Logo
Logo

प्रतिगमनविरुद्ध निर्वाचनसम्म पाँचदलीय गठबन्धन


माधवकुमार नेपाल अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)


काठमाडौं । नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन् । प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिदै छन् ।

हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएबाट संविधान र लोकतन्त्रको सुदृढीकरणमा केही सकारात्मक योगदान अवश्य भएको छ । तर, अझै पनि राजनीतिक स्थिरताको प्रत्याभूति कायम हुन सकेको छैन । यतिबेला पाँचदलीय गठबन्धन कायम रहन्छ कि रहदैन भन्ने प्रश्न उठेको छ ।

अबका केही महिनापछि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कस्तो हुन्छ र त्यसपछि मात्रै परिस्थिति कसरी अगाडि बढ्ला भन्ने प्रश्न पनि उठेको छ । मुलुकमा वाह्य शक्तिहरूको चलखेल बढेर गएको छ । यसरी राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चित परिस्थितिबाट गुज्रिरहेको छ ।

मुलुकको आर्थिक अवस्था झन् खस्किदो छ । सबैजसो आर्थिक सूचकाङ्कहरू नकारात्मक र निराशाजनक छन् । महँगी आकाशिदैं गएका छ र त्यसबाट सर्वसाधारण जनता आक्रान्त भएका छन् ।

आयातमुखी र उपभोक्तावादी प्रवृत्तिले आर्थिक सामाजिक जीवन संकटग्रस्त बन्दै गएको छ । राष्ट्रिय महत्वका आयोजना लगायत अधिकांश आयोजनाहरु समयमा सम्पन्न हुन सकिरहेका छैनन् ।

आर्थिक असमानता, गरीबि र बेरोजगारी व्याप्त छ । अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हावी रहेको छ । मुलुकको यो दुरावस्था ज्यादै चिन्ताको विषय हो ।

न्याय क्षेत्र सबैभन्दा बढी अस्तव्यस्त भएको छ । न्याय क्षेत्र सुधारको कार्य प्रभावकारी ढङ्गले अगाडि बढ्न सकेको छैन । समाजमा विद्यमान वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक आदि प्रकृतिका असमानता, विभेद, अन्धविश्वास र रुढिवादी संस्कार एवं संस्कृतिजस्ता विकृति र विसङ्गतिको अन्त्यका लागि गर्नुपर्ने सामाजिक रूपान्तरणका काम अगाडि बढेका छैनन् ।

दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक धार
मुुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी अहङ्कार, स्वेच्छाचारी, निरङ्कुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार ।

अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।

वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक–फरक भएतापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा आपसमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन् ।

यस गठबन्धन र सहकार्यलाई कम्तीमा पनि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने एकीकृत समाजवादीको मान्यता रहेको छ ।

हामी अहिले संघीय तथा प्रदेश सरकारहरूमा सामेल छौँ र त्यहाँबाट देश र जनताको सेवा गर्ने प्रयास गरिरहेका छौँ । संघीय तथा प्रदेश सरकारहरूमा सामेल भएर अगाडि बढ्दै गर्दा हामीले प्रतिवद्धता जाहेर गरेका थियौँ । हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय, समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिएका छौँ र उभिने छौँ ।

हामी भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अपारदर्शीता र सङ्कीर्णताको सख्त विरोधी छौँ र नियमितता, सुशासन, शान्ति सुव्यवस्था, पारदर्शीता, चुस्तदुरुस्तता र दुरदृष्टि आदिप्रति पूर्ण प्रतिबद्ध छौँ, यी मान्यताहरूलाई व्यवहारमा उतार्न हामी पूर्ण इमानदारिताका साथ लागिपर्ने छौँ ।

अब समीक्षा गर्नुपर्ने बेला भएको छ कि हामी हाम्रा उक्त प्रतिवद्धता कार्यान्वयनमा कति दृढ रह्यौ र कति अगाडि बढ्यौँ ?

