Logo
Logo

दिलमाया मृत्यु प्रकरण : परिवारले दिए कर्तव्य ज्यानसम्बन्धी जाहेरी


2.5k
Shares

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार (विक)को मृत्यु प्रकरणमा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ ।

आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा सुन पसल सञ्चालन गरिरहेका सूर्य श्रेष्ठविरूद्ध जाहेरी परेको हो । मृतक दिलमायाका पिता केशर विकले सुर्खेतबाट आएर प्रहरी वृत बालाजुमा किटानी जाहेरी दर्ता गराएका छन् ।

शनिबार बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका–११ स्थित साढे दुई तलाको घरको डेरामा दिलमाया मृत फेला परेकी थिइन् । घरबेटीले उनको कोठामा हेर्न जाँदा उनी मृत अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको थियो ।

उनको फेसबुकबाट आत्महत्या गर्न लागेको भन्दै स्टाटस लेखे पनि घटना भने शंकास्पद देखिएको प्रहरीले जनाएको छ । दिलमायाको घाँटीमा निलडाम देखिएको र झुण्डिएको भनिएपनि सल घटना स्थल थिएन । निलडाम देखिएपछि प्रहरीले सूर्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सूर्यले प्रहरीलाई ढाँटेको पाइएपछि उनीमाथि थप शंका उत्पन्न भएको प्रहरीले जनाएको छ । उनीमाथि सोधपुछ गर्दा सुरूमा आफू घटना हुनुभन्दा अगाडि नै कोठाबाट निस्किएको बताए पनि सिसिटिभी फुटेज हेर्दा दिलमायाले स्टाटस हालेको समयसम्म उनी त्यहीँ भएको खुलेको थियो ।

घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन । सल महाराजगञ्जमा भेटिएको थियो । महाराजगञ्जस्थित नालीमा सल भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए । जसकारण पनि घटना थप शंकास्पद बनेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुले उनीमाथि सोमबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्