Logo
Logo

वृत्तहरुमा मौलायो धन्दा



काठमाडौं । उपत्यकाका प्रहरी वृत्तहरुमा अवैध धन्दा मौलाएको छ । वृत्तका पावरफुल डिएसपीहरु कमाउधन्दामा लागेका छन् ।

स्वयम्भु वृत्तका डिएसपी छानबिनमा तानिएका छन् भने अन्य डिएसपीहरु पनि निगरानीमा रहेको स्रोत बताउँछ । स्वयम्भु वृत्तका डिएसपी मिलन केसी गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेट्न केन्द्रीय कारागार गएको विषयमा छानबिनमा तानिएका छन् । स्वयम्भु क्षेत्रमा सेटिङ मिलाउन बस्नेतले डिएसपीलाई जेलमै बोलाएका थिए । केसीले यसअघि जुवाको मुद्दामा पनि व्यापक चलखेल गरेको स्रोत बताउँछ ।

उपत्यकाका अन्य वृत्तहरुमा पनि असुली धन्दा त्यस्तै छ । सबैभन्दा धेरै असुली दरबारमार्ग वृत्तमा छ । वृत्त मातहतका हरेक जसो डिस्को र क्यासिनोबाट डिएसपी विश्वराज खड्काले पैसा उठाउने गरेको व्यवसायी बताउँछन् । प्रहरीसँग सेटिङ मिलाएर स्थानीय क्यासिनोले नेपालीलाई प्रवेश गराउँदै आएका छन् ।

गत साता उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले छापा हानेपछि सो तथ्य खुलेको हो । काठमाडौंका सबैजसो क्यासिनोले प्रहरी सेटिङमा नेपालीलाई जुवा खेलाउँदै आएका छन् । धेरै जसो क्यासिनो दरबारमार्ग वृत्त मातहत पर्दछन् । त्यही कमाईकै लागि गृहमन्त्री बालकृष्ण खाणलाई दबाब दिएर उनी दरबारमार्ग वृत्त गएका थिए । यसअघि ललितपुर र गजुरीमा हुँदा डिएसपी खड्का अनियमिततमा मुछिएका थिए । हालै उपत्यका प्रहरी कार्यालयका सरुवा भएका एआइजी रबिन्द्र धानुकले अनुशासनमा रहन निर्देशन दिँदा पनि डिएसपी खड्का दरबारमार्गकै एक लाउन्जमा गएर जन्मदिन मनाएका थिए । त्यहाँ विवादास्पद व्यक्तिबाट उनले उपहार पनि लिएका थिए ।

दरबारमार्गपछि बौद्ध वृत्तका डिएसपी ढुन्डीराज न्यौपाने असुलीमा दोस्रो नम्बरमा छन् । झापाली भएको आधारमा तत्कालिन केपी ओली सरकारको पालामा उनी बौद्धमा सरुवा भएका थिए । अवधि पुग्न लागेपछि बौद्ध क्षेत्रका व्यापारीसँग उनले पैसा माग्न थालेका छन् । तिब्बती मुलका व्यापारीलाई धम्काएर प्रहरीले पैसा उठाउने गरेको स्रोत बताउँछ ।

गौशला वृत्तका डिएसपी केशब भट्टराई पनि कार्यक्षमतामा कमजोर देखिएका छन् । आइतबार वृत्तले पक्राउ गरेका बलात्कारका आरोपी अदालतबाटै भागेका थिए । आइतबार बेलुका नै ती अभियुक्त पक्राउ परेकाले उनी कारबाहीबाट जोगिएका छन् ।

त्यस्तै, पटक पटक उपत्यकाका वृत्त बस्दै आएका बालाजु वृत्तका डिएसपी गौतम मिश्रको ध्यान पनि कमाउनमा छ । अवधि पुग्न लागेकाले सोह्रखुट्टे वृत्तका डिएसपी दुर्गा दाहाल तथा महाराजगञ्जका प्रमेश बिष्टको पनि पुलिसिङ खस्किएको छ । ललितपुरको सातदोबाटो वृत्तका डिएसपी मदन केसीको स्थानीय गुन्डानाइकेसँग हिमचिम बढेको स्रोत बताउँछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरी एक महिनादेखि बढुवाको दौडधुपमा छन् । परिसरका एसपी दिनेश मैनाली पनि नरम स्वभावका छन् । त्यसैको फाइदा उठाउँदै डिएसपीहरु कमाउने अभियानमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्