Logo
Logo

बिजुली बसमा रुपान्तरण हुँदै साझा यातायात


- दृष्टि न्युज/संवाददाता


साझा यातायातलाई २०५८ सालमा मृत घोषणा गरिसकेको थियो, तात्कालिन शेरवहादुर देउवाको मन्त्रीपरिषदले । सो मन्त्री परिषदले साझा यातायातलाई विघटन गरी लिक्विडेसनमा लग्ने निर्णय गरेको थियो । तर यसका विरुद्ध अदालतमा मुद्दा दायर भयो । अदालतले ०५९ माघ १५ मा साझा यातायातलाई पुनस्थापना गर्ने फैसला दियो । त्यस फैसलाअनुसार ०६० वैशाख देखि साझा यातायात पुनस्र्थापना भई पुनः संचालनमा रहेको छ ।

साझा यातायातको स्थापना राजा महेन्द्रले कू गरेर विपि कोइरालाको मन्त्रीमण्डल वर्खास्त गरी विपि लगायतलाई जेलमा हालेर शासन सत्ता हातमा लिएपछिको समयमा ०१८ सालमा भएको हो । विपि कोइरालाको समयमा सहकारी ऐन २०१६ वनेको थियो । सोही सहकारी ऐन वमोजिम साझा यातायातको स्थापना भएको हो ।

यसले पंचायती शासनकालमा यातायातको सुविधा दिन ठुलो भूमिका खेल्यो । यसले उपत्यकाको साथै राजधानीलाई वाहिरका जिल्ला सदरमुकामहरु जोड्न महत्वपूर्ण योगदान गरेको थियो । जापानी नीला वसहरु आएपछि यसको सेवा निकै भरपर्दो वनेको थियो ।

तर पंचायती व्यवस्थाको अन्तिम समय तिर आउँदा साझा यातायात चरम भ्रष्टाचार र वेथितिको नमूना वन्न पुग्यो । साझा यातायात घाटा हुँदै दुब्लाउँदै जाने, तर यसका केही कर्मचारीहरु र सम्वन्धीत मन्त्रालयका हाकिमहरु भने मोटाउँदै जाने स्थिति वन्यो । त्यसैले मदन कृष्ण र हरिवंशका हास्यव्यंग्यमा वाँदरको हातमा नीलो नरिवल भनेर साझा यातायात र सरकार प्रति गरिएको व्यंग्य चर्चित वन्यो ।

सहकारीको मान्यता अनुसार प्रत्येक वर्ष हुनु पर्ने साझा यातायातको साधारण सभा २०२३ साल पछि गरिएन । तात्कालिन राजा, प्रधानमन्त्री, मन्त्रीहरु तथा कुनैपनि निकायले यसमा चासो देखाएन । साझा यातायातले पंचायत कालमा स्वर्ण काल पनि देख्यो, साथै चरम भ्रष्टाचार र कूशासनको समय पनि देख्यो । ०४७ मा वहुदलीय संसदिय व्यवस्था स्थापना भएपछिको सरकारहरुले पनि साझा यातायातलाई सही तरिकाले चलाउन सकेन वा चाहेन । अन्तमा चरम घाटा देखिएपछि ०५८ मा विघटन गरी लिक्विडेसनमा लाने निर्णय मन्त्री परिषदले ग¥यो ।

अदालतले पुनस्थापनाको आदेश दिएपछि ०६० देखि ०६४ सम्म जसो तसो चल्यो । तर ०६४ पछि पुनः सबै सेवाहरु वन्द भयो । पछि ०६९ वाट पुनः सेवा शुरु भएर अहिले सम्म चलिरहेको छ । केही सेवाहरु विस्तार गर्न साझा यातायात अहिले सफल देखिन्छ ।

जनताको विश्वास भएरपनि सरकारको गलत नीतिका कारण तथा यसका संचालक तथा कर्मचारीहरुको गलत क्रियाकलापका कारण यसले अनेकौं उतार चढाव पार गरेको छ ।

पुल्चोकको केन्द्र भागमा वहुमुल्य २२ रोपनी जग्गा र त्यसमा वनेको वर्कशप तथा भवनहरु यसै संस्थाको हो । कुनै व्यक्तिले एउटा वस खरिद गरी चलाउँदा पाँच सात वर्षमा त्यसवाट कमाएर अर्को वस किन्ने गरेको छ । तर साझा यातायातको इतिहास भने वाँदरको हातमा नीलो नरिवलको उखान जस्तो रहेको छ ।

अहिले सरकारले विश्वास गरेर ३०० विजुली वस किन्न ३०० करोड रुपैया साझा यातायातलाई दिने निर्णय गरेको छ । विगतको चरम भ्रष्टाचार र वेथितिको नकारात्मक उदाहरणवाट सिकेर साझा यातायातले जनतालाई सेवा दिंदै आफ्नो व्यावसायिक लाभ हासिल गर्दै अघि वढ्न सकोस भन्ने शुभकामना ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्