Logo
Logo

राजधानीमा तरकारीको ‘कृत्रिम मूल्यवृद्धि’, मारमा उपभोक्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन । राजधानीमा रहेका ठूला तरकारी बजारमा अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएको छ । शुक्रबार उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ठूला तरकारी बजारमा अस्वभाविकरूपमा मूल्यवृद्धि पाइएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उनले बताए ।
गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ ।
बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महँगो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारबाही गर्न सकेको छैन ।
गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको थिएन । अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरीद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताए ।
‘बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिइरहन्छन्’ उनले भने, ‘ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने काम भइरहेको छ, खरीद बिलबिजक लुकाउने व्यापारीमाथि कारवाही हुनेछ ।’
खरिद गरिएको बिलबिजक, भरपाई तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उनको भनाइ छ । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ । अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका ७ र कालीमाटीस्थित तरकारी बजारका ६ पसलमाथि कारबाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ ।
विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्