
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने बताएका छन् । सरोकारवाला निकायको सहभागितामा गृह मन्त्रालयमा आज भएको मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै उहाँले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने बताए ।
विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै जनताको जीउधनको रक्षा गर्नु सरकारको मूल दायित्व भएको उल्लेख गर्दै उनले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको बताए । गृहमन्त्री खाणले विपद्बाट प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन निर्देशन दिए ।
विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने, मानवीय आवश्यकताका वस्तुको उपलब्धता नहुने, सुरक्षित यात्राका लागि चुनौती थपिने उल्लेख गर्दै उनले अवरुद्ध सडक तत्काल सञ्चालन गर्नेगरी उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।
गृहसचिव टेकनारायण पाण्डेले विपद्का समयमा जतिसक्दो छिटो अत्यावश्यक सेवा पु¥याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए । आधिकारिक सूचनाका आधारमा विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न सकिने भन्दै उनले मनसुन सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।











