Logo
Logo

नोक्सानी हुने भन्दै ढवानी नगर्दा पेट्रोलियम पदार्थ अभाव


- दृष्टि न्युज/संवाददाता


तुलसीपुर, १ साउन । दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।
उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मंगलबार नौ–नौ हजार लिटर पेट्रोल आए पनि त्यो एकै छिनमा सकिएको थियो । जिल्लामा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुने भए पनि नौ– नौ हजारका दरले आएको पेट्रोलले केही छोप नलाग्ने उहाँको भनाइ थियो । डिजेल भने असार २६ गतेदेखि नै एक पटक पनि आएको छैन । ढुवानी व्यवसायीले पानी परेमा पेट्रोलियम पदार्थमा नोक्सानी हुने गरेको भन्दै ढुवानी नगर्दा यस्तो समस्या निम्तिएको सूचना अधिकारी आचार्यले बताए ।
नेपालगञ्जदेखि दाङसम्म पेट्रोलियम पदार्थ ल्याउँदा ११ डिग्रीसम्मको तापक्रम फरक हुन्छ भन्दै उनले एक डिग्री तापक्रम कम भएमा एक ट्यांकरमा १५ लिटरसम्म डिजेल र २१ लिटरसम्म पेट्रोल नोक्सान हुन्छ । यहीअनुसार नेपालगञ्जबाट दाङ आउँदा करीब २५० लिटर पेट्रोल तथा डिजेल नोक्सानी हुने गरेकाले पनि ढुवानी व्यवसायीले यो समयमा ढुवानी गर्न नमानेका उनले बताए ।
ढुवानी व्यवसायीले यसरी हुने नोक्सानी आयल निगमले ब्यहोर्नुपर्ने माग गर्दै आएकाले यस विषयमा बिहीबार मात्रै सञ्चालक समितिको बैठक बस्न लागेको र त्यसको प्रतिक्षामा व्यवसायी रहेको बताइएको छ । केही पेट्रोलपम्पले भने सिधै नेपालगञ्जबाट आफैँ पेट्रोल ढुवानी गर्दै आएका छन् । देउखुरी क्षेत्रमा पनि पेट्रोलपम्पले सिधै ढुवानी गर्दै आएका छन् ।
तुलसीपुर घोराहीमा पेट्रोलियम पदार्थको अभाव भएपछि यहाँका उपभोक्ता पेट्रोल तथा डिजेलका लागि देउखुरी पुग्ने गरेका छन् । अहिले जर्किन र बोतलमा तेल भरेर लिनेको भीड देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्