Logo
Logo

अझै भारी वर्षाको सम्भावना, २४ घण्टा सचेत रहन आग्रह


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले अझै केही दिन देशभरि मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबारबाट न्यून चापीय क्षेत्र बंगालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले सोमबार र मंगलबारको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताए । उनले भने, ‘आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’ सोमबार आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो । यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मंगलबार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ ।
त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्