Logo
Logo

जेलमा गएर गुन्डा नाइके भेट्ने डीएसपीलाई कारबाही सिफारिस



काठमाडौं । गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेलमा पुगेको आरोप लागेका प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीलाई कारबाहीको सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले डीएसपी केसीलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको हो ।

कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई भेटेको भन्दा पनि अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेको छानबिन समितिले ठहर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

आफ्नो क्षेत्रभन्दा बाहिर गएर भेट गर्दा माथिल्लो निकायलाई जानकारी गराउनु पर्नेमा बिना जानकारी कारागार पुगेको पनि समितिले औंल्याएको छ । गलत मनसायले आफैंले भेट गरेको भन्दा पनि पदीय दुरुपयोग गरेको समितिको निष्कर्ष छ ।

समीरमान निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका थिए । उनै समीरमानलाई भेट्न अर्का गुन्डा नाइके अमृत केसीलाई लिएर डीएसपी केसी गत जेठ २९ गते सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए ।

केसी समीरमानलाई भेट्न गएको खबर बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार समेत रहेका समीरमानले कारागारभित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

समीरमानकै समूहको नामबाट एक वर्षअघि विभिन्न व्यवसायीहरूलाई धम्क्याउँदै रकम माग्ने गरेको खुलेको थियो । सो घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाको पनि संलग्नता पाइएको थियो ।

०७४ असोज २३ गते साढे दुई करोड रुपैयाँ नदिएको भन्दै समीरमानकै निर्देशनमा काठमाडौंको शान्तिनगर, खरीबोटमा गौचनको गोली हानी हत्या गरिएको थियो । ०७४ मंसिर १७ गते समीरमान पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्