Logo
Logo

को हुन् श्रम तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर ?


26.8k
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीले गरेको मन्त्री हेरफेरमा परेका मन्त्रीमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका अछामका शेरबहादुर कुँवर पूर्वराष्ट्रियसभा सांसद हुन् ।

नवनियुक्त मन्त्री कुँवर अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ (साविकको पायल गाविस बडा नम्बर–५) मा २०२३ साल भदौ ६ गते जन्मिएका हुन् । बुबा स्वर्गीय कर्णसिंह कुवर र आमा बसुन्धरा कुवरका कान्छो सन्तान शेरबहादुरले २०५२ साल माघ ११ गते अनेरास्ववियु अछामका महिला नेत्री धुर्बा खड्कासँग वैवाहिक जीवनमा बाँधिए ।

धुर्वा खड्का कुँवर पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य छन् । एक छोरा, एक छोरीका पिता शेरबहादुर राष्ट्रियसभाका पूर्वसदस्य हुन् । उनको चारवर्षे कार्यकाल २० फागुन २०७८ मा सकिएको हो । कुँवर नेकपा एकीकृत समाजवादीका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक थिए ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्ययन गर्नेक्रममा कुँवर २०३८ सालदेखि नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूमा आवद्ध भएर राजनीतिमा लागेका हुन् ।

विराटनगरबाट काठमाडौं आएर शंकरदेव क्याम्पसमा बिकममा भर्ना भएपछि २०४६ सालमा जनआन्दोलन परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा विभिन्नपटक गिरफ्तारीमा परेका कुँवर गृह जिल्ला अछाम फर्केपछि २०४७ सालमा अछाममा अनेरास्ववियुको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष बने ।

२०४९ सालमा नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बन्नुभएका कुँवर स्थानीय निकायको निर्वाचन २०४९ मा जिल्ला विकास समिति अछामको उपसभापति पदमा उम्मेदवार बने ।

अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माता कुँवर र एमालेका पूर्वउपाध्यक्ष भीम रावलको निर्वाचन क्षेत्र एउटै अर्थात् १ नम्बर हो । तीनपटकसम्म एमाले अछामको नेतृत्व गरेका कुँवर रावलका विश्वासपात्र थिए ।

कुँवर नेतृत्वमा आएपछि भएका निर्वाचनमा पार्टीले पराजय भोग्नु परेन । संकटकालका बेला अछाम सदरमुकाम मंगलसैनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको संगठनलाई जोगाउनुभएको कुँवर देशैभर एमाले ओरालो लागेका बेला २०६४ को पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।

त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बन्नुभएको थियो । कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका हुन् ।
एमालेमा रहँदासम्म पार्टी जिल्लाको नेतृत्वमै सीमित कुँवर नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्य, संगठन विभाग सदस्यका अलावा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्