Logo
Logo

फ्याँक, उखेल चुकुल !



चुकुलहरूलाई नफ्याँकि नहुने भएको छ नेपालको राजनीतिबाट । यति गर्न नसकिने हो भने यो मुलुकको भविष्य नै छैन ।

विदेशी बुट र स्वदेशी लुटबाट मुलुक टूट फुट हुनेछ । जनार्दन शर्माहरू मात्र जन्मिरहने छन् । कहिले प्रभाकर भएर, कहिले अनन्त भएर । कहिले ओली भएर, कहिले गोली भएर ।

के हो चुकुल ? विराट नेपाली शब्दकोशकामा उल्लेख भएअनुसार चुकुल भनेको ‘वस्तुलाई प्वालमा हाल्दा खाली रहेको भागमा दरो र कसिलोसँग ठेलिने काठ’ हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने आफ्नो ‘चुकुल’ कवितामा साङ्केतिक रूपमा चुकुललाई राजनीतिक नेतृत्वसँग जोडेका छन् र नेताहरूलाई जनतामा विभेद ल्याउने तत्त्वको रूपमा चित्रण गरेका छन् ।

तसर्थ यो मूलतः राजनीतिक कविता हो । यो कविता हेरेमा अर्थमन्त्रीले मध्यरातमा लगाएको चुकुल राम्ररी बुझिने छ । बाहिरी दुई चम्चाबाट करको दर रेट परिवर्तन गरी तयार गर्न लगाएको चौरासी व्यञ्जनबारे प्रस्ट हुनेछ ।

महाकविले लेखेका छन्- यी नेताहरू जनतालाई लडाएर जनताको गरिबीमा सम्पत्ति लुँड्याउन पल्केका छन् । काम एउटै गर्ने भए पनि चुकुल तिन प्रकारको देखेका छन् कविले– सुनको, चाँदीको र कागतको ।

आजको नेपालको अवस्था महाकविले ६६ वर्ष अगाडि नै देखिसकेका रहेछन् । उनले भने जस्तै यी चुकुलहरूलाई नउखेलीकन यो मुलुकको भविष्य छैन । हरेक पार्टीमा छन् यी चुकुलहरू । झगडा गरिरहेका छन् मठाधीश सरह ।

विद्यमान सामाजिक वर्गको चित्रण गरिएको र कागजको चुकुल भन्नाले २००७ साल पश्चात् प्रजातन्त्रको नाममा लुटपाटबाट पैसा कमाएर नव सामन्ती बनेका नेताहरू जसको निरन्तरता सधैँ रहिरहने वास्तविकतालाई लक्षित गरिएको देखिन्छ ।

कवि यसरी भन्छन्- ‘यो हो चाँदी, यो हो कागत, बाट बनेको धूर्त चुकुल, जिउँदो निरन्तर !’ चुकुलरूपी यी नेताहरूको विशेषता भनेको ‘मसिनो मुखको, मोटो जिउको, घुस्न सफल’ हो । कुराले ठिक्क पार्ने र मुलुक लुट्दा लुट्दा मोटाएका यी जनताबीच सफलतापूर्वक घुसेर सधैँ विभेद कायम राख्न सफल भएका छन् ।

भोका, वञ्चित र कुण्ठित जनताबीच फाटो पारी ‘डिभाइड एन्ड रुल’को नीति अवलम्बन गरेर राज्य गरी धन लुट्ने यो सत्ताधारी वर्गले गर्दा जनताको लडाइमा जनता सधैँ हार्दै आएको कुरालाई यसरी उल्लेख गरेका छन्- ‘हे बुभुक्षित ! वञ्चित ! कुण्ठित ! चिरियो तिम्रो दल ! लडाइमा छौ नित्य विफल !’

यसरी अगाडि बढ्दै आजको नेपालको लुटपाट र बरबादीसमेत देख्न सकेका कवि भन्छन्- ‘जनतन्त्रलाई पूजीँ राख्दछ, पूजीँ विभाज्दछ !, नेता भैकन पूजीँ गाज्दछ ।’ यस क्रममा जनतालाई सधैँ थोत्रो सुकुलमा राखेर यी नेतारूपी चुकुलहरूले जनतालाई ‘जादु–कार्पेट’मा राखेर ‘स्वर्ग’ पुराउने जस्तो ‘फटाइ’ गरिरहेको कुरालाई औँल्याएका छन् । र, यी चुकुललाई बोक्सीको जस्तो बुद्धि भएको चतुर र यसले सम्मोहनमा पारिराख्ने हुँदा जनतालाई यस्तो सम्मोहनमा नपर्न समेत आग्रह गरेका छन् ।

यस्ता फटाहा नेताहरूलाई नेपाली जनताले सहेर भूल गरिरहेको भन्दै त्यस्तालाई उखेल्न जनतालाई आह्वान गर्दै भन्छन्, ‘हाय ! सहेको किन यो भूल ? मिल ए गरिब ! मिल ए दीन ! मिल हे दुःखी ! मिल ए हीन फ्याक, उखेल, चुकुल !

