Logo
Logo

राष्ट्रहितका लागि वामपन्थी एकता


माधव थापा


स्थानीय निवार्चनले नेपाली राजनीतिमा वामपन्थी समीकरणबारे जबर्जस्त बहस सिर्जना गरेको छ । यसले नेपालका वामपन्थी वुद्धिजीवि, विश्लेषक, राजनीतिकर्मी र पार्टीका नेतृत्वहरुमा नवीन तरङ्ग उत्पन्न गरेको छ ।

सरकारले महँगी, भ्रष्टाचार र कालाबजारी नियन्त्रण गर्न सकेको छैन । असंलग्न परराष्ट्र नीतिमा आएको विचलनवादी व्यवहार र राष्ट्रहितविपरीत आएको सैन्य रणनीतिसँग सम्बन्धित एसपीपी सम्झौतालगायतले कांग्रेस नेतृत्वको वर्तमान सरकारप्रति अविश्वास बढ्दै गएको छ ।

सर्वभौमसत्ता र स्वाधिनतामा पर्ने प्रभाव देश र जनताका लागि स्वीकार्य हुन सक्दैन । त्यसैले सरकारको भूमिकाप्रति जनस्तरबाट विरोध हुन थालेको छ । सत्ता गठबन्धको मुख्य शक्ति नेपाली कांग्रेसप्रति असहमति र असन्तुष्टीहरु बढ्न थालेका छन् । शंका र अविश्वासका मुनाहरु सत्ता गठबन्धनका सारथी दलहरुमा पनि पलाउन थालेका छन् ।

एमाले नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको थियो । तर, कार्यान्वयन गर्ने या खारेज गर्ने जिम्मेवारी कांग्रेस नेतृत्वको वर्तमान सरकारको हातमा छ ।

एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको मौनताले धेरै कुरा बोल्छ । एसपीपी कार्यान्वयन गर्ने सन्दर्भमा जस्तोसुकै कदम चाल्न सक्छन् भन्नेमा सचेत हुनैपर्छ । सत्ता घटक दल सार्वभौमिकता, स्वाधिनता र सामरिकताप्रति बढी नै सम्वेदनशील हुन जरुरी छ ।

कम्युनिष्ट पार्टीको स्थापना, जनयुद्ध र जनआन्दोलन, हजारौँको बलिदान आजको नेतृत्व विचलनको यो हदका लागि भएको थिएन । नेतृत्वले बुझ्न आवश्यक छ । स्वार्थ र अहंकार त्याग्दै नेतृत्व ‘देश मेरो घर, जनता मेरा परिवार’ भनेर सच्चिए आन्दोलन पुनः बलशाली भएर अघि बढ्छ ।

वर्तमान सरकार असहज परिस्थितिमा बनेको हो । त्यसैले धेरै अपेक्षा गरिएको छैन । केही नगरे पनि केही नबिगारोस् भन्ने आम अपेक्षा हो । तर, वर्तमान सरकारबाट विश्वस्त हुने वातावरण नबन्दा देशमा वामपन्थी शक्तिकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने मत बढेको छ ।

वामपन्थी धुव्रिकरणको बहसले राजनीतिक बृतमा नवीनतम् उर्जा थपिएको देखिन्छ । यो बहसले वामपन्थीहरुप्रति आशा र भरोसा राख्ने सर्वहारा श्रमजीवि, मजदुर, किसानसँगै आम वामपन्थी जनसमुदायमा आशाको सञ्चार गराएको छ ।

राजनीतिमा झुट, नेतृत्वमा लुट र संगठनमा फुटको संशोधनवादी दृष्टीकोणले कार्यकर्ता र जनतामा नकारात्मक प्रभाव परेको बेला वामपन्थी एकताको बहसले उज्यालो भविष्यको संकेत देखाएको छ ।

एउटा अँध्यारो कुनाबाट अन्धकारविरुद्ध उज्यालो किरण अगाडि बढेजस्तो देखिन थालेको छ । यो जनताको अपार माया र भरोसालाई वामपन्थी नेतृत्वले आत्मसाथ गर्न सक्नु पर्दछ ।

०००

वामपन्थी विभाजनका कारण देशले ठूलो क्षति व्यहोरेको छ, जनतामा ठूलो निरासा छाएको छ । हामी कति असफल भयौँ ? भन्ने ज्ञान नेतृत्वले जति चाँडो बुभ्mन सक्यो त्यति नै छिटो नेपालका वामपन्थी शक्तिको राजनीतिक उद्दार हुने छ ।

