Logo

स्वयं ओली एमाले सिध्याउने बाटोमा



जे हुनु थियो, स्थानीय निर्वाचनको परिणाम त्यही भयो । म एक्लै जित्छु भनेर कन्दनी बाँधेर मैदान उत्रेएका खड्गप्रसाद ओलीलाई जनताले अस्वीकृत गरिदिए । अरु त अरु, आफ्नै क्याडरहरूले समेत माथिको हुकुमको अवज्ञा गरे ।

पराजयको कारण खोज्न छाडेर कथित अनुशासन आयोग नामको तरबार लिएर पूर्व मेचीदेखि पश्चिम कालीसम्म धोखा दिनेहरूको वध गर्ने एलान बालकोटबाट गरिसकेका छन् ।

‘विनाशकाले विपरीत वुद्धि’ भनेझै वास्तविक हारको पहिचान नगरी पजनी शुरु गरे भने, एमालेभित्र अझ भाँडभैलो मच्चिने निश्चित छ । पार्टी जीवन्त हुने अनुशासनले नै हो । तर, अनुशासन पालन गराउन बसेको मूली नै अनुशासनहीन, छाडा निस्किए भने के गर्ने ? यो प्रश्नको जवाफ नखोजी न एमालेको लागि अबको चुनाव सुखदायी हुनेछ, न वामपन्थी एकताको बहसको कुनै अर्थ रहन्छ ।

तल्लो तहका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा एउटा भ्रम छ । उनीहरू भन्छन, ओली मान्छे ठीक हुन् सल्लाहकारले बिगारे । उनीहरूलाई के लागिरहेको छ भने यतिबेला प्रचण्ड, माधव नेपाल, वामदेव गौतमजस्ता नेताहरूको घेराबन्दीमा ओली परे ।

त्यही घेराबन्दीका कारण ओलीलाई काम गर्न दिइएन र उनले काम गर्न पाएनन । काम के गर्न खोजेका रहेछन् भन्ने कुरा पुस ५ को संसद् विघटनले छर्लङ्ग पारिसकेको छ । अहिले त एसपिपी मुद्दा नै अगाडि आएको छ ।

जहाँसम्म ओलीका सल्लाहकारहरुको कुरा छ, ती त हुक्के बैठके र विदेशी एजेन्ट मात्र हुन् । त्यो भन्दा ती सल्लाहकारको हैसियत केही पनि छैन । बुद्धिमानीलाई सल्लाहकार चाहिन्छ । मुर्खलाई के को सल्लाहकार ? उसको मनमा जे लाग्छ त्यही गर्छ । भएको यही नै हो ।

अन्तरघातीलाई कारबाही भने पनि जे भने पनि समस्या अन्यत्र कतै होइन स्वयं ओलीमै छ । पार्टीलाई पुनर्जीवन दिने हो भने ओलीले आफूले गरेका बदमासीहरूमा क्षमा माग्नुपर्छ । पार्टीभित्रको झगडाले संसद्को विघटन किन गरेको ? त्यो पनि दुई–दुईपटक ।

संसदीय व्यवस्थाका आधारस्तम्भ संवैधानिक निकाय, अख्तियार, निर्वाचन आयोगहरूलाई स्वतन्त्र र बलियो नबनाएर किन खल्तीको खेलौना बनाएको ? यी सबै कूकर्म नै यो परिणामका आधार हुन् ।

यो कुरा जाने पनि, बुझे पनि यी अहंकारी ओलीले स्वीकार्ने छैनन् । यो वा त्यो बहानामा आफू पानीमाथिको ओभानो रहने नै उनको प्रयास हुनेछ । पार्टीभित्र लोकतन्त्र भए पो पार्टीको स्थायी समिति, केन्द्रीय कमिटीले केही गथ्र्यो, त्यहाँ भएका बाँकी नेताहरू राजनीतिक वधको भयले अर्को घनश्याम हुने हिम्मत गर्दैनन् । यी बेलगाम ओली यसैगरी संसदीय चुनावमा ठूलै हण्डर नखाँदासम्म बालकोटको बार्दलीबाट माधव नेपाल र प्रचण्डलाई गाली गरेरै दिन कटाउने पक्का छ ।

