Logo
Logo

कम्युनिष्टहरु आफ्नै घरमा आगो लगाएर आङ सेक्दै आएका छन् : घनश्याम भुसाल



काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले कम्युनिष्टहरु आफ्नै घरमा आगो लगाएर त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको बताएको बताएका छन् । कम्युनिस्ट नेता सिद्धिलाल सिंहको बुधबार जनअभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ । त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं’ उनले भने ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसम खाँदै उनले कम्युनिष्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रत्यत्न गर्ने बताए । ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छ’ उनले भने, ‘यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको समेत टिप्पणी गरे । ‘आजै प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेको सुनेँ । उहाँले आजको आवश्यकतालाई राम्ररी बुझ्नु भएन’ नेता भुसालले भने, ‘माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ अब उम्रिदैनन् ।’ उनले एउटा धारालाई उत्साहित गर्न भनेको भए सम्मान गर्ने बताए ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार एक कार्यक्रममा एमालेको माओवादीको बिउ छाडेर आएको अभिव्यक्ति दिएका थिए । सोक्रममा प्रचण्डले केही वर्षमा फल्ने समेत बताएका थिए ।

जसको जवाफ दिँदै भुसालले अब माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ नचल्ने बताए । उनले भने, ‘हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्