Logo
Logo

२०० चेलीबेटी बेचबिखनका आरोपी कांग्रेस नेतालाई अदालतको सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ,२ साउन ।

चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका तामाङलाई उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्र्रताप केसीको संयुक्त इजलासले सोमबार सफाइ दिएको हो। सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि प्रहरीमा जाहेरी दिएका थिए। पीडितको जाहेरीको आधारमा नुवाकोट प्रहरी कार्यालयले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो।

चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो आजको राजधानी दैनिकमा समाचार छापिएको छ। भारतमा बेचिएर फर्केका महिलाले सुनबहादुरसहित तीन जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए। पहिलोपटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो।

२०५१ सालमा नुवाकोट जिल्ला अदालतले उनलाई ६ वर्ष कैद तोकेको थियो। त्यसपछि प्रहरीले उनलाई ‘फरार’ सूचीमा राख्यो। फरार सूचीमै रहेकै बेला सुनबहादुरले २०७४ वैशाखमा स्थानीय चुनावमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराए। कांग्रेसबाट उनले वडाध्यक्ष जिते। २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालत नुवाकोटको मुद्दालाई सदर गरेको थियो। त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो। तर, उनी जेल गएनन्। पछिल्ला मुद्दामा काठमाडौं अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी अघिल्लो आदेशका आधारमा जेल चलान भएका थिए।

प्रतिक्रिया दिनुहोस्