रह्यो प्रचण्डहरूले असहयोग गरेको कुरा, गुप्त रुपमा आधाआधी सत्ता चलाउने सहमति पार्टीका अरु नेताहरूलाई समेत थाहा नदिएरै गर्नु, बीचमा आएर आफूले गरेको सहमति आफ्नैले पालन नगर्नु त ओलीको कपटपूर्ण कदम नै हो ।

प्रचण्डले पार्टी आफ्नो कब्जामा राख्ने भयो भन्ने मनको बाघले खायो अथवा, पालो फुत्किने भयो भनेर एकता भंग गरियो । यी सबै कुरा प्रष्ट भइसकेपछि फेरि पनि ओलीलाई कसरी विश्वास गर्ने ?

विगतको संसदीय निर्वाचन ओलीको नेतृत्वमा, उनकै अनुहार हेरेर दुईतिहाइ मत जनताले दिएको भन्ने ओली यही अहंकारमा संसदीय निर्वाचनसम्म पुगे जनताले सत्य के हो बताइदिने छन् ।

सर्वसाधारणले पनि बुझेको कुरो के हो भने, अस्थिरता बढी भयो, वामपन्थी मिलेका पनि छन् । मिलुन र चलाउन पाँच वर्ष । मोटामोटी आम मानिसको कुरो यत्ति नै हो ।

ती मतदाताहरू सब एमालेको घोषणापत्र पढेर, बेसरी एमालेले कायापलट गर्छ भनेर मत हाल्न गएका होइनन् । टुक्राटाक्री कम्युनिष्ट, तिनका सधैँका आरोप–प्रत्यारोप सुनेर हैरान भएका जनता वाम शक्तिको एकताले आशावादी हुनु स्वाभाविक पनि हो ।

त्यो एकतालाई आफ्नो मात्रै शक्ति भनेर निष्कर्ष निकालियो भने त्यो बहुत घातक हुन्छ । यो तथ्यलाई एमालेका नेताहरूले विस्तारै बुझ्नेछन् । कार्यकर्ताको इमान्दारपंक्तिले यो तथ्यलाई बुझिसकेका छन् ।

हेडक्वार्टर सच्चिएन भने कार्यकर्ताले हेडक्वार्टरमै धावा बोल्ने लयमा घनश्याम भुसालले जुन सार्वजनिक रुपमै महाराज निवस्त्र हुनुहुन्छ भने, त्यसले अझै कोही सत्य बोल्ने मानिस पनि यो दुनियाँमा रहेछ भनेर देखाएको छ । उनले आफूबाटै समीक्षा सुरु गर र गल्ती स्वीकार्न प्रारम्भ गर भनेर बोल्ने हिम्मत गरे, वास्तवमै गर्नुपर्ने नै यही हो ।

दासहरूको घेरामा निर्वस्त्र महाराज यो सुन्न तयार छैनन् । दासहरूको अर्चना र स्तुतिले घनश्यामहरूलाई दुश्मन देखिरहेको छ । ओलीले नाटकीय रुपमा, योजनाबद्ध तरिकाले, सबै अस्त्र प्रयोग गरेर हेर्दा वैधानिक तर, विशुद्ध जालसाजीपूर्वक नारायणी किनारमा हत्याएको पार्टीको विरासत नैतिकताका कारण राजीनामा गरेर अलग भए मात्र यो देशमा वाम ध्रुवीकरणको सम्भावनाको ढोका खुल्ने देखिन्छ । तर, उनी कुनै पनि हालतमा त्यो गर्ने छैनन् ।

विगतमा गरेको गल्ती महसुस पनि नगर्ने, अगाडि बढ्ने बाटो पनि नदेख्ने हो भने कसरी वाम एकता हुन्छ ? वाम एकता भनेको अग्रगमन हो, प्रतिगमन होइन ।

अनि प्रतिगमनविरुद्ध त्यत्रो आन्दोलन गरेका, माधव–प्रचण्डलाई एमाले सिद्धिने भयो भनेर किन चिन्ता ? स्वयं ओली एमाले सिध्याउने बाटोमा गइरहेका छन् । उनलाई एक्लै जान दिनोस् । बाँकी वाम लोकतान्त्रिक शक्ति फेरि पनि मिलेर जानुको विकल्प छैन ।

–मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्