नेतृत्वले इतिहासबाट नसिक्न पनि सक्दछ । तर, नेतृत्वले नसिकेको सजाय पार्टी, नेता, कार्यकर्ता, वामपन्थी, प्रगतिशिल र आम जनसमुदायले भोग्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्छ ।

के वामपन्थीहरु संगठन संरचनात्मक रुपमै बिग्रेका हुन त ? के अब वामपन्थीहरु कहिल्यै सच्चिदैनन् त ? यदि त्यसो हो भने इतिहासको कठघरामा नेतृत्व नराम्ररी असफल भएर उभिनु पर्नेछ । तर, वामपन्थी नेतृत्वले अप्ठ्याराहरुको सामना गर्दै, सिक्दै, बुभ्mदै र कमजोरीहरुमा आलोचित हुँदै अघि बढेको इतिहास छ ।

वामपन्थी आन्दोलनभित्र वामपन्थी जीवनशक्ति अझै जीवित छ । कमिकमजोरीहरु सुधार्दै जनतालाई इमान्दारीपूर्वक हामीले गल्ती गर्यौ भन्न सक्नु पर्दछ । जनतासँग माफी माग्नु सक्नुपर्दछ । फेरि पनि जनताले माफी दिएर अघि बढ्ने बाटो दिनेछन् ।

व्यक्ति सर्वगुण सम्पन्न हुँदैन भन्ने १७औँ शताब्दीमै पुष्टि भइसकेको कुरा हो । तर आज, २१औँ शताब्दीमा पनि वामपन्थी शक्तिहरुमा व्यक्ति सर्वेसर्वा हुन खोज्दा जनता र पार्टीबाट नेतृत्व अलगिँदै गएको छ । त्यो तथ्यहरुलाई पनि वामपन्थी नेतृत्वले बुझ्न र आत्मसाथ गर्न जरुरी देखिन्छ ।

जनतालाई स्वर्गको झुटो सपना देखाएर नर्कको बाटोतिर अल्मलिने र साँघुरो विचार, सिद्धान्तलाई स्वीकार गरेर हिँड्ने नेतृत्वबाट आम कार्यकर्ता र जनताले सकारात्मक प्रभावको अपेक्षा गर्न सक्दैनन् ।

वामपन्थी आन्दोलनले हुर्काउँदै लगेको गलत प्रभूत्व मध्यम वर्गमा बढी सक्रिय देखिन्छ । आफूभन्दा तल्लो वर्गलाई दबाएर राख्न खोज्ने र माथिल्लो वर्गलाई नाङ्गो चाकडी गर्ने यो वर्गको विशेषता हो, जवर्जस्त चरित्र हो । वामपन्थी आन्दोलनमा जटिल रुपमा देखिएको खतरा यो नै हो । यसलाई नेतृत्वले गम्भीरतापूर्वक पुर्नविचार गर्नुपर्ने तट्कारो आवश्यकता देखिन्छ ।

वामपन्थी आन्दोलनभित्र अनेकौं ऐजेरु पलाएका छन् । नेतृत्वले यस विषयमा अत्मसमीक्षा गर्न जरुरी छ । वामपन्थी नेतृत्वमा पार्टीलाई विर्ता, कार्यकर्तालाई दास र जनतालाई रैती ठान्ने मनोविज्ञान भत्काउन जरुरी छ ।

यसखाले जालझेल र तुजुकका कारण सुकेनास लाग्दै गएको गैरवामपन्थी, दक्षिणपन्थी संसोधनवाद र यथास्थितिवादी शक्तिहरु रसिला, पोसिला र हट्टा कट्टा भएर उदाउँन खोज्दैछन् ।

०००

नेपालका सबै राजनीतिक परिवर्तनको मोर्चामा वामपन्थी शक्तिहरु नै अग्रमोर्चामा रहेर आन्दोलनलाई नेतृत्व गरेको इतिहास छ । वामपन्थीले नेतृत्व गरेका आन्दोलनले आँधिवेरीको रुप लिँदा परिर्वतन भएको, जनताका अधिकार सम्पन्न भएको विगत साँक्षी छ ।

नेपाली राजनीतिक मञ्चमा दक्षिणपन्थी संशोधनवादको आधुनिक रुप, रङ्ग र गन्ध बदलिएको छ । यतिबेला देश बुजुर्वा शक्तिहरुका लागि उपयुक्त भएको छ । त्यसैले जनताले चाहेको व्यवस्थामाथि प्रहार बढ्दै गएको छ ।

