताको पनि हुन्छ । कसैले सनक चढेकै भरमा त्यसलाई मेट्न पाइन्न । सहिदको सालिकमाथिको प्रहार–आम मुक्तिकामी जनताको भवनामाथिको प्रहार हो ।

गणतन्त्रात्मक मुलुकमा यो घटना तथाकथित युवराजहरूले ड्युटीमै बसेका महिला प्रहरीलाई अपहरण गरेजस्तो सामान्य होइन । यो व्यवस्था र कानुन पनि उही पारिवारिक परिबन्धको रखैल होइन ।

त्यसैले जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन र अघिपछि भएका थुप्रै संघर्षहरू हामी सबैका गौरवपूर्ण इतिहास हुन् । यिनको यथोचित संरक्षण गर्नुपर्छ । किनकि, भावी सन्ततिले पनि त्यो पृष्ठभूमिको नालीबेली थाहा पाउनुपर्छ ।

बिहानको नित्यकर्मदेखि बेलुकी ओछ्यानमा नढल्किँदासम्म आफूलाई क्रान्ति र परिवर्तनको संवाहक भन्नेहरूले आफ्नो बेहोरा फेर्ने कि नाइँ ? हिजो राजा–महाराजा भन्नेहरूको सालिक भत्काउन जनता उराल्नेहरूको त्यो गर्जन खोइ ?

जहाँ त्यही अभियानमा सहिद भएका योद्धाको शालिकमाथि ढुंगामुढा भएको छ । समग्रमा यो प्रहारले परिवर्तनशील जनताको भावनामाथि खेलवाड त गरेकै छ ।

यद्यपि, नेता र नेतृत्व ठह¥याएकाहरू कयौं खबरदारीका बीच पनि विगतबाट टाढा भागेको कटु यथार्थता हो । यसोको छर्लङ्ग जवाफ दिने नेतृत्व खोइ ? कि यो सबै–कहिले सालिक ठड्याएर त कहिले भत्काएर आफू नै सधैँ मालिक बनिरहने प्रपञ्च हो कि ? – जवाफ चाहियो !


– लमही दाङ

प्रतिक्रिया दिनुहोस्