Logo
Logo

नाथे भुइँमान्छेहरुसँग के मतलब ?



परिवर्तनको रटान लगाउन थालेको फेरि वर्षौं बित्यो । कयौँ ठिहिर्याउने हिउँद र जर्जर खडेरीहरु सकिए । तर हाम्रो देशको राजनीतिक किचलो बीसको उन्नाइस पनि हुन सकेन । बरु झनै भयावह परिणाम निम्त्याउने बाटोमा आँखा चिम्लिएरै अघि बढिरहेको छ ।

चल्तीको राजनीतिले जनआकांक्षामा कुनै खास परिणाम दिन सकेको छैन । भागबन्डा र लुछाचुँडीमा केन्द्रित राजनीतिक दलहरु आ–आफ्नै धुनमा नाचिरहेका छन् । यतिबेला यस्तै राजनीतिक, प्रशासनिक र आर्थिक ढाँचाले मुलुक कहिले उभो लाग्ने ? भन्ने प्रश्न सर्वत्र उब्जिएको छ ।

घर–घरमा महँगीको समस्या छ । टोलटोलमा बेरोजगारीको समस्या छ, सडक र सहरमा फोहरको थुप्रो छ । सत्र वर्षअघि नीति बनाउन भन्दै संसद् छिरेकाहरु राजनीतिको फेरो समाएर ठेक्कापट्टा अनि नाफा–घाटाको जोडघटाउ गरिरहेका छन् ।

नेपालको भविष्य सुनिश्चितताका बारेमा यिनीहरुलाई फिटिक्कै मतलब छैन । जनमुखी नीति–निर्माण र लागू गर्ने त टाढैको सवाल भयो । तत्कालको सन्दर्भमा नेताको निहीत स्वार्थको विषयमात्रै यिनीहरुको उच्चतम एजेन्डा बनेको छ ।

हिजोको कहालीलाग्दो युद्ध र आन्दोलनमा नेताहरुले मात्रै योगदान गरेझैँ गरी त्यसैको सट्टाभर्नास्वरुप ब्याज खाने परिपाटी जोडतोडका साथ मौलाएको छ । यिनै सपनाका व्यापारीहरु जोगाउन सहिद, बेपत्ता र घाइते बनेकाहरुसँग यिनीहरुलाई के मतलब ?

भनिन्छ नि– ‘कि आफैँले जान्नु, कि अर्काले भनेको मान्नु’ तर यहाँ न आफैँले जान्ने, न अर्काको भनेको मान्ने, जसले गर्दा देश हरेक क्षेत्रबाट ओरालो लागिरहेको छ ।

राजनीतिक दल र तिनका आ–आफ्ना घमण्डका कारण सिंगो देश नै दुर्गन्धित बनेको छ । मान्छेको जन्मदिनदेखि श्रद्धाञ्जली सभासम्ममा राजनीति घुसाइएको छ । सिंगो जीवनका त कुरै छाडौं ।

यथार्थमा राजनीति समाजसेवाको क्षेत्र भएता पनि यसलाई कमाइखाने गतिलो भाँडो बनाइयो । अलि पहिले गुपचुपमै यसो गरिन्थ्यो भने अहिले हाकाहाकी लुट्ने प्रचलन बढ्दै जानु हाम्रोजस्तो मुलुकका लागि ठूलै दुर्भाग्य हो ।

वर्षौँदेखि एकछत्र रजाइँ गरेको निरंकुश शासनलाई फालेपछि त देशमा उत्पातै विकासका मूल फुट्छन् भन्ठानेर सामन्ती सत्ताका बन्दुकहरु निष्काम बनाउने आम नेपाली जनताको भावनामाथि फेरि पनि नमिठोसँग खेलाँची गरिएको छ । जनताको त्याग र बलिदानलाई मुठ्ठीभर मान्छेहरुले आफ्ना अस्वाभाविक आवश्यकता पूरा गर्ने भर्याङ बनाइदिएका छन् ।

वर्गविहीन समाजको परिकल्पनासहितका गगनभेदी नारा घन्काएर सत्ताको शिरफूल लगाएकाहरु आज आफ्नै वर्गका सयौं प्रश्नप्रति अनुत्तरित छन् । आशातित जनभावनामाथि खेलवाड गरेका उनीहरु यतिसम्म गैरजिम्मेवार होलान् भन्ने सायदै कल्पना गरिएको थियो ।

खैर, गर्नु के ? यिनीहरु छेपाराले रंग फेरेको भन्दा पनि चाँडो फेरिए । ती उद्देश्य र सपनाको चाङमाथि सम्पन्नताको ओछ्यान लगाएर मजाको निद निदाइरहे । यिनीहरुलाई भुइँमान्छेसँग के मतलब ?

