Logo
Logo

संसदमा लुट कान्छा लुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुनै समय पजेरो र सुत्केरी भत्ता प्रकरणले संसद विवादित भएको थियो । जनताको करमा सांसदले लुट मच्चाएकोमा राजनीति नै घृणित भएको थियो ।

तर, राजनीतिक नेतृत्वले अझै चेतेको छैन । संसदमा अहिले पनि उस्तै लुट चलिरहेको छ ।

व्यापक विरोधका बाबजुद सांसदहरुलाई ल्यापटप दिने कामलाई सभामुख कृष्णबहादुर महराले अघि बढाएका छन् । २ करोड ८८ लाख १६ हजार रुपैयाँमा तीन सय ३४ वटा ल्यापटप किन्न काष्ठमन्डप एसिया इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गर्न लागिएको छ ।

अहिलेका सांसद सबैजसोसँग ल्यापटप छ । उनीहरुलाई के प्रयोजनका लागि ल्यापटप दिन लागिएको भन्ने जवाफ सभामुखले दिन सकेका छैनन् । संसद बैठकमै कतिपय सांसदहरुले यस्तो घिनलाग्दो काम नगर्न भनेर चेतावनी दिएका थिए । तर, त्यसका बाबजुद पनि कमिसनको लोभमा ल्यापटप खरिद प्रक्रिया अन्तिम चरणमा पु¥याइएको छ ।

त्यस्तै विदेश भ्रमण, औषधी उपचारलगायतको नाममा पनि संसदमा हुने अनियमितता रोकिएको छैन । संसदीय समितिहरुमै अवलोकन भ्रमणका नाममा अनियमितता हुने गरेका छन् । सांसदहरु भत्ताका लागि अनेक अनुगमनमा जाने गरेका छन् ।

विदेश भ्रमणको बेथिती पनि उस्तै छ । हालै अर्थसमितिका सभापति समेत रहेका कृष्णप्रसाद दाहाल सरकारी पैसा खर्च गरी बिना कामको कार्यक्रममा श्रीलंका पुगेका छन् । एसिया बेसबल कप हेर्न भनेर राष्ट्रिय सभाका सांसद रामचन्द्र राईसहित उनी श्रीलंका पुगेका हुन् । सरकारी बजेटमै उनीहरु श्रीलंका गएको स्रोत बताउँछ ।

त्यस्तै सांसदहरुको भिडियो प्रोफाइल बनाउने नाममा समेत लाखौं रकम दुरुपयोग गरिएको संसदका एक कर्मचारीले बताए । ‘संसदमा खाजादेखि गाडीसम्ममा अनियमितता छ,’ ती कर्मचारी भन्छन्,‘संसदमा आर्थिक अनुशासनहीनताको यो अवस्था छ, अन्यत्र कस्तो होला ?’

प्रतिक्रिया दिनुहोस्