Logo
Logo

विवादास्पद सहसचिव महाबाणिज्यदूतमा सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव निता अर्याल पोखरेललाई महाबाणिज्यदूतमा सिफारिस गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको दबाबमा सामान्य प्रशासन मन्त्रालयले पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार महाशाखा प्रमुख रहेकी अर्याललाई बाणिज्य दूतका लागि सिफारिस गरेको हो । उनीसँगै सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिन समितिमा संयोजक भएर काम गरेका हाल अध्यागमन विभागका महानिर्देशक रहेका ईश्वरराज पौडेल र राष्ट्रपति कार्यालयका सहसचिव झपिन्द्र पराजुली महावाणिज्यदुतमा सिफारिस भएका छन् ।

 

चीनको ग्वाङझाओ लगायतका तीन देशमा महाबाणिज्यदूत खाली छ । तीनै देशका लागि सामान्यले मंगलबार बाणिज्य दूत सिफारिस गरेको छ । सामान्यले सिफारिस गरेर मन्त्रीपरिषदले निर्णय गरेपछि उनी बाणिज्य दूत हुनेछिन् ।

सहसचिव अर्याल तिनै हुन्, जसले एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी विकास कोषका लागि खरिद गरिएका विद्युतीय बस प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरिसकेपछि अस्वीकृत गर्ने निर्णय गरेकी थिइन् । उनले प्रधानमन्त्री ओलीलाई नै विवादमा पार्ने काम गरेकी थिइन् । लुम्बिनीमा वातावरण प्रदूषणरहित बस संचालनका लागि एडीबीको सहयोगमा खरिद गरिएका बस प्रधानमन्त्री ओलीले उद्घाटन गरिसकेपछि संचालन हुन नसकी ग्यारेजमै थन्किएका छन् ।

पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार महाशाखाको प्रमुख रहेकी अर्यालले बिद्युतीय बस अस्वीकृत गरेर प्रधानमन्त्री ओलीलाई विवादमा ल्याए पनि परराष्ट्र मन्त्री ज्ञवालीले उनको नाम सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्