Logo
Logo

‘चीन–अमेरिका पहिलो चरणको व्यापार वार्ता सकारात्मक’



बेइजिङ, २५ पुस (एजेन्सी) । संयुक्तराज्य अमेरिका र चिनियाँ अधिकारीबीच बेइजिङमा पहिलो चरणको व्यापार वार्ता बुधबार आज सम्पन्न भएको छ । वार्तापछि अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।
व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाब अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी तीन महिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो ।
व्यापार वार्ता शुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ । बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले संवाददाताहरुलाई अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जनाए । उनले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताए । ‘मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,’ म्याककीनीले भने ।
राष्ट्रपति ट्रम्पले मंगलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए । अमेरिकी उप–व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मंगलबार नै समाप्त हुनेगरी तय भएको थियो ।
वासिङटनले अमेरिकी प्रविधिको जबर्जस्ती चीनमा स्थानान्तरणका साथै चिनियाँ कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाइआएको छ । व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनीया बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब छ ।
वार्ताका बारेमा चिनियाँ वा अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् । अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताएका छन् ।
उनले भने, ‘यो व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्