निरन्तर गलत बाटोमा ओली
कम्युनिष्ट पार्टी नीति प्रधान हुनुपर्नेमा त्यसलाई सम्पूर्ण रूपमा नेता प्रधान बनाइयो । २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गरियो । एकीकृत पार्टीका दुई अध्यक्षमध्ये एक ओलीले फेरि पनि पार्टीलाई नीति, विधि, पद्धति र मापदण्डका आधारमा चलाउन चाहेनन् ।

त्यसबेला पनि गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढङ्गले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्य नै गरिरहे । हामीले उनका गलत विचार र व्यवहारको आलोचना गरिरह्यौँ ।

तर, उनी गलत बाटोमै हिडिरहे । यतिसम्म कि ओलीले पार्टीमा कुनै छलफलै नगरी प्रतिनिधि सभाको विघटन गर्ने जस्तो अलोकतान्त्रिक, असंवैधानिक प्रतिगामी कदम चाल्न पुगे ।

पार्टीको संस्थागत नीति तथा निर्णयभन्दा बाहिर गएर प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिसँग अघोषित सम्झौँता, बाह्य शक्तिकेन्द्रसँग अपारदर्शी साँठगाँठ र विदेशी राष्ट्रको एक गुप्तचर संस्थाका प्रमुखसँग मध्यरातमा गुप्त मन्त्रणा गरी उनीहरूसँगको सल्लाह र योजनामुताविक सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र अग्रगामी उपलब्धिलाई उल्टाउने उद्देश्यका साथ २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले संसद नै विघटन गरेपछि स्थिति गम्भीर बन्यो ।

यो विषय पार्टीको आन्तरिक विषय मात्र रहेन र अन्तरपार्टी संघर्षको विषय मात्र भएन । विषय अब संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियताको जगेर्ना र संविधानले निर्दिष्ट गरे अनुसार समाजवादको दिशामा मुलुकलाई कसरी अगाडि बढाउने भन्ने भयो ।

एकीकृत समाजवादीको लक्ष्य
हाम्रो तात्कालिक लक्ष्य जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने हो ।

हामी सबै खाले प्रतिकृयावाद, अवसरवाद र सङ्कीर्णतावादका विरुद्धमा र सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेका छौँ ।

हाम्रो कर्तव्य आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि संघर्ष गर्नु र निस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु हो ।

माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त
हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो ।

यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण, सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक र सही छन् ।

माक्र्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो । यसको प्रयोग समाजको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मान्यता रहेको छ ।

वैज्ञानिक समाजवाद
लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद हाम्रो रणनीतिक लक्ष्य हो । यसले ‘शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्दै समाजवादमा पुग्न सकिन्छ’ भन्ने विश्वास गर्दछ ।

संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, समावेशी सहभागिता, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन र प्रतिपक्षको संवैधानिक व्यवस्थाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यताप्रति हामी प्रतिवद्ध छौँ ।

सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्व
हाम्रो पार्टी जनआधारित कार्यकर्ताको पार्टी हो । हाम्रो सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सिद्धान्त हो । जनवादी केन्द्रीयताको मर्म पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ भन्ने हो ।

यस पार्टीको संगठनात्मक पद्धति व्यक्ति कमिटीको मातहत रहने तथा अल्पमत बहुमतको मातहत रहने, बहुमतले अल्पमतको कदर गर्ने र तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति हो ।

हाम्रो पार्टी नेता प्रधान नभई नीति प्रधान हो । यहाँ सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्य पद्धति अवलम्बन गरिने छ ।

समाजवादका दुई धार
मूल प्रवृत्तिको हिसावले समाजवादका दुईटा धार मात्र छन् । एउटा प्रजातान्त्रिक समाजवादी धार र अर्को वैज्ञानिक समाजावादी धार ।

वैज्ञानिक समाजवादले उत्पादनका साधनमाथि निजी स्वामित्वको अन्त्य गर्ने धारणा राख्दछ, प्रजातान्त्रिक समाजवादले त्यस्तो धारणा राख्दैन ।

प्रजातान्त्रिक समाजवादले सामाजिक सुरक्षाको मात्र पक्षपोषण गर्छ भने वैज्ञानिक समाजवादले सामाजिक न्यायमा समेत जोड दिन्छ । प्रजातान्त्रिक समाजवादले व्यक्तिगत स्वतन्त्रतामा बढी जोड दिन्छ भने वैज्ञानिक समाजवादले समानतासहितको स्वतन्त्रतामा जोड दिन्छ ।

एकीकृत समाजवादीले परिलक्षित गरेको समाजवाद वैज्ञानिक समाजवाद हो । हामी नेपाली विशेषताको समाजवाद निर्माण गर्ने छौँ । त्यो कस्तो हुन्छ ? त्यसका विशेषताहरू के–के हुन् ? त्यसका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक नीतिहरू के–के हुन् ? यी प्रश्नहरूमा पार्टीभित्र गहन छलफल गरी निष्कर्ष निकाल्नु अवश्यक छ ।

