
कास्की । देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा साउन पहिलो साता भेला आयोजना गरिएको हो ।
भेलामा प्रदेश र केन्द्र सरकारसँगको सम्बन्ध महानगर प्रमुखबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखराका प्रमुख धनराज आचार्यले बताए ।
‘हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।’ भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।
यसअघि मंगलबार आचार्य र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको थियो । भेटका अवसरमा बजेट निर्माण, राजस्व सङ्कलन तथा अन्य समसामयिक विषयमा छलफल भएको छ ।
प्रमुख आचार्यले मङ्गलबार नै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गरेका छन् ।