महाकवि लक्ष्मीप्रसाद देवकोटाका पछिका कविताहरू, मूलतः २०१३ देखि २०१६ सालसम्मका कविताहरू, जुन थोरबहुत जे मैले पढेको छु त्यसलाई हेर्दा लाग्छ २००७ सालको परिवर्तनले नेपाली जनतालाई आशा गरिएको आर्थिक र सामाजिक न्याय राज्यले दिन नसकेकोमा उनी आक्रोशित भएका छन् ।

त्यति मात्र होइन उनी स्वयम् विद्रोही बनेका छन्। यसको लागि उनले ‘प्वोयटिक पर्सोना’ को भरपुर प्रयोग गरेका छन् । यो नभुलौँ कविले प्रजातान्त्रिक सुन्दर विहानीको लागि लडेका थिए । २००४ सालमा मुलुक छोडेर बनारस पुगे उनी यसको लागि ।

दुख पाए, हन्डर खाए । २०१४ सालमा शिक्षा मन्त्री भएर राजकाज पनि देखे । ठूलो परिवर्तपछि भयो त ? सुन, चाँदी र कागजका नेतारूपी चुकुलहरूले मुलुकलाई उँभो लाग्न दिएनन् । यही छ ठहर कविको यो कवितामा ।

पहिले त प्रजातान्त्रिक युद्ध नै ‘लजिकल एन्ड’मा आएन । त्रिपक्षीय सम्झौतामा टुङ्गिएर प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री मोहन शमशेर नै बने । दोस्रो, राजनीतिक परिवर्तनले माग गरेको सामाजिक परिवर्तन गर्न चुकुलहरू तयार भएनन् । बहिरी खेलमा परे ।

अनि मूलतः मालिक रिझाएर कसरी सत्तामा टाँसिने र नोट कमाउनेतर्फ केन्द्रित रहे । यसरी राज्य गर्ने वैधानिकताको लागि सातौ आसमानमा पु¥याइने वस्तु सरह बनाए जनतालाई । र, यसको परिणति बन्यो जनता सधैँ उपेक्षित रहनु पर्ने ।

त्यसैले होला देवकोटाको पछिल्ला कविताहरूमा यसको शक्तिशाली ‘अन्डरकरेन्ट’ पाइन्छ । उनको अत्यन्त शक्तिशाली पागल कवितामा त आगो भएका छन् कवि । उक्त कविताका यी पङ्क्तिहरूलाई हेरौँ ।

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन–अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेरे–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई ललकार्छ
तव हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोल झैँ राता !

गरिब झन् गरिब हुँदै जानु पर्ने र धनी झनझन धनी । फासला बढेको बढ्यै । यसको लागि को जिम्मेवार त ? यी नेताहरू हुन् या विभेदको स्थितिलाई निरन्तरता दिइराख्ने समाज ।

त्यसैले होला उनले ‘सार्की’ कवितामा गरिबको दयनीय स्थितिको चित्रण गर्दै प्रश्न गरेका छन्, ‘समाज व्यक्ति कुन हो पापी ?’ र, यो ‘चुकुल’ कवितामा भने उनले त्यसको उत्तर फेला पारेको देखिन्छ । यी नेताहरू नै चुकुल बनेका छन् ।

समाजलाई परिवर्तन गर्ने नेताहरूले हो । उनीहरूले लिने मूल्य, मान्यता र सोचले हो । हाम्रा नेताहरूको त कुनै भिजन नै छैन । मूल्य र मान्यता भनेको सिवाय, सत्तामा टिक्ने, सत्ताकोलागि बारगेन गर्ने र नोट कमाउने । यसको लागि विभिन्न तप्काका लठैतहरू पाल्ने । तिनलाई पाल्न फेरि मुलुक लुट्ने । यो कामकोलागि जनतालाई सपना बेचेर, अनि जालझेल गरेर चुनाव जित्ने ।

यसैमा कावा खाइरहेका छन् यी चुकुलहरू त- सुनको, चाँदीको र कागतको । अहिलेको काँग्रेस, एमाले, एमाओवादी र मधेसी दलका शीर्ष नेताहरू पार्टी भित्र र बाहिर यत्तिकोलागि लडिरहेका छन्- गठन, पुनर्गठन र विघटन भित्र सम्झौता गर्ने, तोड्ने र पुन गर्ने कसरतमा । अनि आँखा ‘बनिरहेका धनमा चनाखा ।’

आजको नेपालको अवस्था महाकविले ६६ वर्ष अगाडि नै देखिसकेका रहेछन् । त्यसैले नै होला चेतनाको उन्नयनमा पुगेका कविलाई स्वप्न द्रष्टा भनेको । उनीहरू भोलिको कुरो आजै देख्न सक्छन् र यसरी वारिपारि पनि गर्न सक्छन् । उनले भने जस्तै यी चुकुलहरूलाई नउखेलीकन यो मुलुकको भविष्य छैन । हरेक पार्टीमा छन् यी चुकुलहरू । झगडा गरिरहेका छन् मठाधीश सरह ।

यी मठाधीशहरुलाई फालेर नयाँ रक्त सञ्चार हरेक पार्टीमा गर्न नसक्ने हो भने बदमासी दोहरिइरहने छ । सभासद् बेच्ने, दाइजो दिनेदेखि लिएर जे जस्तो बेइमानी पनि यी चुकुलहरूले गरिरहने छन् । जनताले दुःख पाइरहनु पर्ने छ । त्यसैले महाकविले भनेको कुरा मानौँ र फ्याकौ, उखेलौँ यी चुकुलहरूलाई, चाहे ती सुनका हुन् या चाँदीका या किन नहुन् कागतका ।
यति चेतना भए !

(३० पुस २०७० को दृष्टि साप्ताहिकमा प्रकाशित लेखलाई अद्यावधिकसहित पुनः प्रकाशन गरिएको ।)

प्रतिक्रिया दिनुहोस्