नेपाली समाजका पाँच विशेषता
नेपाली समाजको विशेषता मध्ये एउटा भूराजनीतिक विशिष्टता हो । दोस्रो, जाति, भाषा, धर्म र संस्कृतिको विविधता । तेस्रो, यहाँ वर्गीय मात्र नभएर जातीय र सांस्कृतिक विभेद समेत हुनु हो ।

चौथो, लोकतान्त्रिक प्रणाली अँगालेको प्राचिन इतिहास र पछिल्लो कालमा निरंकुशता एवम् निर्दलीयताका विरुद्ध अविचलित रूपमा संघर्ष गरेर आएको ताजा इतिहास नेपाली समाजको अर्को विशेषता हो ।

नेपाली समाजले भोगिरहेका समस्याको समाधान गर्दै अगाडि बढ्ने यतिबेलाको मुख्य विषय हो । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या, कमजोर एवं परनिर्भर अर्थतन्त्र, भ्रष्टाचार र कमिशनतन्त्र, जताततै बिचौलियाको विगविगी, राष्ट्रमाथि बाह्य हस्तक्षेप र वर्गीय, जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विभेद नेपाल र नेपालीले भोगिरहेका समस्या हुन् । यी समस्याको समाधान गर्नु नै आजको नेपाली सन्दर्भमा समाजवादका आधार निर्माण गर्नु हो ।

धोकाबाट पाठ सिक्नुपर्छ
पाँचै दलको गठबन्धन निकै कम पालिकामा भयो । कतै कतै पाँच दल र धेरै पालिकामा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको तामेललाई गठबन्धन भएको मानेर हेर्दा केवल १२१ पालिकामा मात्रै त्यस्तो तालमेल भएको थियो । १०९ पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

७० पालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तालमेल भएको थियो । १३ पालिकामा एकीकृत समाजवादी र कांग्रेसबिच तालमेल भएको थियो । २ पालिकामा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच तालमेल भएको थियो ।

तर, त्यसरी गरिएको तालमेल पनि पालिका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदको बाँडफाँटमा मात्रै सीमित भयो ।

त्यहाँ पनि वडाहरूमा तालमेल भएन । पाँच दलीय गठबन्धनभित्र आम रूपमा तामेल नगरिएको मात्र होइन गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेल नगर्ने भन्ने गठबन्धनको निर्णय विपरित कांग्रेस र माओवादी केन्दले विभिन्न पालिकामा एमालेसँग समेत तालमेल गर्नपुगे ।

केही पालिकामा काग्रेस र एमालेबीच तालमेल भएको थियो भने माओवादी केन्द्र र एमालेबीच पनि केही पालिकामा तालमेल भएको थियो ।

यसरी आम रूपमा र कसिलो रूपमा गठबन्धन हुन सकेन । गठबन्धन नभएका पालिकाहरूमा हाम्रो पार्टी एक्लै चुनाव लडेको थियो । जम्मा २७१ पालिकामा हाम्रो पार्टीबाट एकल उम्मेदवारी दिइएको थियो ।

चुनावमा तीनथरी समस्या
स्थानीय तह निर्वाचनमा पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या देखा परे । गठबन्धनभित्र सात प्रकारका समस्या रहे ।

पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौँथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने ।

पाँचौँ, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैठौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु । सातौँ, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु, यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो ।

निर्वाचनमा पार्टीको समस्या
एकीकृत समाजवादी पार्टी पङ्क्तिमा मुख्य गरी गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने समस्या देखियो ।

दोस्रो, आफुलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहेको देखियो ।

तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाडमछाड गर्ने तर, गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने समस्या देखियो ।

चौँथो, चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठानेको पनि देखियो । पाचौँ, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफुखुसी फिर्ता लिने । छैठौँ, आफुले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिड्नेसमेत देखियो ।

सातौँ, आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकाक्षा राख्ने गरेको पनि पाइयो ।

मतपत्रमा समस्या
यस पटकको मतपत्र मुख्य प्राविधिक समस्याको रूपमा रह्यो । पहिलो, छवटा मतपत्र एकै ठाउँमा राखेर बनाइएको मतपत्रको ढाँचा नै धेरै भद्धा भयो । दोस्रो, उम्मेदवार नरहेका चिन्ह राखेर मतपत्र छाप्नु गलत भयो । मतपत्र बेठिक भएकै कारणले धेरै मत बदर भए र मत बदर भएको कारणले धेरै उम्मेदवारहरूले पराजित हुनुपर्यो ।

