Logo
Logo

नेपालमा लगानी भित्राउन एनआरएनसँग मन्त्री गहतराजको आग्रह



मस्को । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् ।

रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन् ।

रुस भ्रमणको अन्तिम दिन बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्धारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै उनले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे ।

नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न उनले आग्रह गरे । विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनको भनाइ छ ।

बिदेशमा आर्जन गरेको सिप र स्वीप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी ब्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै उनले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेका हुन् ।
अवसर र सम्भावनाको हिसावले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको उनले दावी गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दुतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरुको सहभागीता रहेको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारीक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्