Logo
Logo

अख्तियार धाउँदै राजस्वका कर्मचारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सूर्यनाथ उपाध्याय अख्तियार प्रमुख हुँदा राजस्व समूहका २२ कर्मचारीमाथि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाएपछि भ्रष्टाचार गर्नेहरुले सम्पत्ति लुकाउने नयाँ नयाँ शैली अपनाउन थालेका छन् । आफ्नो र परिवारका नाममा सम्पत्ति राख्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएपछि अनियमितता गर्ने कर्मचारीले नयाँ नयाँ शैली अपनाउन थालेका छन् । ‘भ्रष्टाचार गरेको थाहा छ, तर सम्पत्ति त्यो कर्मचारी र परिवारको नाममा देखिंदैन’ अख्तियारका एक उच्च अधिकारीले भने, पछिल्लो समयमा त्यस्तो सम्पत्ति ब्यापारीलाई ब्याजमा दिने वा मिलेर लगानी नै गर्न थालेका छन् । भ्रष्टाचारको सम्पत्ति लुकाउने यस्तो काइदा अपनाएपछि अख्तियारलाई छानबिन गर्न पनि कठिन हुँदै गएको छ ।’

भ्रष्टाचारको सम्पत्ति ब्यापारीकोमा ब्याजमा दिने वा लगानी गर्ने राजस्व समूहका बहालवाला र पूर्वकर्मचारीको अख्तियारले छानबिन गरिरहेको छ । स्रोतका अनुसार कर्मचारीका साथै भ्रष्टाचारको सम्पत्ति लिने ब्यापारीको पनि छानबिन भइरहेको छ ।

भ्रष्टाचारको सम्पत्ति लुकाउनेमध्ये कतिपयले डमी ब्यक्ति खडा गरी ब्यापार गर्दैआएका छन् । तातोपानी भन्सारको प्रमुखदेखि अर्थमन्त्रालयबाट हाल प्रधानमन्त्री कार्यालयमातहतको विभागको महानिर्देशक भएका अर्थमन्त्रालयका एक सहसचिवले होमप्रसाद तिमिल्सिना (नवराज) को नाममा ब्यापारीक फर्म खोलेर लगानी गरेका छन् । तिमल्सिना तातोपानी भन्सारको भान्से थिए । तर उनी अहिले रसुवाका बीसौं करोडको कारोबार गर्ने ठूला ब्यापारी भएका छन् । र, हिमालय सीमापार ब्यापार संघको महासचिव नै जितेका छन् । त्यसो त ती सहसचिवले राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत उद्धव राउतसँग मिलेर भक्तपुरमा २५ ोपनी जग्गा किनी त्यसमा कालीज पालन गर्दैआएका छन् । डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि राउतले राजीनामा दिएर सम्पत्ति ब्यवस्थापन गरिरहेका छन् । राउतका बिरुद्ध अकूत सम्पत्तिमा अख्तियारले छानबिन गरिरहेको छ ।

त्यस्तै, रसुवा भन्सार कार्यालयका अधिकृतहरु दयानन्द केसी, विष्णु श्रेष्ठ र अर्थमन्त्रालयका अधिकृत रामचन्द्र तिमल्सिनाको सम्पत्ति पनि छानबिन गरिरहेको छ । स्रोतका अनुसार आकर्षक भन्सार सबै चाहारेर आधा अर्ब सम्पत्ति कमाउने अवकाशप्राप्त नायबसुब्बा ज्ञानेन्द्र कार्की, रामप्रसाद भट्टराईदेखि रसुवाको भन्सार अधिकृतबाट जागिर अवधि भर्खरै सकिएका श्याम बस्नेत र दयानन्द केसीसम्मको सम्पत्ति पनि अख्तियारले छानबिन गरिरहेको छ । दर्जाले नासु भए पनि ज्ञानेन्द्र कार्की कृपासुर शेर्पा एयरपोर्ट भन्सारमा हुँदा सुन ओसार्नेमा पनि थिए । उनी सुनका ठूला कारोबारी पार्टनर हुन् । रामचन्द्र तिमिल्सिना तातोपानी भन्सार, एयरपोर्ट, बीरगंज जस्ता सबै आकर्षक भन्सारमा बसी अथाह सम्पत्ति आर्जन गर्ने भनेर चिनिन्छन् । उनी हाल अर्थमन्त्रालयमा कार्यरत छन् । रामप्रसाद भट्टराई तातोपानी, रसुवा, बीरगंंजदेखि एयरपोर्टसम्म रजगज गरी करोडौं भ्रष्टाचार गर्न सफल भएका हुन् । श्याम बस्नेत अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेतका भाइ हुन् । दीप बस्नेतको आडमा श्याम बस्नेत सधैं मालदार भन्सारमा बसी कुस्त कमाउन सफल भए । रसुवा भन्सारबाट हालै अवकाश पाएका उनी तातोपानी, बीरगंज र एयरपोर्ट जस्ता आकर्षक भन्सारमा बसी ब्रम्हलुट गर्न छुट पाएका थिए । यी आधा अर्ब नै भ्रष्टाचार गर्ने कर्मचारीले न्यूरोडका ब्यापारी जगदिश श्रेष्ठ र योगेश श्रेष्ठलाई लगानी गर्दैआएका छन् । यी कर्मचारीको पैसा ब्यापारी श्रेष्ठ दाजुभाइले ब्याजमा र मुनाफामा समेत हिस्सेदारी दिनेगरी चलाएका छन् ।

त्यसैगरी भैरहवा भन्सारमा बसी अकूत सम्पत्ति आर्जन गर्ने भूपाल शाक्यले श्रीमतीमार्फत् भ्रष्टाचारको सम्पत्ति मिटरब्याजमा लगानी गर्ने गरेका छन् । उनीसँग भैरहवा भन्सारमा भन्सार अधिकृत रहेका मानप्रसाद विक बिरुद्ध अख्तियारले अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिसकेको छ । तर भन्सार प्रमुख शाक्यलाई भने अहिलेसम्म उन्मुक्ति दिएको छ । शाक्य र विकको पालामा भैरहवा भन्सार सेटिङ गरी एउटै प्रज्ञापनपत्रबाट दर्जनौं ट्रक सामान भन्सारछली गरी भित्रने गरेका थिए ।

यसैगरी अधिकृत हुँदा बीरगंज भन्सारमा बसी अकूत सम्पत्ति कमाएका उपसचिव सेवन्तक पोखरेललाई तत्कालीन अर्थसचिव शान्तराज सुवेदीले ४ महिनामै बढुवा हुन सहज पारिदिन पशुपतिनगर भन्सार कार्यालयमा सरुवा गरे । इलामको पशुपतिनगर दुर्गमको नम्बर पाउन र पैसा कमाउने दुवै हातमा लड्डु भएको भन्सार हो । पशुपतिनगरमा बसेर उपसचिव बढुवापछि सचिव सुवेदीले उनलाई पुनः बीरगंज भन्सारको प्रमुख बनाए । कांग्रेसको खाँटी कार्यकर्ताका रुपमा विगतमा लाभ लिएका पोखरेल पनि करोडौं भ्रष्टाचार गरी कमाउने उपसचिवका रुपमा चिनिन्छन् । उनको प्रभावमा ६ महिना जागिर अवधि भएका सचिव राजन खनाल पनि परेका छन् । उनलाई आकर्षक स्थानमा सरुवा गर्ने दाउमा सचिव खनाल लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्