त्यसरी पराजित भएका उम्मेदवारमा हाम्रो पार्टीका उम्मेदवार सबैभन्दा धेरै रहनु भएको छ ।

प्रशासनिक हिसावले हेर्दा पहिलो कुरा त निर्वाचन आयोग नै पूर्ण रूपले निष्पक्ष रहेन । उसले भन्ने एउटा गर्ने अर्को समेत गर्याे ।

उदाहरणका लागि महानगरपालिकाको हकमा उम्मेदवार भएका चिन्ह मात्र राखेर मतपत्र छाप्ने भन्यो तर काम उल्टो गर्यो । उम्मेदवार नभएका चिन्ह पनि राखेर मतपत्र छाप्यो । कतिपय निर्वाचन अधिकृतहरूले निष्पक्ष ढङ्गले काम गरेनन् । कैयन ठाउँमा प्रहरी प्रशासनले पनि निष्पक्ष व्यवहार गरेन ।

समाजवादीका चार कमजोरी
हाम्रो सबैभन्दा ठूलो कमजोर पक्ष पार्टीको संगठित शक्ति बलियो नहुनु हो । केही महिना अगाडि मात्रै विद्रोह गरेर पार्टी पुनर्गठन अभियानमा लागेका हामीले संगठन बलियो बनाउन पाएकै थिएनौँ । सबै स्थानीय तहमा पार्टी कमिटी निर्माण गर्न पनि भ्याएका थिएनौँ ।

७३.७० प्रतिशत पालिका र ५५.२१ प्रतिशत वडाहरुमा मात्रै कमिटी निर्माण गर्न भ्याएका थियौँ । जे जति कमिटीहरू बनेका थिए ती पनि तदर्थ प्रकृतिका थिए र कसिला एवं दरिला थिएनन् ।

ती कमिटीमा संगठित कार्यकर्ताहरू पार्टीले अँगालेको सिद्धान्त, रणनीति, कार्यनीति, कार्यदिशा, तात्कालिक राजनीतिक दृष्टिकोण आदिबाट राम्ररी प्रशिक्षित पनि भैसकेका थिएनन् ।

त्यस प्रकारको परिस्थितिमा चुनावमा जानु परेकाले पार्टीले अगाडि सारेका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूलाई प्रभावकारी ढङ्गले जनतामाझ पुर्याउन सकिएन ।

हाम्रो दोस्रो कमजोर पक्ष हो, स्रोत साधनको कमी । कांग्रेस, एमाले र माओवादी पार्टीका उम्मेदवारले अत्यन्त खर्चिलो प्रचार अभियान चलाइरहेका थिए भने हाम्रा उम्मेदवारले स्रोत साधनको चरम अभाव भोग्नु परेको थियो । स्रोत साधनको अभाव भएपछि प्रचार अभियान कमजोर हुने नै भयो ।

तेस्रो कमजोर पक्ष, प्रचार सामग्रीको कमी रह्यो । चुनाव प्रचारका साधन र माध्यम नै प्रचार सामग्री हुन् । यस पटक हामीले धेरै प्रचार सामग्री निर्माण र प्रकाशन गर्न नै सकेनौँ । जे जति गर्यौँ त्यो पनि ढिलो गर्यौँ । प्रचार सामग्रीकै अभाव भइसकेपछि प्रचार अभियान कमजोर हुने नै भयो ।

चौथो कमजोरी उम्मेदवारहरूको चयन गर्न ढिला भयो । गठबन्धन होला र निर्णय गरौँला भनेर पर्खदा उम्मेदवार चयन गर्न धेरै ढिला भएको थियो । उम्मेदवार चयन गर्न ढिला भएपछि प्रचारमा ढिला हुने नै भयो ।

दुई उपलब्धि
एकीकृत समाजवादीबाट उम्मेदवार बनेका एक महानगरपालिका प्रमुख र एक उपमहानगरपालिका प्रमुखलगायत २० पालिकामा प्रमुख वा अध्यक्ष र २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य र ३८९ खुला सदस्य गरी जम्मा ९८६ जना विजयी हुनु सानै भए पनि उपलब्धि हो ।

दोस्रो, पार्टी र पार्टीको चुनाव चिन्हको प्रचार केही हदसम्म भएको छ । यो पनि एउटा उपलब्धि नै हो । थोरै नै भए पनि यी उपलब्धिलाई सकारात्मक रूपमा लिनु पर्दछ र थप उपलब्धिका निम्ति व्यवस्थित योजनाका साथ अगाडि बढ्नु पर्दछ ।