वामपन्थीहरुको विभाजनले दक्षिणपन्थी प्रतिक्रियावादीहरुलाई शासन सत्तामा लामो समयसम्म टिक्न मद्दत पुगेको छ । आम जनता झन–झन कमजोर हुँदै गएका छन् । जनताको भरोसालाई पुर्ननिमार्ण गर्दै मुलुकले भोगिरहेको शासकीय अस्थिरता, संवैधानिक र संसदीय अस्थिरताको अन्त्यका लागि वामपन्थी शक्तिहरुबीच एकता अपरिहार्य भएको छ ।

वामपन्थीहरुको घर झगडाका कारण नीतिविहीनताको सिकार मात्र भएका छैनौं, तत्कालीन शक्ति सन्तुलन कमजोर हुँदा विशेषतः कार्यनीतिक उद्देश्यमा पनि चुक्दै गएको सत्यता हामीसामु छर्लङ्गै छ । उपियाँ पर्यो भन्दैमा घरमा आगो लगाइ हातमा खरानी लिएर बिलौना गर्नुको तुक हुँदैन ।

वाम आन्दोलनको विराशतमाथि बज्रप्रहार गर्ने या टुटफुट विभाजनबाट सिर्जित तथ्यलाई बुझ्ने र आत्मसाथ गर्ने ? यो गम्भीर प्रश्नको सामना गर्न तयार हुन आवश्यक छ ।

सर्वहारा वर्गको नेतृत्व दावी गर्नेले मध्यमार्गी परस्तवाद र अवसरवादको संगठित आधारहरु खडा गर्न सुहाउँछ ? यो कल्पना गर्न सकिने कुरा होइन ? अब कुनैपनि नेतृत्वलाई सर्वहारा वर्गको आस्था, विचार, सिद्धान्त र आदर्शमाथि राजनीतिक दोहन गर्ने अपराधिक छुट छैन ।

वामपन्थी नेतृत्व आधुनिक रहस्यवादको भ्रमजालबाट निस्कन जरुरी छ । नेतृत्वबाट स्थापित गलत दृष्टीकोणलाई निरन्तरता दिएर अल्झनु वामपन्थी इतिहास, वर्तमान र भविष्यलाई एकसाथ तिलाञ्जली दिनु हो ।

हामीभित्रको झगडाले देशमा दक्षिणपन्थी शक्तिहरु हावी भइरहेका छन् । जनताका एजेण्डा र राष्ट्रको स्वाधिनता दिनप्रतिदिन कमजोर हुँदै गएको छ । नेतृत्व सैद्धान्तिक वैचारिक रुपमा पतन हुँदै जाँदा समाजमा वर्गिय, जातिय र क्षेत्रिय सन्तुलनहरु खण्डीत हुँदै गएका छन् ।

लोकतान्त्रिक गणतन्त्रलाई हजाराँै फूलहरुको सुन्दर फूलबारी मान्नेहरु कमजोर हुँदै जाँदा यथास्थितिवादी शक्तिहरुले टाउको उठाउन थालेका छन् । यसलाई परास्त गर्न कम्युनिष्ट शक्तिहरु सच्चिन र एक हुन आवश्यक छ । नेतृत्वलाई देवत्वकरण गर्ने कार्यकतामा आमूल परिवर्तन आवश्यक छ ।

०००

नेपाल र नेपालीको भविष्य निर्माण गर्न मालेमावादको सार्वभौम विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै द्धन्द्धात्मक भौतिकवादबाट प्रशिक्षित भएका वैज्ञानिक जस्ता देखिनुपर्दछ । उनीहरु आधुनिक विश्वविद्यालयका २१औँ शताब्दी सुहाउँदो विद्यार्थी जस्तो हुनुपर्दछ ।

सामन्ती पूँजीपति वर्गविरुद्ध संघर्ष गर्दै २१औँ शताब्दीको वैज्ञानिक समाजवाद हुँदै आधुनिक साम्यवादको यात्रामा अगाडि बढ्न सम्पूर्ण वामपन्थी शक्तिहरु एकढिक्का हुन सक्नुपर्दछ ।

समाजका सबै खाले उत्पीडनको अन्त्य गर्दै सामाजिक न्याय, विधिको शासन र कानुनी राज्य स्थापनाका लागि पनि सम्पूर्ण वामपन्थी शक्तिहरुले समाजको दृष्टिकोण निर्माण गर्न सक्नुपर्दछ ।