नेताहरु संसदको रोस्ट्रममा उभिएर घाँटी च्यातिने गरी चिच्याइ त रहेका छन् । परन्तु के का लागि ? एउटाको वस्तुभाउ फुकेर अर्काको बाली खाइदिएझैँ लडामती गरिरहेका छन् । त्यहाँ जनताका आकांक्षा र सपनाको बहस चल्दैन । सुदूरका गाउँहरुको व्यथा बोल्दैन ।

गरिबीको तापले राँकिएका बस्तीहरुको कथाबारे चियोचर्चा हुँदैन । किताब नपाएर स्कुल नगएका विद्यार्थीको सवालले स्थान पाउँदैन । उत्पादन गर्न मल र खपत गर्न बजार नपाएर खेत बाँझै छाडी विदेशिएका कर्मठ कृषकको समस्याबारे कुनै मतलब हुँदैन । महँगीले तालु पिरो हुने गरी थलिएका आम उपभोक्ताबारे कुनै सरोकार गरिँदैन ।

गरिन्छ त त्यहाँ मात्रै आफ्नो चिन्ता गरिन्छ । सांसद भनेको सान, मान र सौकत देखाउने ठाउँ हो भनिन्छ । जाबो धुलो खाएर धुलै टकटक्याउने भुइँमान्छेको बारेमा के मतलब ? भन्ने आशयका हाउभाउ देखाइन्छ ।

कति उचाइको पिर्कामा उभिएर सलामी ग्रहण गर्ने ? सेवा–सुसारको लागि कति जाना अर्दलीहरु खटाउने ? खाजा–खानामा कति थरिका परिकारहरु जुटाउने ? भत्ता बढाएर कति पुर्याउने ? सुरक्षाकर्मीले कतिपटक खुट्टा बजारेर सलामी अर्पण गर्ने ? वैदेशिक शक्तिकेन्द्रसँग गरिएको मोलमोलाइवापत प्राप्त कमिशनलाई कसरी बिलो लगाउने ? आदि विषयमा भने हाम्रो संसद् भवना गम्भीर छलफल हुन्छ ।

सायद संसदीय व्यवस्थाको उच्चतम मुनाफा नै यही हो । हुन त हामी व्यवस्थामा समस्या देख्छौँ र व्यवस्थाबाटै समाधान खोज्छौँ । तर यहाँ अधिकांश व्यक्तिहरु यही व्यवस्थाको तर मारेर यसै व्यवस्थालाई दुर्गन्धित बनाउन मरिहत्ते गरिरहेका छन् ।

यिनीहरुले अवस्था यहाँ पुर्याइसके कि– अचेल सत्ताले भ्रष्टाचार होइन, बरु भ्रष्टाचारले नै उल्टो सत्ता फेर्न सक्छ । शौचालयभन्दा मन्त्रालय धेरै हाम्रै गरिब देशमा छन् । मोटर गाडी गुड्ने खोलानालामा पुल छैन, डाँडामा कमिशन खान करोडौंका भ्यूटावर ठड्याइएका छन् ।

त्यसैले त रमाइलो र मस्ती जति सबै आफ्नै पोल्टामा कुम्ल्याएर जनस्तरमा सास्ती मात्रै टक्राएका छन् । यिनीहरुलाई–जाबो धुलो ओढ्ने भुइँमान्छेसँग के मतलब ?

आम जनता र दलका केही कार्यकर्तासमेतको नजरमा सबै दलका उच्च नेतृत्वले विश्वास गुमाउँदै गइरहेका छन् । तर, नेताहरू न छाड्ने मुडमा छन्, न सुध्रिने सोचमा । लाग्छ, केही निचहरुको अन्तहीन सपना पूरा गराउन नेपाली जनताले उनीहरुसँग गुलामीको ऋण खाएका छन् ।

हरेक निर्वाचनपछि ‘अब त केही सुधार पक्कै हुन्छ’ भनेर आशावादी बन्नुबाहेक हामी निरीह जनतासामु अहिले नै अर्को विकल्प छैन । ठ्याक्कै एउटै बिरूवाको जरा कति तल पुग्यो भनेर उखेलेर हेर्दै र फेरि रोप्दै गर्ने हाम्रो पुरानै कार्यशैलीजस्तो बनेको छ, यो थिति ।

अहिले प्रष्टरुपमा देखिएको यी विषालु ऐँजेरुहरुलाई ठेगान्ने गतिलो उपाय भनेकै चुनाव हो । यद्यपि, त्यहाँ पनि हामीहरु चुकिरहेका छौँ ।

एक हिसाबले भन्ने हो भने भ्रष्टाचार, अनियमितता, घुसखोरी र ढिलासुस्तीजस्ता बेथितिहरु हुर्किँदै जानुमा हामी जनताको पनि बराबर दोष रहन्छ । किनकि, मतदानको फैसला गर्ने बेला हामी पनि अनुत्तरदायी हुन्छौं । आफ्नै कर्म र मर्मप्रति घात गर्छौं ।

पटकपटक पाएका घात र खाएका धोखाहरु क्षणिक समयमै बिर्सिएर उनीहरुसँगै कुम जोड्न पुग्छौं । नेताहरुका कार्यशैली र व्यबहारबाट बारम्बार ठगिएका हामी जनताहरुले आखिर आफ्नो भाग्यको फैसला आफैँ गर्ने समय कहिले आउँला ?
– लमही, दाङ

प्रतिक्रिया दिनुहोस्