निर्वाचनले दिएको शिक्षा
स्थानीय निर्वाचनबाट प्राप्त भएको सबैभन्दा ठूलो शिक्षा सफलता प्राप्त गर्नका निम्ति सबभन्दा पहिले बलियो र व्यवस्थित सङ्गठन निर्माण गर्नुपर्दछ भन्ने नै हो ।

त्ससबाहेक, आर्थिक कोषको निर्माण एवं स्रोत साधनको व्यवस्थापन गर्नु पर्छ, जनताको मन छुने खालका प्रभावकारी प्रचार सामग्रीहरूको निर्माण र वितरण छिटोभन्दा छिटो गर्नु पर्छ, उम्मेदवार चयन पनि जतिसक्यो चाडो गर्नु पर्दछ भन्ने जस्ता शिक्षा निर्वाचनले दिएको छ ।

राजनीतिक यात्राको आधार
निर्वाचन पार्टीले आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनतामाझ जाने र उनीहरूको मन जित्ने एउटा महत्वपूर्ण अवसर हो । अबका केही महिनापछि हुन गैरहेको संघ र प्रदेशको निर्वाचनलाई हामीले त्यसै रूपमा उपयोग गर्नु पर्दछ ।

यो निर्वाचन हाम्रो पार्टी जीवनका लागि अर्को एउटा महत्वपूर्ण परिघटना हो । हालै सम्पन्न स्थानीय निर्वाचनकोभन्दा पनि यसको ठूलो महत्व छ । हामीले यसमा प्राप्त गर्ने सफलताले एकातर्पm हाम्रो राजनीतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्पm हाम्रो भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ ।

त्यसैले, आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो । यस केन्द्रीय कार्यमा पार्टी र जनसंगठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौँ ।

पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू र जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू समेत एउटा निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गरौँ । सम्पूर्ण शक्तिका साथ आगामी निर्वाचनको तयारीमा जुटौँ ।

अहिले देखिनै प्रत्येक टोलटोलमा चुनाव प्रचार कमिटी र आर्थिक सहयोग संकलन कमिटीलगायत आवश्यक संरचना गठन गरी परिचालन गरौँ । गत स्थानीय निर्वाचनको बेलामा जस्तै ‘जनतामाझ जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने मूल नाराका साथ प्रचार अभियान सञ्चालन गरौँ । घरदैलो गरी पार्टीको लोगो तथा चुनाव चिन्ह अङ्कित सामग्रीहरू वितरण गरौँ । यी सव काम गर्दै आगामी निर्वाचनको तयारीमा जुटौँ ।

इतिहासको विशिष्ट मोड
आज हामी इतिहासको एउटा विशिष्ट मोडमा छौँ । एकातर्पm मुलुकको स्वतन्त्रता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा र विकास, नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा र थप विकास एवं विस्तार गर्ने जस्ता गहन जिम्मेवारीहरू हाम्रो काधमा आएका छन् भने अर्कोतर्पm पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन एवं रूपान्तरण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्ने र समाजवादी क्रान्तिको कार्यदिशालाई सशक्त ढङ्गले अगाडि बढाउने दायित्व पनि हाम्रै काधमा छ ।

यी गहन जिम्मेवारीहरू र दायित्व बहन गर्न हामी सुव्यवस्थित रूपमा संगठित एवं परिचालित हुनुपर्दछ । हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कि हाल नेपाली राजनीतिमा व्याप्त व्यक्तिवादी अहङ्कारवाद, दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, चरम गुटबन्दी र निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्तिविरुद्ध तिखो वैचारिक सङ्घर्ष सञ्चालन गरेर मात्रै उपर्युक्त जिम्मेवारीहरू पूरा गर्न र दायित्व वहन गर्न सक्ने छौँ ।

कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र एकताको अभियान अगाडि बढाउने र समाजवादको झण्डालाई माथि उठाउने महान अभियानमा दृढ विश्वासका साथ जुटौँ । संगठित शक्ति निर्माण र नेता तथा कार्यकर्ताको सक्रियता एवं गतिशीलतामा नै सफलता निर्भर हुन्छ । बलियो संगठित शक्ति निर्माण गरेर दृढ निश्चय र गतिशीलताका साथ हामी अगाडि बढ्यौँ भने सफलता सुनिश्चित छ ।

(स्थानीय कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकमा एककिृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनको सार)

प्रतिक्रिया दिनुहोस्