०००

वामपन्थी शक्तिहरु जति टुटफुट वा विभाजन भएतापनि जनताको विश्वास र वामपन्थीहरु प्रतिको अपार माया र आस्था कमजोर भएको छैन । जनता अझैपनि कम्युनिष्टप्रति आस्थावान छन् ।

कम्युनिष्ट पार्टीका सदस्यहरु, कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेकाहरु, वामपन्थी भविष्यप्रति समर्पितहरु, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढहरु, विकास र समृद्धिको पक्षधहरु वामपन्थी शक्ति एक ठाउँमा आएर राष्ट्र निर्माणको ऐतिहासिक अभिभाराहरु पूरा गरुन् भन्ने अपेक्षा राख्दछन् ।

विडम्बना ! स्वार्थ, अहंकार र दम्भले शिरदेखि पाउँसम्म चुर्लुम डुबेका नेतृत्व भने एकताको पक्षमा देखिँदैनन् । नेतृत्व विचलित हुँदा जनताका आवश्यकता र चाहना अलपत्र परेका छन् । तर, नेतृत्व सच्चिनुको विकल्प छैन । राष्ट्र र जनताको भविष्य वामपन्थी शक्तिकै हातमा हुन जरुरी छ ।

वामपन्थी शक्ति कमजोर हुँदा नेपाल साम्राज्यवादी शक्ति केन्द्रहरुको क्रिडास्थल बन्दै गएको छ । इतिहासले दिएको जिम्मेवारी पूरा गर्ने अविभाराबाट नेतृत्व विचलित हुँदा राष्ट्रको भविष्य जोखिममा परेको छ । त्यसैले, वामपन्थी एकताका नेतृत्व तयार हुन आवश्यक छ ।

सामाजिक अन्तरविरोधहरुले नयाँ पात्र र प्रवृतिहरु जन्माउँछ । बालेन र हर्कहरु त्यसका उदारण हुन् । यसलाई वामपन्थी शक्तिहरुले बुभ्mन र जान्न जरुरी छ । फेरि पनि आम वामपन्थी वृतमा संश्लेषण आवश्यक छ । एउटा सहमतिको ढोका खोल्न जरुरी छ । पुर्नविचारको आँखा खोल्न जरुरी छ ।

०००

कम्युनिष्ट पार्टीको स्थापना, जनयुद्ध र जनआन्दोलन, हजारौँको बलिदान आजको नेतृत्व विचलनको यो हदका लागि भएको थिएन । आजका नेतृत्वले यो बुझ्न आवश्यक छ ।

स्वार्थ र अहंकार त्यागेर नेतृत्व ‘देश मेरो घर, जनता मेरा परिवार’ भनेर सच्चिने हो भने आन्दोलन पुनः बलशाली भएर अघि बढ्न सक्छ । संविधानमा सुनिश्चित गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिपेक्षता जस्ता ऐतिहासिक उपलब्धीहरुको रक्षा हुन्छ, सार्वभौम सत्ता र स्वधिनतासहितको राष्ट्रिय अखण्डता सुरक्षित हुन्छ ।

०००

स्थनीय तह निर्वाचनबाट पाठ सिक्नुपर्छ । निर्वाचनको परिणामलाई आंकलन गर्न सक्नुपर्छ । स्थानीय निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दिएको मत जोड्दा अहिले पनि वामपन्थी शक्तिसँग दुइतिहाई भन्दा धेरै मत छ ।

आम निर्वाचन नजिकिएको छ । सम्भव भएसम्म निर्वाचन अगाडि नै वामपन्थी शक्तिहरुबीच सहकार्य वा एकताका लागि प्रयास गर्नुपर्छ । वाम आन्दोलनलाई एकतावद्ध गर्दै वामपन्थी मोर्चा बनाएर पनि अघि बढ्न सकिन्छ । त्यसले एकताको आधार तयार पार्न सक्छ ।

एकतामै बल छ । टुटेर होइन जुटेरमात्र दक्षिणपन्थी संसोधनवाद र साम्राजवादलाई परास्त गर्न सकिन्छ । वामपन्थी एकताको मर्म र भावना यही विषयबाट प्रेरित छ ।

(लेखक नेकपा माओवादी केन्द, वागमती प्रदेशका सचिवालय सदस्य हुुन् ।)

प्रतिक्रिया दिनुहोस्